राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका

आधार पत्र

राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका

प्रारम्भिकी
आज हामी यो निकै महत्त्वपूर्ण विषयका सन्दर्भमा छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठीन र जटिल मोडमा छ । मुलुक सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेपछि नेपाली जनताको निकै ठूला आशा र अपेक्षाहरू थिए तर, जनताका ती आशा, अपेक्षाहरूमाथि बज्रपात भएको छ । जनताका जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । मूल्यवृद्धि असीमितरूपमा किनिनसक्नु गरी बढेको छ । जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगी छ । अनेकौँ अशोभनीय काण्डहरूले गर्दा मुलुक बर्बादीको दिशातर्फ लम्किरहेको छ । देशको लुटपाट, हत्या, हिंसा, बलात्कारले सीमा नाघेको छ । लाखौँ युवाहरू विदेश पलायन भइरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षा कष्टपूर्ण र दयनीय अवस्थामा छ । राष्ट्रिय स्वाधीनताको विषयले नेपाली जनतालाई निकै चिन्तित बनाएको छ । विभिन्न साम्राज्यवादी देशहरूले नेपालको भू–राजनीतिक÷रणनीतिक अवस्थामा नियमित आँखा गाडिरहेको यो ज्वलन्त परिवेशमा यो खेलप्रिय सङ्गठन नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै महत्त्वपूर्ण र समय सान्दर्भिक छ । आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

खेलकुुद क्षेत्र
मानिसको जीवनमा खेलकुदको भूमिका निकै महत्त्वपूर्ण छ र हुन्छ । अथवा खेलबिनाको जीवन अपूरो हुन्छ । त्यसैले नै होला, ब्यानरको मूलभागमा नै ‘सबैका लागि खेलकुद’ क्उयचतक ायच बिि लेखिएको छ । यो नाराले भन्न खोजेको पनि त्यही होला कि खेलकुदबिनाको जीवन पानीबिनाको माछाजस्तै बन्छ । यो कुरा सही छ । खेलकुद क्षेत्रको कुरा गर्दा पाँचवटा जीवनको चर्चा गर्न आवश्यक हुन्छ ः
एकः खेलको जीवन
दोस्रोः खेलाडीको जीवन
तेस्रोः खेलकुद क्षेत्रमा राष्ट्रको जीवन
चौथोः यी जीवनहरूमा वास्तविक जीवन खोज्ने जीवन
पाँचौँः राज्यको दरिलो अङ्ग वा खम्बा बन्ने र बनाउने जीवन ।

एकः खेलको जीवनको कुरा गर्दा हाम्रो देशमा करिब ६ दशक पुगेको छ । खेलको जीवनलाई रक्तसञ्चार बनाउने उद्देश्यसहित २०१५ सालमा राष्ट्रिय खेलकुद परिषद्को गठन भएको हो । तर, यसको जीवन निकै अन्योलग्रस्त, सङ्कटग्रस्त, अपूरो, अधुरो, निम्छरो र साँच्चै भन्नुपर्दा कहालिलाग्दो अवस्थामा तातेताते अघि बढिरहेको छ । यो संरचना वा यो खेल जीवनको नीति वा यो ढङ्गले हाम्रो देशको खेलजीवनलाई अघि बढाउन सकिँदैन र यसले खेल जीवनमा कुनै निकास पनि दिन सकिँदैन । यस्तो अवस्थामा जससम्म राज्यले ‘खेलको जीवनमा राष्ट्रको जीवन’ देख्न सक्दैन, तबसम्म यो जीवनको रूपान्तरण हुन पनि सक्दैन ।

दुईः यसमा दोस्रो महत्त्वपूर्ण विषय भनेको खेलाडीको जीवनको प्रश्न हो । ‘खेलाडीको जीवन बचे मात्र खेलको जीवन बच्छ, खेलको जीवन बचे मात्र राष्ट्रको जीवन बच्छ’ भन्ने मान्यतालाई राज्यले मूल विषय बनाउनुपर्दछ । जब आज खेलाडीको जीवन छैन अनि कसरी खेलक्षेत्र अघि बढ्न सक्छ त ? खेलाडीको हरेक अङ्गहरू बाँधिएका छन् वा अन्धकारमा छन्् वा हरेक अङ्गहरूले काम गर्न छोडेका छन्, न यसको कुनै भविष्य छ ? न उपचार छ ? न यसले कुनै जीवनमा रङ भर्न सक्छ, न यसले यो जीवनलाई जीवनको रूपमा चित्रण गर्न सक्छ भने कसरी खेलाडीको जीवनले सार्थकता पाउँछ त ? अनि कसरी यो क्षेत्रले राष्ट्रको नामलाई विश्वसामु चम्काउन सक्छ त ? अनि कसरी राष्ट्रको झन्डा उचाल्ने हातहरू बलियो बन्न सक्छ त ?

तीनः खेलकुद क्षेत्रमा राष्ट्रको जीवन के छ ? भन्ने विषय निकै महत्त्वपूर्ण विषय हो । यो जीवनको कुरा गर्दा यसलाई जन्माउने, यसलाई हुर्काउने, यसलाई स्वस्थकर बनाउने, यसलाई शिक्षा, स्वास्थ्य, रोजगार र यसको सामाजिक जीवनलाई उर्बर र हराभरा बनाउने मुख्य भूमिका राज्यको हो । जब राज्य आफैँ सिकिस्त बिरामी छ भने यो जीवन कसरी चल्न सक्छ ? यो जीवन कसरी प्रभावकारी बन्न सक्छ ? यसो हो भने राष्ट्रको यो जीवनलाई बदल्नुपर्छ कि पर्दैन ? अवश्य बदल्नुपर्दछ ।

चारः यी जीवनमा वास्तविक जीवन खोज्ने हो भने जीवनलाई बुझ्ने राज्यसंरचनाको आवश्यकता हुन्छ । राज्यको खेलकुद क्षेत्रमा सही नीति र योजनाको आवश्यक हुन्छ । यसलाई सामान्यतः यसरी सूचीकृत गर्न सकिन्छ ः
पहिलोः राज्य सही हुन आवश्यकता छ ।
दोस्रोः राज्यको खेलकुद क्षेत्रमा सही नीति र योजना बन्न आवश्यकता छ ।
तेस्रोः हरेक खेलका पूर्वाधारको आवश्यकतालाई पूरा गर्नुपर्दछ ।
चौथोः मुलुकभर खेलकुद रङ्गशाला, खेल केन्द्रहरूको स्थापना र परिचालनको आवश्यकता रहन्छ ।
पाँचौँः नियमित प्रशिक्षण, खेल प्रतियोगिताहरू राज्यको तर्फबाट सञ्चालन हुन आवश्यकता छ । त्यसमा वैज्ञानिक विधि पद्धतिलाई पक्रिनुपर्दछ ।
छैटौँः खेलकुदमा भाग लिने, जित्ने खेलाडीहरूलाई उचित सम्मान र पुरस्कार, अभिलेख आदिको व्यवस्था हुन आवश्यकता छ ।
सातौँः आज विश्वस्तरमा विकास भएको विज्ञान प्रविधिसहित खेलकुद क्षेत्र भन्ने नीतिलाई लागु गर्नुपर्दछ ।
आठौँः खेलकुद क्षेत्र र नीति निकै वैज्ञानिक, वस्तुपरक, समयसापेक्ष र आमूल परिवर्तनकारी हुन आवश्यकता छ ।
नवौँः यो क्षेत्रमा हुने व्यक्तिवाद, नातावाद, कृपावाद, पार्टीवाद, चाकडीवाद, झोलेवाद, भ्रष्टाचार, कमिसनखोर, तस्करीको समूल अन्त्य हुन आवश्यकता छ । पहुँच हुनेको दुवै हात मुखमा नहुनेको दुवै हात गोजीमा भन्ने मान्यतालई खारेज गर्नुपर्दछ ।
दसौँः खेलकुद क्षेत्रलाई शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र उन्नत र वैज्ञानिक जीवनसँग जोडेर लैजान अनिवार्य छ ।
एघारौँः ‘खेलकुदमा वैज्ञानिक, नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने नारालाई सार्थकता दिन आवश्यकता छ । त्यसका लागि वर्तमान दलाल पुँजीवादी राज्यसत्ताको रूपान्तरण र बर्खास्ती अनिवार्य छ । त्यसको स्थानमा वैज्ञानिक समाजवादी खेलकुद नीतिको प्रारम्भ हुनुपर्दछ ।

पाँचः खेलकुद क्षेत्र भनेको जीवनको पुँजी हो । अर्थात् यो राष्ट्रको पहिचान–दाता हो । किनकि, यसले सिङ्गो जीवनलाई बोकेको हुन्छ वा यसले सिङ्गो राष्ट्रलाई बोकेको हुन्छ । अन्यायमा बोल्न सक्ने चेत बोकेको हुन्छ । राष्ट्रलाई सङ्कट पर्दा भिड्न सक्ने सचेतना बोकेको हुन्छ । दमन, उत्पीडन, राष्ट्रघात, जनघात हुँदा बोल्न सक्दैन, अनुहार रातो बनाउन सक्दैन, खाँचो परेको बेलामा मैदानमा उत्रन सक्दैन भने के खेलाडी ? के खेल क्षेत्र ? त्यो त दासी र दम्भी भइहाल्यो नि ! आज राष्ट्र सङ्कटमा छ । खेलक्षेत्र सङ्कटमा छ । खेलाडीको जीवन सङ्कटमा छ । जनजीविका सङ्कटमा छ । यस्तो अवस्थामा हामी सबै खेलक्षेत्र, खेलाडीहरू राष्ट्र बचाउन उठ्नु र जुट्नुपर्ने आवश्यकता छ ।

राष्ट्रिय स्वाधीनताको विषय
राष्ट्रिय स्वाधीनताको कुरा गर्दा एकातिर विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या र ठूलो अर्थतन्त्र भएको देश चीन छ भने अर्कोतिर विश्वकै सबैभन्दा दोस्रो ठूलो जनसङ्ख्या र आफूलाई अर्थतन्त्रमा पनि क्रमशः अघि बढाइरहेको अर्को देश भारत छ । भू–परिवेष्ठित अवस्थामा हाम्रो देश नेपाल अवस्थित रहेको छ । आजको विश्व राजनीतिक अवस्था र साम्राज्यवादी रणनीतिहरूलाई हेर्दा सामरिक, भौगोलिक तथा रणनीतिक हिसाबले हाम्रो देश निकै महत्त्वपूर्ण अवस्थामा अवस्थित छ । त्यसैले गर्दा विश्वका आफूलाई ठुला र महाशक्ति ठान्ने साम्राज्यवादी शक्तिहरूले जहिले पनि हाम्रो मुलुकमाथि गिद्देदृष्टि लगाउँदै आइरहेका छन् । देशको अस्थिर र दलाल संसदवादी राज्यव्यवस्था र कुर्सी तथा आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने सरकार र दलाल राज्यसत्ताका मतियारहरूको गलत, बेइमान र स्वार्थसिद्ध नीति र दृष्टिकोणका कारणले गर्दा विभिन्न साम्राज्यवादी मुलुकहरूको गलत र षड्यन्त्रमूलक भूमिकालाई टेवा दिने र मलजल गर्ने प्रवृत्तिका कारणले गर्दा हाम्रो देशका स्वाधीनतामाथि बारम्बार हस्तक्षेप, षड्यन्त्रका तानाबाना बुन्न साम्राज्यवादीहरू लागिपरेका छन् ।

मूलतः सन् १८१६ को सुगौली सन्धि तथा सन् १९५० को असमान सन्धि र त्यसयता राष्ट्र र जनताको हितविपरीत भएका गलत राष्ट्रघाती र जनघाती सन्धि–सम्झौताहरू नेपालको सार्भभौम अधिकारका लागि मुख्य बाधक बनेर आएको कुरा सबैलाई प्रस्ट र छर्लङ्गै छ । त्यसयता कैैयौँ राष्ट्रघाती तथा जनघाति सन्धि–सम्झौताहरू गरिएको छ । जसको कारणले गर्दा नेपालको राष्ट्रिय स्वाधीनतामाथि बारम्बार सङ्कट पैदा हुँदै आएको छ । साम्राज्यवादीहरूको आर्थिक, राजनीतिक, सामाजिक, रणनीतिक सैन्य र आणविक होडबाजीको षड्यन्त्रहरूका कारणले गर्दा हाम्रो देशको सामरिक, राजनीतिक, भौगोलिक तथा सम्पूर्ण क्षेत्रमा हस्तक्षेप हुँदै आएको र त्यसको प्रत्यक्ष असर हामी र हाम्रो देशले भोग्नुपरिरहेको कुरा घामजस्तै छर्लङ्गै छ । पछिल्लो समयमा एमसीसीको चर्चा निकै जोडतोडले चलेको छ । यसका पक्ष–विपक्षमा बहसहरू चलेका छन् । यो ठीक हो वा होइन, यसले राष्ट्रिय हित गर्छ वा गर्दैन, यसले नेपालको राष्ट्रिय स्वाधीनतामाथि के असर पार्दछ भन्ने विषयमा बहस केन्द्रित भइरहेको आजको सन्दर्भमा अवश्य यो विषय महत्त्वपूर्ण हुन्छ । त्यसैले सङ्क्षिप्त यसका विषयमा केही सन्दर्भ प्रस्तुत गरिएको छ ः

एमसीसी र स्वाधीनता
एमसीसी ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ को सन्दर्भमा भन्नु पर्दा यसको छलफल सन् २०११ बाट सुरु भएको हो । सन् २०१२ मा नेपाललाई छनौट गरेर एमसीसी परियोजनामार्फत् अघि बढ्ने षड्यन्त्र गरियो ।
१. हस्ताक्षर मिति ः सन् २०१७ सेप्टेम्बर १४
२. हस्ताक्षरकर्ता ः तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक सीईयो जोनाथन नासले वासिङ्टनमा हस्ताक्षर गरे ।
३. लगानी ः अमेरिकाले ५० करोड ९५ लाख अमेरिकी डलर र नेपालले १३ करोड अमेरिकी डलर खर्च गर्ने योजना बनाइयो ।
४. लगानीको क्षेत्र ः सडकको स्तरोन्नतिमा (५.२ करोड), विद्युत उत्पादन र प्रसारण ३०५ किमी (४० करोड) र ट्रान्समिसन लाइनको जडान (लप्सीफेदीदेखि रातामाटा, रातामाटादेखि हेटौंडा, रातामाटादेखि दमौली, दमौलीदेखि बुटवल, बुटवलदेखि सुनौली सिमानासम्म) गर्ने भनिएको ।

(क) अमेरिकी रणनीति
१. हिन्दप्रशान्त रणनीतिको साझेदारी संस्थाको रूपमा लागु गर्ने उद्देश्य ।
२. हिन्द प्रशान्त क्षेत्रमा १० ठुला सैन्य शक्ति भएका देशहरूमध्ये ७ वटा देशहरू (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, फिलिपिन्स, सिङ्गापुर) लगायतको क्षेत्रमा अमेरिकाले आफ्नो सेना राखेको सन्दर्भ जगजाहेर छन् ।
 ३ लाख ७५ हजार सेना तैनाथी गरेको छ ।
 २ हजारभन्दा धेरै लडाकु विमान ।
 २ सयभन्दा धेरै जल सैनिक पानीजहाज ।
 प्रशान्त महासागरको हवाईटापुमा आईपीएस सेनाको हेडक्वार्टर राखिएको छ ।
 ग्लोबल पिस अपरेसनका नाममा जापान, दक्षिण कोरिया, मङ्गोलिया, भियतनाम, थाईल्यान्ड, प्यासिफिक आईल्यान्ड, सिङ्गापुर, श्रीलङ्का, भारत, बङ्गलादेश र नेपालसँग समेत सैन्य साझेदारी गर्ने र आफ्नो प्रत्यक्ष गतिविधि बढाइरहेको छ ।
३. सामरिक प्रतिस्पर्धा र सामरिक तथा रणनीतिक क्षेत्रमा आफ्नो अधिनायकत्व स्थापना गर्ने उद्देश्य ।
४. विश्व अर्थ–बजारमा विकास हुँदै गएको चीनको रणनीतिलाई रोक्ने र बीआरआईलाई रोक्ने रणनीति ।
५. परियोजना सुरक्षाको नाममा अमेरिकी सेनाले नेपालको सामरिक, रणनीतिक महत्त्वमाथि हस्तक्षेप गर्न चाहन्छ, जुन कुरा प्रस्ट नै छ ।
६. नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप बढाउने रणनीति ।

(ख) एमसीसी लागु भएका देशहरू
१. अर्मेनिया, बेनिन, एल साल्भाडोर, जर्जिया, घाना, होन्डुरस, इन्डोनेसिया, जोर्डन, मङ्गोलिया, नामिभिया, निकारागुवा, फिलिपिन्स, सेनेगल, तान्जिनिया, जाम्बियालगायतका देशहरूमा एमसीसी परियोजना लागु गर्ने र परिचालन गर्ने गरेको देखिन्छ ।
२. १२ ओटा राज्यले एमसीसीलाई खारेज गरिसकेका छन् ।
३. जहाँ–जहाँ एमसीसी लागु भएका छन्, त्यहाँ कुनै न कुनै हिसाबले अमेरिकी साम्राज्यवादको हस्तक्षेपले जरा गाडेको छ ।

(ग) किन घातक छ एमसीसी
१. परियोजनाको लागत खर्च निकै महँगो हुने ।
२. परियोजनास्थलको जमिनमाथिको सार्वभौम अधिकार गुम्ने ।
३. नेपालको जलस्रोतमाथि अमेरिकी एकाधिर रहने ।
४. नेपालको सबै सूचना–सञ्चारमाथिको अमेरिकी हस्तक्षेप बढ्ने ।
५. एमसीसी सम्झौता अमेरिकाले मात्र खारेज गर्न सक्ने ।
६. नेपाल सरकारबाट स्वतन्त्र रहने ।
७. एमसीसी सम्झौता अनिश्चितकालसम्म रहन सक्ने ।
८. लेखा परीक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्ने ।
९. विद्युत प्रसारण लाइन रहस्यमय हुने ।
१०. परियोजना सुरक्षाको नाममा अमेरिकीहरू औपचारिक हिसाबले नेपाल प्रवेश गर्ने ।
११. परियोजना सुरक्षाको नाममा सिधै अमेरिकी सेनाहरू र सुरक्षा संयन्त्रहरू नेपाली भूमिमा प्रवेश गर्ने ।
१२. बैद्धिक सम्पत्ति अमेरिकाको मात्र हुने ।
(बैद्धिक सम्पक्ति भनेको सबैखाले ट्रेडमार्क, सर्भिस मार्क, लोगो, नाम, व्यापारिक नाम, प्रतिलिपि अधिकार, सबै प्याटेन्ट, आविस्कार, सीप राईटस, टे«डसिट रेट, डिजाइन, योजनालगायत सबैमा अमेरिकाकै हुने र नेपालको हक दाबी नलाग्ने)
१३. कुनै पनि कर नलाग्ने ।
कर, भन्सार, पैठारी कर, निकासी कर, बिक्री कर, अन्तःशुल्क, सम्पत्ति खरिद–बिक्री कर, मूल्य अभिवृद्धि कर, महसुल कर, दस्तुर कर, विभिन्न निकायमा लगाउने कर आदि सबै छुट दिनुपर्ने ।
१४. अन्तर्राष्ट्रिय शक्तिसङ्र्घषमा नेपाललाई जबर्जस्त प्रवेश गर्न बाध्य बनाउने आदि ।

(घ) राष्ट्रिय स्वाधीनताको प्रश्नमा दलाल संसदवादको लम्पसारवादी नीति
१. आर्थिक सहयोगका नाममा साम्राज्यवादीहरूसँग लम्पसार पर्ने नीति ।
२. नेपालको सार्वभौम स्वाधीनतामाथि तिलाञ्जली ।
३. नेपालको सत्ताधारीहरूको राष्ट्रघाती र जनघाती नीतिको प्रस्फुटन ।
४. जसरी हुन्छ आफ्नो सत्ता, कुर्सी, पद र पैसा हत्याउने रणनीतिको पर्दाफास ।
५. आफूलाई कम्युनिस्ट भन्ने शक्तिहरू नै एमसीसी पास गर्नुपर्छ भनेर कम्युनिस्टविरोधी चरित्रको प्रदर्शन ।
६. राष्ट्रको शासक र संरचना राष्ट्र र जनविरोधी छ भन्ने कुराको सही पर्दाफास भएको ।
७. वर्तमान सत्ता, सरकार र सत्ता, सरकार सञ्चालकहरू राष्ट्र र जनविरोधी छन् भन्ने कुराको पहिचान ।

निकासः
माथि उल्लेखित समस्याहरुको चर्चा गरिसकेपछि राज्यसत्ता, सरकार, खेलकुद क्षेत्र, खेलाडी, राष्ट्रिय स्वाधीनताबारे के निकाश के हुन सक्ला त ? जसले सिड्डो खेलकुद क्षेत्र र राष्ट्रलाई सहि दिशातर्फ लैजाने भुमिका खेल्न सकोस ! यसमा दुई दृष्टिकोण मुख्य हुन आउछ ।
एक ः राज्य र खेलकुदको यहि संरचनालाई कायम राखेर सुधार गर्दै जाने ।
दोश्रो ः राज्य र खेलकुदको यो संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जाने ।
पहिलो ः यो हुन आउँछ कि अहिलेको राज्यसंरचना सम्पूर्ण हिसावले ठिक र खेलकुद नीति र योजना पनि सहि छ । यसैलाई सुधारगरेर जादाँ भैहाल्छ भन्ने दृष्टिकोण हो । यो यथास्थितिवादी र संसदवादी दृष्टिकोण हो । यसले सङ्कटलाई टालटुल गरेर समस्याको समाधान भैहाल्छ भन्ने मान्यतामा खाख्दछ । जुन गलत छ । यो ब्यवस्था, नीति, योजना र यहि दृष्टिकोणबाट खेलकुद क्षेत्रको आमुलपरिवर्तन संभव छैन ।

दोश्रो ः वर्तमान राज्यसत्ता राष्ट्र र जनताको हितमा छैन, यो दलाल पुँजिवादी राज्यसत्ता हो ।
वर्तमान खेलकुद नीति खेलक्षेत्र र खेलाडिहरुकालागि सहि छैन । यसलाई वैज्ञानिक र आमुलपरिवर्तन आवश्यक छ भन्ने मान्यता हो । यो दुई दृष्टिकोणमा दोश्रो दृष्टिकोण नै सहि र वस्तुपरक छ । त्यसैले राज्यसत्ताको रुपान्तरण र वर्तमान खेलकुद नीतिको रुपान्तरण हुन आवश्यक छ ।
त्यसका लागि दुई बाटाहरु छन् ।
एक ः बलप्रयोगद्धारा रुपान्तरण गर्ने,
दोश्रो ः जनताको अभिमतद्धारा रुपान्तरण गर्ने,
आजको सन्दर्भमा पहिलो बलप्रयोगद्धारा रुपान्तरण गर्ने कार्यनीतिको परिवेश बनिसकेको देखिदैन त्यो अलि कठोर, निर्मम र उथलपुथलमुलक हुन्छ । आजको सन्दर्भमा दोश्रो जनताको अभिमतद्धारा ब्यवस्थाको छनौट र खेलकुद नीतिको छनौट गर्ने प्रकृया नै सहि र वस्तुपरक देखिन्छ र, यो शान्तिपूर्ण पनि हुन्छ । आजसम्म खेलकुद नीति र ब्यवस्थाका लागि जनताले अभिमत दिन पाएका छैनन् । यसमा सिघै पार्टीलाई, पार्टीका नेतालाई र उनैको ठाडो निर्देशनमा नियुक्ति हुने प्रकृया चलिआएको छ, यो सहि छैन । त्यसैले अब पार्टी, नेता र उनै नेता र पार्टीले बनाएको खेलकुद नीतिका लागुगर्ने प्रणालीको अन्त्य हुन आवश्यक छ । अबको अभिमत पार्टी, नेता र उनैले चुनेको मान्छेले नीति बनाउने होईन सिधै ब्यवस्था, र सिधै खेलकुद नीतिमा अभिमत प्रदान गर्ने र वर्तमान प्रणालीलाई वदल्ने प्रकृया नै सहि र वस्तुपरक बन्न सक्छ भन्ने मान्यतानै सहि छ । ब्यवस्थाका लागि र सिधै खेलकुद नीतिमा मतदान गर्ने जनमत संग्रहको कार्यनीति सहि हुन्छ ।

अन्त्यमा,
यो आधारपत्र छलफललाई सजिलो र सहज होस् भन्नाका लागि तयारी पारिएको हो । तपाईंहरूबाट सही दृष्टिकोण आउनेछ । खेलक्षेत्र र खेलाडीहरू आफ्नो जीवन र राष्ट्रको जीवनको बारेमा चिन्तित छन् । खाँचो परे बोल्न सक्छन्, उठ्न सक्छन्, जुट्न सक्छन् र अन्याय तथा अत्याचारको विरुद्ध, राष्ट्रघात र जनघातको विरुद्ध आवाज बुलन्द गर्न सक्छन् भन्ने कुराको दिशाबोध गराउनेछ । एमसीसी परियोजना कुनै पनि हालतमा हाम्रो देशमा लागु गर्नुहुँदैन भन्ने सन्देश यो अन्तरक्रिया कार्यक्रमले दिनेछ भन्ने आशा–अपेक्षा राख्दछु । निकै उचित समय र सन्दर्भमा आयोजना गरिएको यो बहस निकै सान्दर्भिक र औचित्यपूर्ण छ । धन्यवाद ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिद्धारा २०७८ मङ्सिर २२ गते अन्तर्राष्ट्रिय पौडी पोखरी परिसर, सातदोबाटो, ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कमरेड मिलन केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी तथा फ्र्याक्सन इन्चार्ज, नेपाल गणतान्त्रिक खेलकुद महासङ्घद्धारा प्रस्तुत आधार पत्र ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :