आजको दिन विचलनकारीहरुबाट विद्रोह गरेको दिन हो : नेता सुदर्शन

आजको दिन विचलनकारीहरुबाट विद्रोह गरेको दिन हो : नेता सुदर्शन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीको ८ औँ पार्टी पुनर्गठन दिवस काठमाडौँमा विविध कार्यक्रम गरी भव्य रुपले मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौँको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सुदर्शन, अन्यहरुमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रकाशन तथा प्रचारप्रसार विभागका इन्चार्ज प्रज्वलन लगायतका विभिन्न अतिथिहरुको उपस्थितिमा जनक्रान्तिका शहिद परिवारहरुलाई, घाइते योद्धाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत सबै अतिथिहरु र कार्यक्रममा सहभागीहरू  एकअर्कामा टिका आवरण गरी ८ औँ पार्टी पुनर्गठन दिवसको शुभकामना आदानप्रदानसहित उत्सवको रुपमा खुशीयाली साटासाट गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले कार्यक्रमलाई सम्बोधन गर्दै आज उत्सवका साथ मनाइरहेको भन्दै विचलनकारीहरुबाट विद्रोह गरेको दिन भएको बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफूहरुले नयाँ काम गरिरहेको उल्लेख गर्दै नयाँ ढंगले कोरेको क्रान्ति पूरा गर्न आजको दिनले थप अभिप्रेरित गरोस् भनेर उनले सबैलाई शुभकामना दिएका थिए । एकीकृत जनक्रान्तिको कार्यदिशाले फरक ठाउँमा र नयाँ ढंगले पार्टीलाई स्थापित गरेका बताए । नेकपा नेता सुदर्शनले कार्यदिशाको सात आधार, पाँच तयारी, वैज्ञानिक समाजवाद र पार्टीले पछिल्लो समय लिएको जनमत संग्रहको कार्यनीतिको बारेमा पनि विस्तृत व्याख्या गरेका थिए । पार्टीको कार्यनीतिलाई राम्रोसँग समाएर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई आन्दोलनसँग सँगसँगै जोडेर लैजानपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले शहिदका सपना पूरा गर्न मृत्युलाई च्यालेन्ज गरेर अघि बढेको आजको विशिष्ट दिन भएको स्मरण गरे । उनले भने, –‘शहिद परिवार हामीसँगै आशावादी हुनुहुन्छ, घाइते योद्धाहरु हामीसँगै हुनुहुन्छ, हामीलाई छुट छैन शहिदका बलिदानलाई कुल्चिन, खबरदारी गरिरहेका छन् सहिदका सपना नबिर्स भनेर घाइते योद्धाहरुको भावनाले पनि भनिरहेको छ, शहिदका सपना पूरा गर्न हामी जुनसुकै बलिदान गर्नु पर्यो भने पनि बलिदान गर्न तयार भएका छौँ । नयाँ वर्षले यही आदेश गरेको छ ।’

एक अर्को प्रसंगमा नेता माइला लामाले प्रचण्ड र आफूहरुको एकता प्रायोजित भ्रमपूर्ण प्रचार हो भन्दै यस्तो भ्रममा कोही पनि पर्न नहुनेमा जोड दिए ।
नेता लामाले भने, –‘प्रचण्डहरु सरकारमा हुँदा नै हाम्रो पार्टीलाई प्रतिबन्ध लगाइएको छ, कुमार पौडेल लगायत १२ जना शहिद हुनुभएको छ, प्रतिबन्ध लगाएर क्रान्तिकारीहरुको गला रेट्नेहरुसँग एकता हुँदैन, नेपाली कम्युनिष्ट आन्दोलनले स्पष्ट नेता विप्लव पाइसकेको छ, हामी कमजोर छैनौँ, हामीसँग शहिद परिवार, घाइते योद्धा र हजारौँ नौजवान युवाहरु साथमा हुनुहुन्छ, आम देशभक्त, परिवर्तनकारी शक्तिहरुको साथ छ ।’

नेकपा काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत जनक्रान्तिका शहिद परिवार घाइते योद्धाहरुलाई प्रमाणपत्र, नगद र दोसल्ला आढाएर सम्मान गरिएको थियो । कार्यक्रममा शहिद दिपेन्द्रकी जीवनसँगिनी विना, घाइते योद्धा रविन केसी पनि आफ्ना भनाईहरु राखेकन थिए भने प्रतिक चन्द प्रजिना दर्नाल र मुक्तान थेबे लगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :