नेकपा नेता सिंहद्वारा आमाबाबाको स्मृति र सम्मनमा छात्रवृत्ति प्रदान

नेकपा नेता सिंहद्वारा आमाबाबाको स्मृति र सम्मनमा छात्रवृत्ति प्रदान

गुमथले, टालेगाउँ (जाजरकोट) : नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले बुबा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृति र सम्मानमा ‘बितु सिंह–बिन्दासरा सिंह स्मृति प्रतिष्ठान’ र छात्रवृत्ति कोष स्थापना गरी आफू अध्ययनरत विद्यालयका दुई मेधावी छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् ।

जन्मथलो टालेगाउँस्थित आफूले अध्ययन गरेका जनकल्याण आधारभूत विद्यालय कुशे २, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये कक्षा ३ मा अध्ययनरत जेहेन्दार छात्रा अम्बिका सिंह र कक्षा ७ मा अध्ययनरत विद्यालय प्रथम करिष्मा सिंहले यस वर्षको छात्रवृत्ति रकम पाँच–पाँच हजार प्राप्त गरेका छन् । मङ्सिर २० गते बिन्दासरा सिंहको निधनको सातौँ स्मृति दिवसका दिन मेधावी दुई छात्रा र स्थानीय लोकबाजा समूहलाई पनि संस्थाका संस्थापक पूर्णबहादुर सिंहले पाँचपाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् । जनकल्याण आधारभूत विद्यालय नेकपा नेता सिंहका बुबा बितु सिंह र स्थानीय मानबहादुर सिंहको पहलमा २०४५ सालमा स्थापना भएको हो ।

प्रतिष्ठानका संस्थापक सिंह र उनकी जीवनसँगिनी उषा सिंहले टालेगाउँका पाँच सहिद खड्गबहादुर चलाउने ‘तेज’, गोपालबहादुर सिंह ‘तुफान’, कृष्णबहादुर सिंह ‘अपार’, शिवबहादुर सिंह ‘सङ्ग्राम’ र ललितबहादुर सिंह ‘मण्डल’ का परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गरेका थिए ।

उक्त अवसरमा विद्यालयमा अध्ययनरत एक सय एकासी विद्यार्थीलाई अभ्यासपुस्तिका, सिसाकलम, डट्पेनका साथै विद्यालयलाई पुस्तकलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् जाजरकोट जिल्ला इन्चार्ज सङ्गम आरसीले बाबाआमाको स्मृतिमा सिंहले नयाँ संस्कृति आरम्भ गरेको भन्दै बधाई तथा शुमकामना दिए । नेकपाको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रह गराउनुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानका संस्थापक नेकपा नेता सिंहले महान् जनयुद्धमा आफूहरुले सहिद बन्ने अवसर नपाए पनि बाँचेर एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गरी सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूले बाबाआमालाई देवत्वकरण गर्न खोजेको नभई सामाजिक–सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने अग्रजको सम्मान गरेर नयाँ संस्कृतिको आरम्भ गरेको बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले परम्परागत र रूढ संस्कार र संस्कृति उल्ट्याउँदै नयाँ र समाजवादी संस्कृति आरम्भ गरेको भन्दै सिंहलाई बधाई ज्ञापन गरे । अग्रजको सम्मान गर्न वैज्ञानिक समाजवादी संस्कृतिले मात्र सक्ने भन्दै उनले बाँचुन्जेल दुःख दिने र मृत्युपछि किरियाकर्मको नाटक गर्ने अमानवीय संस्कृतिको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा सहिद परिवारले नौलो बिहानी मासिकको सहिद र बलिदान विशेषाङ्क लोकार्पण गरेका थिए ।

नेकपा जाजरकोट कुशे गाउँ समितिका इन्चार्ज रेडियमको अध्यक्षता र प्रतिष्ठानका सदस्य परमेश्वर शाहले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य एवम् अखिल नेपाल ललितकला संघका संयोजक अग्निराज पौडेल ‘अराप’ र विद्यार्थी नेता उषाकिरण आजादले कविता वाचन गरेका थिए भने स्थानीय शिक्षक दीपककुमार सिंह, नेकपा सिन्धुपाल्चोक विशेष समितिका सदस्य मुकुन्द श्रेष्ठलगायतले कार्यक्रम सपलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा एकीकृत जनसांस्कृतिक परिवारका कलाकारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

स्थानीय विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय जनसमुदायसहित सयौँ स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रममा नेकपा जाजरकोटको अभियानटोली र जिल्ला समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिष्ठानले हरेक वर्ष मङ्सिर २० गते विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बिन्दासरा र बितु सिंहले छोरा पूर्णबहादुर सिंह र छोरी जल्दरा सिंहलाई खुसीसाथ टीका लाएर महान् जनयुद्धमा लामबद्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :