वक्तृत्वकला प्रतियोगितामा सविनाले सुनिश्चित गरिन् प्रथम स्थान

वक्तृत्वकला प्रतियोगितामा सविनाले सुनिश्चित गरिन् प्रथम स्थान

मकवानपुर : मकवानपुर बहुमुखी क्याम्पसमा भएको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा सविना थिङ प्रथम भएकी छिन् । मनहरी –२ भुन्द्रुङ टाँडीमा अवस्थित श्री सीता मा.वि.मा कक्षा १० मा अध्ययनरत छात्रा सविना थिङले आफ्ना सबै प्रतिस्पर्धी मित्रहरूलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुरले उक्त कार्यक्रमको आयोजना गरेको थियो । “राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको थियो । मङ्गलबार बिहान ११ बजे सुरु भएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा जिल्ला भरिका ११ वटा मावि र त्यहाँ अध्ययनरत २० जना विद्यार्थीहरू प्रतिस्पर्धीको रुपमा सहभागी भएका थिए । सहभागी सबै प्रतिस्पर्धीहरूले प्रस्तुत विषयमा आफ्नो गहकिलो विचार प्रस्तुत गरेका थिए ।

मकवानपुर बहुमुखी क्याम्पसका शिक्षक निमेष निखिल र देवराज खरेलको जिम्मेवारीमा रहेको निर्णायक मण्डलको निर्णय अनुसार सीता माविकी छात्रा सविना थिङ प्रथम, मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा श्रमिका कँडेल द्वितीय र आधुनिक राष्ट्रिय माविका छात्र तृतीय भएका छन् ।

भव्यताका साथ सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन, विशेष अतिथि सेक्रेटरी वाटर, मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख डा. रामप्रसाद अधिकारी, अतिथिहरू अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष र जनप्रिय माविकी शिक्षिका लक्ष्मी श्रेष्ठ, सीता माविकी शिक्षिका पवित्र ढुङ्गाना, आधुनिक राष्ट्रिय माविका शिक्षक पुर्सोत्तम आचार्य, विशेष जिल्ला सेक्रेटरी मिङमार, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष सुशिला थिए । अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष सुर्यबहादुर गोलेले सञ्चालन गरेको वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको सभाध्यक्ष अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष विवेक घलान थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :