अछाममा बिरामीलाई फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अछाममा बिरामीलाई फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले पार्टी पुनर्गठन दिवसको अवसरमा फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । मङ्गलबार जिल्लाको बयलपाटा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

वितरण कार्यक्रम पश्चात शुभकामना दिँदै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिव तपेन्द्र तिमिल्सिनाले बिरामीहरूको सिघ्र स्वस्थ लाभको कामना गरेका थिए । उनले पार्टी पुनर्गठनले आम क्रान्तिकारीहरूमा खुसीको सञ्चार गरेको भन्दै सम्पूर्ण क्रान्तिकारीहरू एकीकृत जनक्रान्तिको बाटोमा ध्रुवीकृत हुनुपर्ने बताए । तपेन्द्रले गद्दार नेतृत्वले ढोका दिएको भन्दै अब सर्वहारा र श्रमजीवी जनताको राज्यसत्ता प्राप्त गरिछाड्ने अठोटसमेत गरे । उनले अछाम जस्तो विकट ठाउँमा बयलपाटा अस्पतालले पुर्याएको योगदानप्रति धन्यवाद दिँदै आफूहरू पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बयलपाटा अस्पतालमा देखा परेको विभिन्न बिकृतिप्रति असन्तुष्टि जनाउँदै त्यसप्रति अफ्नो ध्यानाकर्षण भएको नेता तपेन्द्रले बताए ।

यस्तै गुरुकुल मावि ढकारीमा पनि नेकपाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल माविका विद्यार्थीहरूबीच विभिन्न समूहमा प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य लोकेन्द्रबहादुर शाहीले अफ्नो पार्टीले सर्वहारा वर्गको राज्यसत्ता प्राप्त गर्नका लागि सङ्घर्ष गरिरहेको र पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद ल्याई छाड्नेसमेत बताए । उनले वर्तमान दलाल संसदीय व्यवस्थाले देश र जनतालाई सङ्कटमा पारेको भन्दै जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना हुनुपर्ने कुरामा जोड दिए ।

साथै गुरुकुल माविमा कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १० का लोगराज शाहीले पार्टी पुनर्गठनको अबसरमा एक हजार थान न्यानो टोपी वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :