वृक्षरोपण र सरसफाइ गरेर विद्यार्थी अभियान सुरु

वृक्षरोपण र सरसफाइ गरेर विद्यार्थी अभियान सुरु

गोरखा : विद्यार्थी जागरण अभियानअन्तर्गत अखिल (क्रान्तिकारी) गोरखाले आज गोरखा क्याम्पसको प्राङ्गणमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले वायुमण्डल प्रदूषित हुने, ओजन तह पातलो हुने, हिमखण्ड पग्लिने र समुद्री सतह बढ्ने मात्र नभएर सम्पूर्ण ब्रह्माण्डमा नै नकारात्मक प्रभाव र कहालीलाग्दा परिणामहरू देखापरिरहेका हुनाले युवा विद्यार्थीले यसबारे गम्भीर अध्ययनअनुसन्धान गरी यसको समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । उनले वर्तमान पर्यावरणमा देखिएको सङ्कटको कारण पुँजीवादी व्यवस्था रहेको र यसको समाधान वैज्ञानिक समाजवादले मात्र गर्नसक्ने धारणा राखे । पुँजीवादी उत्पादन प्रणालीको आधारभूत चरित्र नै पर्यावरणविरोधी हुने र पुँजीवादले मजदुरको रगत र प्रकृतिको कच्चा पदार्थ चुसेर मोटाउने भएकाले पुँजीवादको अन्त्य नै आजको पर्यावरणमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।

शर्माले पुँजीवादले नाफाका लागि सबै सामाजिक र प्राकृतिक सीमा नाघ्ने भएकाले यसको विकल्प सम्पूर्ण उत्पादनका साधनहरू सामूहिक स्वामित्वमा हुने वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा पनि राखे ।

अखिल (क्रान्तिकारी) गोरखाका अध्यक्ष तथा सङ्गठनका केन्द्रीय सदस्य गगन परियारको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख रामशरण बानियाँ थिए । त्यस्तै अतिथिका रुपमा क्याम्पस जिल्ला कास्कीका उपाध्यक्ष युवराज मगर, क्याम्पस सहायक प्रमुख केशवसिंह धामीलगायत क्याम्पसका प्राध्यापकहरुको उपस्थिति थियो । कार्यक्रममा धुपी, अशोक, कल्कीलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।

क्याम्पस प्रमुख रामशरण बानियाँले अखिल (क्रान्तिकारी) ले थालेको यो अभियानलाई निरन्तरता दिन आग्रह गर्नुका साथै अभियान सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका अध्यक्ष गगन परियारले विद्यार्थीले कलेजको सरसफाइ र राज्यसत्ताको सरसफाइ सँगसँगै गर्नुपर्ने बताए । उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) गोरखाका सचिव रोजखिम गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :