पार्टी पुनर्गठन दिवसका अवसरमा जनवादी विवाह

पार्टी पुनर्गठन दिवसका अवसरमा जनवादी विवाह

सर्लाही : ८ औँ पार्टी पुनर्गठन र २१ औँ जनमुक्ति सेना स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारीका सर्लाही जिल्ला अध्यक्ष अर्पण पौडेल र सायाका बीच जनवादी विवाह सम्पन्न भएको छ ।

वैवाहिक कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’, नेकपाका केन्द्रीय सदस्य समर शाही, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सर्लाही जिल्ला सदस्य बद्री प्रधान, नेकपा सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ, विशेष समिति सदस्य जनक राउत, रौतहट जिल्ला सेक्रेटरी कुमार, विचारमान थिङ, पदम मगर, नरबहादुर थापालगायत नेताहरूले नयाँ जोडीलाई माला र अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

वैवाहिक कार्यक्रममा बेहुला अर्पण पौडेलका तर्फबाट घोषित प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘पुरातनवादी, बुर्जुवा संस्कृतिलाई अनुकरण गर्दै आएको परिवार कम्युनिस्टले स्थापना गरेको संस्कृति ‘जनवादी विवाह’ मा इच्छुक भएर उपस्थित हुनुभएकोमा म मेरा परिवारजनमा विशेष आभार व्यक्त गर्न चाहन्छु । पुँजीवादी समाजको अगाडि म, मेरो परिवारले गरेको सांस्कृतिक विद्रोह पनि हो जसबाट थुप्रैको मन झस्किएको छ । मेरा लागि कुनै समय परिवार प्रमुख थियो भने पार्टी, सङ्गठनमा जोडिसकेपछिको समयमा परिवार सहायक र क्रान्ति, पार्टी र सङ्गठन प्रमुख बनेको छ । यसैले मेरो परिवारमा थपिने थप एक सदस्य अर्थात् मेरी श्रीमती पनि मुक्तियोद्धा नै भएको हुनुहुँदा उहाँ मेरी श्रीमती अर्थात् पारिवारिक नातामा सहायक र सङ्गठनात्मक हिसाबले प्रमुख मानिनुहुन्छ । यसो हुँदा हामी र हाम्रो बाटो अर्थात् वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा कुनै असर नपर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :