कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

घोराही र राजपुरमा नेकपा निकट जबस/मोर्चाहरूको संयुक्त भेला सम्पन्न

कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको घोराही उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) घोराही उप–महानगरपालिका स्तरीय संयुक्त प्रथम नगर भेला सम्पन्न भएको हो ।

पार्टी निकट जबस/मोर्चाहरूको संयुक्त नगर भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थामा जोसुकै सरकरमा गएपनि शान्ति, समृद्धि, स्वाधीनता प्राप्त नहुने बताएका छन् । उनले नेपाली जनताले कम्युनिस्ट नामधारीका शक्तिहरूलाई दुई तिहाई बहुमत दिएपनि त्यो सरकार सफल हुन नसकेको बताए । नेता प्रदिपले नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याहरूको समाधान निर्विकल्प वैज्ञानिक समाजवाद स्थापना भएको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकपटक नेपाली जनतालाई जनमतसङ्ग्रहको अधिकार दिनुपर्ने एजेन्डा लिएर अघि बढेकोसमेत बताए । संसदीय सरकारको विकल्पमा प्रगतिशील संयुक्त सरकार गठन गरि त्यही सरकारको नेतृत्वमा संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था चुन्ने अधिकारका लागि नेपाली जनतालाई जनमतसङ्ग्रहको अधिकार प्रदान गर्नसमेत प्रदिपले माग गरे । उनले जनमतसङ्ग्रह जनताको अधिकार हो, शान्तिपूर्ण ढङ्गले अधिकार माग्दा हतियारले दमन गर्न खोजे प्रतिरोध गर्ने बताए ।

एक फरक प्रसङ्गमा नेता प्रदिपले अहिले माओवादी केन्द्रले अनावश्यक एकताको भ्रामक हल्ला फैलाएको बताउँदै एकताको भ्रामक हल्ला फैलाएर माओवादी केन्द्र लगायतका संसदवादी दलहरूले आगामी संसदीय चुनावमा जनतालाई भ्रमित पारेर भोट बटुल्न खोजेको जिकिर गरे । नेता प्रदिपले सबै देशभक्त, प्रगतिशील, क्रान्तिकारी, अग्रगामी शक्तिहरूसँग एकता हुनेसमेत बताए । कुर्सी, पद, पैसा र कोही मन्त्री बन्नका लागि एकता नहुने नेता प्रदिपले स्पष्ट पारे ।

कार्यक्रममा अतिथि नेकपा दाङ जिल्ला सदस्य एवम् स्कुलिङ बिभाग दाङका सदस्य नवराज, अनेमसङ्घ क्रान्तिकारी घोराही उप–महानगर कमिटी अध्यक्ष मनिशा, नेकपा दाङ जिल्ला सदस्य एवम् नेकपा घोराही उप–महानगर कमिटी वडा नं. १० र १२ का इन्चार्ज किसन, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष अमर, जनपत्रकार सङ्गठन नेपाल दाङका अध्यक्ष हेमन्त, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज मनोज, नेकपा गढवा गाउँपालिका इन्चार्ज महान, नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम् घोराही उप–महानगर कमिटी इन्चार्ज निर्मल, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक, नेकपा दाङ जिल्ला सदस्यद्वय मोती, हरि, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य नवराज, अखिल नेपाल भुमिहीन सुकुम्बासी सङ्घ दाङका संयोजक छोटिलाल, नेकपा दाङ जिल्ला कमिटी सदस्य पञ्चाराम, नेकपा घोराही उप–महानगर वडा नं. ११ इन्चार्ज तिलक, अखिल (क्रान्तिकारी) दाङका उपाध्यक्ष खुमन, राष्ट्रिय उद्योग व्यापार सङ्गठन घोराही उप–महानगरका सदस्य रेमन्त लगायतको आतिथ्य रहेको थियो ।

जवस/मोर्चाहरूको प्रथम नगर भेलाले बिष्णु सुबेदीको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) घोराही उप–महानगर कमिटी चयन गरेको हो । जसको सचिवमा लालबहादुर डाँगीलाई चयन गरिएको छ । संयुक्त जवस/मोर्चाहरूको प्रथम नगर भेलाले दधिराम चौधरीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल घोराही उप–महानगर कमिटी चयन गरेको छ । जसको सचिवमा किरण चौधरीलाई चयन गरिएको छ । घोराही उप–महानगरपालिका स्तरीय संयुक्त जवस/मोर्चाहरूको भेलाले सुरेश नेपालीको अध्यक्षतामा २१ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपालको कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रा बिक, सचिवमा बालाराम गन्दर्भ, कोषाध्यक्षमा लक्ष्मी बिक चयन भएका छन् ।

कार्यक्रममा जवस/मोर्चाका नबनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई मन्तव्य कार्यक्रमका अतिथि नेकपा दाङ जिल्ला सदस्य मोतिले दिएका थिए ।

नेकपा दाङ जिल्ला सदस्य दानबहादुरको स्वागत मन्तव्यबाट सुरु भएको संयुक्त नगर भेलाको अध्यक्षता खिमबहादुर रावतले गरेका थिए भने भेलाको सहजीकरण युवा सङ्गठन नेपाल दाङका सचिवालय सदस्य एवम् घोराही उप–महानगर कमिटीका अध्यक्ष पदम चन्दले गरेका थिए ।

युवा सङ्गठन नेपालका केन्द्रीय सचिवलाई बिदाई

कार्यक्रममा तत्कालिक नेकपा घोराही उप–महानगर कमिटीका इन्चार्ज तिलकलाई बिदाई गरिएको छ । युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवमा निर्वाचित तिलक सङ्गठनको जिम्मेवारी बहन गर्न जिल्ला बाहिर जान लागेकाले बिदाई गरिएको नेकपा दाङले जनाएको छ । बिदाई कार्यक्रममा तत्कालीन घोराही नगर इन्चार्ज तिलकले घोराही उप–महानगरका इन्चार्ज निर्मललाई माइन्युट पुस्तिका हस्तान्तरण गरेका थिए भने नेकपा घोराही उप–महानगर कमिटीले बिदाई हुने तिलकलाई उपहार स्वरुप रक्तिम उपहार प्रदान गरेको थियो ।
कार्यक्रममा बिदाई पछि शुभकामना तथा अनुभूति सहितको मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यको क्रममा नेता तिलकले पार्टी आन्दोलनको आवश्यकतालाई बोध गर्दै आफ्नो जिम्मेवारी जहाँ भएपनि क्रान्तिप्रति बफादार रहेर वैज्ञानिक समाजवाद प्राप्तिको लागि बलिदानको कोटासमेत चुक्ता गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए ।

राजपुरमा नेकपा निकट जवस/मोर्चाको भेला सम्पन्न

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र श्रमिक समुदाय मोर्चा नेपाल राजपुर गाउँ कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले रञ्जिता बिकको अध्यक्षतामा ११ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल राजपुर गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा हिरालाल हरिजन, सचिवमा जोखुराम हरिजन, कोषाध्यक्षमा बिद्याराम हरिजनलाई चयन गरिएको छ । यस्तै भेलाले प्रेमलाल बिकको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ राजपुर गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजबिसेत चौधरी, सचिवमा नकु मुसलमान, कोषाध्यक्षमा ज्ञानबहादुर यादवलाई चयन गरिएको नेकपा राजपुर गाउँ कमिटीले जनाएको छ ।

जवस/मोर्चाको संयुक्त भेलामा नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणको प्रमुख आतिथ्य रहेको थियो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष सञ्जय, नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा राजपुर गाउँ कमिटी इन्चार्ज उज्वल, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य भिम, मधेसी मुत्तिी मोर्चा नेपाल दाङ जिल्ला संयोजक शुर्यको आतिथ्य रहेको थियो ।

सर्जु यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता रञ्जिता बिकले गरेका थिए भने कार्यक्रमको सहजीकरण हिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :