अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुरले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ “विद्यार्थी जागरण अभियान–२०७८” भव्यताका साथ उद्घाटन गरेको छ । उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले कलम र तारा अंकित विद्यार्थी सङ्गठनको झन्डा अखिल (क्रान्तिकारी) मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानलाई हस्तान्तरण गरी औपचारिक रूपमा अभियान उद्घाटन गरेको हो ।

उद्घाटन समारोह कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नयनले अभियान सफलताको शुभकामना दिएका छन् । उनले परिवर्तनको वाहक नै विद्यार्थी सङ्गठन र यसमा आबद्ध आम विद्यार्थी भएकाले हाम्रो देशको निकट भविष्यमा हुने सकारात्मक, जनवादी तथा समाजवादी परिवर्तनको निमित्त विद्यार्थी सङ्गठन अग्र पङ्तिमा आउनुपर्ने बताए । नयनले शान्तिपूर्ण तरिकाले सकारात्मक परिवर्तनको छलाङ मार्दै वैज्ञानिक समाजवादमा पुग्नका लागि नेपाल कम्युनिस्ट पार्टीले माग गरेको जनमतसङ्ग्रह लागू गराउन एकचोटी आम विद्यार्थी सडकमा ल्याई सरकारलाई दवाव दिलाउनुपर्ने जिम्मेवारी सङ्गठनको काँधमा थपिएको जानकारी गराए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि वाटरले ध्वस्त भएको संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरी वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गराउने ऐतिहासिक कार्यभार पूरा गर्ने उद्देश्यका साथ उद्घाटन भएको अभियानलाई सफलताको शुभकामना दिए । त्यस्तै कार्यक्रमका अतिथि सुरेन्द्रले पनि अभियान सफलताको शुभकामनासँगै विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) अर्थात् अखिल (क्रान्तिकारी) लाई विद्यार्थीसँग र विद्यार्थीहरूलाई सङ्गठनसँग परिचित गराउँदै निर्णायक विद्यार्थी आन्दोलन हाँक्ने विद्यार्थी सङ्गठनको आधार तय गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले मकवानपुरका आम विद्यार्थीहरूको समसामयिक समस्याको हल गर्दै बेथिति मुक्त शैक्षिक क्षेत्र निर्माण गर्ने महान् कार्यमा विद्यार्थीहरूलाई गोलबन्द गराउन प्रोत्साहन गरे ।

बुधबार मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन समारोह कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, जिल्ला सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पश्चिम बागमती प्रदेशका इन्चार्ज सुरेन्द्र, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मकवानपुर– विशेष जिल्ला इन्चार्ज विवेक घलान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष किरण अर्याल, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी) मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला उपाध्यक्ष सुर्यबहादुर गोलेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :