अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले समसामयिक वस्तुगत स्थितिको सेरोफेरोमा केन्द्रित रहेर राजनीतिक, वैचारिक, सांगठनिकका साथै विविध विषयमा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठक शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा बसेको हो ।

साउन २६ गते बसेको सङ्गठनको तेस्रो पूर्ण बैठक पश्चात मङ्सिर १७ गते बसेको यस जिल्ला समितिको चौथो पूर्ण बैठकमा सबैले आ–आफ्नो जिम्मेवारी अनुरूप कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए । बैठकका प्रमुख अतिथि नयन र विशेष अतिथि वाटरले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मूल नारासहित सुरु भएको “विद्यार्थी जागरण अभियान २०७८” सफल पार्न सबै विद्यार्थीहरूलाई हौसलासहित प्रेरित गरेका छन् । त्यस्तै वैज्ञानिक समाजवादको पक्षमा शिक्षित जनमत तयार गर्ने महान् अभिभारा विद्यार्थी सङ्गठनको रहेको र सोही लक्ष्य प्राप्तिका लागि विद्यार्थीहरू शसक्त ढङ्गले लाग्नुपर्ने बताएका छन् ।

साथै बैठकले निवर्तमान जिल्ला अध्यक्ष विवेक घलानलाई २२ औँ राष्ट्रिय सम्मेलन र केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक पश्चात सङ्गठनका केन्द्रीय सदस्य भई मकवानपुर र विशेष जिल्लाको इन्चार्जसिपको जिम्मेवारी पाएकोमा बधाईसहित जिल्लाको अध्यक्ष पदबाट बिदाई गरेको छ । सँगै उनले आफ्नो जिम्मेवारी हस्तान्तरणसमेत गरेका छन् । जिम्मेवारी हस्तान्तरण गरेसँगै बैठकले कार्यवाहक अध्यक्षमा निवर्तमान उपाध्यक्ष ललित घलानलाई नियुक्त गरेको छ ।

यसरी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता र कैलाश गाउँपालिकाका सह–सेक्रेटरी विजय घलानको आतिथ्यतामा बसेको बैठकको अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्लाका निवर्तमान अध्यक्ष विवेक घलानले गरेका थिए । साँझ ६ बजेसम्म चलेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :