गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

गण्डकी प्रदेशमा पनि विद्यार्थी जागरण अभियान

पोखरा : अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ ।

कास्कीको पृथ्वीनारायण क्याम्पसमा उद्घाटन कार्यक्रमको अध्यक्षता सङ्गठनको सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले गरेका थिए भने प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल, अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीलगायत सङ्गठनका केन्द्रीय सदस्यहरू रहेका थिए । त्यस्तै अतिथिमा नेविसंघका इकाई अध्यक्ष गौरव बराल पनि थिए । कार्यक्रममा प्रमुख अतिथि र अतिथिले कार्यक्रमको अध्यक्षलाई झन्डा हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमा भुजेलले अखिल (क्रान्तिकारी) ले उद्घाटन गरेको विद्यार्थी जागरण अभियानको महत्वको व्याख्या गर्दै यो अभियानमा सबै क्षेत्रबाट पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अभियान सफलताको सुभकामना व्यक्त गरिन् । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र वैज्ञानिक समाजवादी शिक्षा हुने भएकोले वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमतसङ्ग्रहको अभियान सम्पूर्ण विद्यार्थीको माँझमा लैजान अनुरोधसमेत गरिन् ।

त्यसैगरी सङ्गठनका अध्यक्ष प्रकाश शाहीले नेपालको वर्तमान व्यवस्था अहिले चलिरहेको शिक्षा प्रणाली र यो शिक्षा प्रणालीले विद्यार्थीको जीवनमा पारेको असरबारे प्रष्ट पार्दै अहिलेको व्यवस्थाले विद्यार्थीको हकहित नगर्ने भन्दै एकपटक नेपालको ९० लाख विद्यार्थी वैज्ञानिक समाजवाद स्थापनाको निमित्त जनमतसङ्ग्रहमा जानुपर्ने र त्यसले मात्र अहिलेको समस्याको निकास दिने बताए ।

अध्यक्ष शाहीले अहिले युवाहरू लागू औषधमा फसिरहेकोले विद्यार्थीहरूले यसको समाधानको निम्ति जनचेतनामूलक कार्यक्रमहरू गर्ने, पर्यावरणीय सङ्कटको समाधानको निम्ति विद्यार्थीहरूले बृक्षारोपण गर्नुपर्ने, स्कुल क्याम्पसका सार्वजनिक सम्पतिहरूको खोजी गर्नुपर्ने र अहिले अन्यौलग्रस्त अवस्थामा रहेको नेपालको विद्यार्थीको भविष्य अखिल (क्रान्तिकारी) भएको र यो अभियानले बरालिरहेको विद्यार्थी आन्दोलन र विद्यार्थीको भविष्यलाई सहि बाटो देखाउनसमेत अपिल गरे । उनले यो अभियानलाई माओको सांस्कृतिक क्रान्तिसँग तुलना गर्दै यो अभियानले सांस्कृतिक रुपान्तरणको पक्षमा आवाज उठाउने बताए ।

कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य मदन चापागाइँले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य उपेन्द्र परियारले गरेका थिए । त्यस्तै अभियानको निर्देशिका केन्द्रीय सदस्य कमला परियारले पढेर सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :