नेकपा मकवानपुरद्वारा फुटबल प्रतियोगिता सम्पन्न

नेकपा मकवानपुरद्वारा फुटबल प्रतियोगिता सम्पन्न

मकवानपुर : मकवानपुरमा विभिन्न तीन ठाउँमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको छ । युवा सङ्गठन नेपाल मकवानपुरको आयोजनामा मङ्गलबार दिउँसो तीन बजेबाट सुरु भएको फूटबल म्याच हेटौँडाको हुप्राचौरमा खेलाइएको थियो ।

प्रतियोगितामा हेटौँडा–१९ बस्तिपुर टीम र हेटौँडा–११ थानाभर्याङ टीम सहभागी भएको थियो । सहभागी दुई टीमबीच भएको मैत्रीपूर्ण फूटबल म्याच बराबरीमा रोकिएपछि पेनाल्टी खेलाउनु पर्ने अवस्था सिर्जना भएको थियो । उक्त पेनाल्टीमार्फत बस्तिपुर टीमले थानाभर्याङ टीमलाई ३–२ ले पराजित गर्दै आफ्नो जित सुनिश्चित गरेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, मकवानपुरका सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल लगायतको आतिथ्यतामा भएको मैत्रीपूर्ण फूटबल प्रतियोगिता कार्यक्रमको सभाध्यक्ष युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष किरण अर्याल थिए भने हेटौँडा–१२ का वडा सेक्रेटरी साजन लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यसैगरी, मनहरी गाउँपालिकामा पनि फुटबल म्याच भएको छ । गाउँ सेक्रेटरी गुणसिंह रुम्बाको प्रमुख आतिथ्यतामा भएको म्याचमा मनहरी–३ को जन आदर्श युवा क्लव र –२ को घट्टेपाखा टीम सहभागी भएका थिए । बराबरीमा रोकिएको खेलमा पेनाल्टीमा ४–२ ले घट्टेपाखा टीमलाई पराजित गर्दै जन आदर्श युवा क्लवले जित हात पारेको छ ।

त्यस्तै बागमती गाउँ सेक्रेटरी भक्त माझीको प्रमुख आतिथ्यतामा पनि फुटबल प्रतियोगिता भएको थियो । प्रतियोगितामा लालिगुराँस युवा क्लव अन्तर्गतका ‘ए’ र ‘बी’ टीम सहभागी थिए । दुई टीमबीच भएको मैत्रीपूर्ण खेलमा ‘ए’ टीमले ‘बी’ टीमलाई १–० ले पराजित गर्दै जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :