मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बुधबार विभिन्न कार्यक्रम गरी आठौँ पार्टी पुनर्गठन दिवस मनाएको छ । गौरवपूर्ण ऐतिहासिक दिनको रुपमा झल्किने गरी पुनर्गठन दिवसको अवसरमा जिल्ला पार्टीद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । त्यस्तै साँझपख बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ ।

पार्टीको जिल्ला सम्पर्क कार्यालयमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, सहिद परिवारका सदस्य उदय गोले, सचिवालय सदस्य विक्रम मगर लगायत सम्पूर्ण जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सुरुमा सबैलाई अबिर लगाई चकलेट बाँडेर खुसियाली साटासाट गरेका थिए । त्यस्तै जिल्ला पार्टीको तर्फबाट सम्पूर्ण सहिद परिवारका सदस्यलाई सम्मान स्वरूप नगद उपहार प्रदान गरिएको छ । जिल्ला भरिका नेताकार्यकर्ता र जनताको उपस्थितिमा सम्पन्न भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालले गरेका थिए भने विशेष कमिटी सदस्य पेन्सनको सभाध्यक्षता रहेको थियो ।

त्यस्तै साँझ ६ बजे हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ । पार्टी पुनर्गठन दिवसको खुशियालीमा सम्पूर्ण नेताकार्यकर्ताको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । साथै बुद्धचोकमा कोणसभा पनि भएको छ भने जिल्ला पार्टी सम्पर्क कार्यालयमा पनि दीप प्रज्वलन गरी खुसियाली मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :