युवा संगठन नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नवलपुर: जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै युवा सङ्गठन नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यमा मङ्सिर १२ र १३ गते बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा युवा सङ्गठन नेपालका फ््रयाक्सन इन्चार्ज कृति, पार्टीका केन्द्रीय सदस्य असल र शरदको विशेष उपस्थिति रहेको थियो । बैठकले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेलगायत निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।

बैठकमा प्रशिक्षण दिँदै पार्टीका महासचिव विप्लवले अहिलेको जनमतसङ्ग्रहको कार्यनीतिलाई आम युवाहरूसामु पुर्याउन विशेष अपिल गरे । पार्टी केन्द्रीय समितिले गरेको निर्णय सम्प्रेषण गर्दै उनले राज्यसँग भएको ३ बुँदे सहमति कार्यान्वयनका लागि दबाब सिर्जना गर्न पनि आग्रह गरे । पार्टी एकताका विषयमा बाहिर भ्रम छरिएजसरी छलफल नभएको बरु ३ बुँदे सहमति कार्यान्वयन र अन्य नियमित राजनीतिक विषयमा छलफल भएको उनले स्पष्ट पारे ।

सङ्गठनका फ््रयाक्सन इन्चार्ज कृतिले सङ्गठनले गरेका निर्णयहरूलाई हुबहु कार्यान्वयन गर्न विशेष जोड दिँदै आजको युवा आन्दोलनलाई अगाडि बढाउन दिशानिर्देश गरे ।
युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गलीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सङ्गठनका सम्पूर्ण केन्द्रीय पदाधिकारी र सदस्यहरूले रिपोर्ट राखेका थिए । बैठकले देशभर केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र विभाजन गरेको छ ।

त्यसैगरी बैठकले राजनीतिक हिसाबले देशभर युवाहरूलाई सङ्गठित गर्ने र वैज्ञानिक समाजवाद प्राप्तिका लागि जनमतसङ्ग्रहमा जान युवाहरूलाई तयार गर्ने निर्णय गरेको छ । वैचारिक हिसाबले स्कुलिङ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकको सञ्चालन युवा सङ्गठन नेपालकी महासचिव विदुषीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :