लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

जाजरकोट : विद्यालयमा भ्रष्टाचार र बेथितिमा लिप्त भएका जाजरकोट नलगाड नगरपालिका वडा नं. १ स्थित वीरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्रबहादुर केसीलाई नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जाजरकोटले कालोमोसो दलेर जनकारबाही गरेको समाचार प्राप्त भएको छ । उनी नलगाड नगरपालिका वडा नं. १२ का बासिन्दा हुन् ।

प्रअ चन्द्रबहादुरलाई कारबाही किन भन्ने विषयमा अखिल क्रान्तिकारीले जारी गरेको अभियोगपत्रमा भनिएको छ, ‘समग्र शिक्षा क्षेत्रलाई कमाइखाने भाँडोका रूपमा प्रयोग गरी आमजनताको भविष्यमाथि खेलबाड गरेको, प्रदेशको बजेटअन्तर्गत सामाजिक विकास कार्यालयमार्फत विद्यालयको आठकोठे भवन निर्माणका लागि दिएको बजेट आफैँ निर्माण गर्ने जिम्मेवारी लिइ प्राविधिक स्टिमेटविपरीत कार्य गरी भवन गुणस्तरहीन बनाई भवनमा पानी चुहिने भई विद्यार्थी बस्न लायक नभएको, विद्यालयको विज्ञानसम्बन्धी सामग्री खरिदका नाममा १० लाख रुपैयाँ घोटाला गरेको, विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति र पाठ्यपुस्तकको २०७२/७३ सालको अहिलेसम्म विद्यार्थीलाई नदिई घोटाला गरेको ।’

प्रअलाई कारबाही गर्नुको कारण प्रस्ट पार्दै अगाडि भनिएको छ, ‘शिक्षा ऐनअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा संविधानमा उल्लेख छ तर विद्यालयमा शिक्षक दरबन्दी पूरा हुँदाहुँदै प्रत्येक विद्यार्थीबाट भर्ना शुल्कका नाउँमा १ हजार रुपैयाँ उठाएको, विद्यालयको मुद्दती खातामा रहेको ८ लाख रुपैयाँ निकासा गरी घोटाला गरेको, कक्षा ११/१२ तर्फ ४ वटा दरबन्दी हुँदाहुँदै पनि प्रत्येक विद्यार्थीबाट भर्ना शुल्कका नाममा ३,२५० रुपैयाँ लिएको र वार्षिक शुल्क रु. ७,५०० लिएको, विद्यार्थीले कक्षा १०, ११ र १२ पास गरेको प्रमाणपत्रको ३६० जना विद्यार्थीबाट रु. ३ हजारका दरले उठाएको, प्रदेश सरकारमार्फत फिल्ड निर्माणकार्य सन्दर्भमा रु. २० लाख बजेटमा रु. ५ लाखको मात्र काम गरी रु. १५ लाख घोटाला गरेको, शिक्षक सरुवा सन्दर्भमा रु. १ लाख ४० हजार उठाएर खाएको ।’

अनावश्यक राज्यको सम्पत्ति दोहन गर्नेहरूमाथि अखिल क्रान्तिकारीले जनकारबाही जारी राख्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :