कर्णालीका सङ्गठनहरूद्वारा मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ : कर्णाली प्रदेशमा क्रियाशील विद्यार्थी सङ्गठनले जनजीविका र जनतन्त्रको रक्षाका साथै सरकारले गरेको चर्को मूल्यवृद्धि, प्रदेशस्थित राजमार्ग स्तरोन्नति, कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिको माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र अखिल क्रान्तिकारीसहित चार सङ्गठनले यस्तो माग गरेका हुन् ।

पाँचबुँदे विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थ र ग्याँसमा भएको चर्को मुल्यवृद्धिले सबैभन्दा बढी मर्कामा दुर्गम र कर्णाली प्रदेशका जनता परेका छन् । आज खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिन दुईगुणा, रात चौगुणाका दरले बढोत्तरी भएर जनताको बाँच्न पाउने अधिकार नै खोसिएको छ । पटकपटक पेट्रोलियम पदार्थ र ग्याँसमा गरिएको मूल्यवृद्धि खारेज गरी बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न राज्यसँग जोडदार माग गर्दछौँ । साथै राज्यको यो शोषणकारी रबैयाका विरुद्ध सशक्त सडक सङ्घर्षमा आउन सम्पूर्ण विद्यार्थी र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । कर्णालीका विद्यार्थीलगायत यस क्षेत्रका सम्पूर्ण न्यायप्रेमी जनसमुदायको सङ्घर्षबाट मध्यपश्चिम विश्वविद्यालय स्थापना गरिएको कुरा सर्वविदितै छ तर आज विश्वविद्यालयको चर्को शुल्क र विभिन्न विकृति–विसङ्गतिका कारण कर्णालीका मजदुर–किसान र आमजनताका छोराछोरीले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको छ । यस विषयमा विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायलाई सचेततापूर्वक गम्भीर ध्यानाकर्षण गराउँछौँ । विश्वविद्यालयको रबैयाप्रति सम्पूर्ण विद्यार्थी र यस क्षेत्रका सरोकारवाला सबै मप विश्वविद्यालय निर्माणको नयाँ सङ्घर्षमा अगाडि बढ्न अपिल गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कर्णाली प्रदेशका जनताले अझैसम्म कोरोना खोप पाउन सकिरहेका छैनन् । छिटोभन्दा छिटो सम्पूर्ण नागरिकलाई कोरोना खोपको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ । दुर्घटनाबाट जनताको जीवनको रक्षा गर्न र जामबाट उन्मुक्ति पाउन कर्णाली राजमार्गको स्तरोन्नतिका लागि सरकारसँग जोडदार माग गर्दछौँ । कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि जनताले सहजै सामान्य स्वास्थ्य उपचार पाउन सकेका छैनन् । जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र कर्णाली प्रदेश अस्पतालमा आवश्यक चिकित्सकसहित स्तरोन्नतिका लागि प्रदेश सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :