नेपाल बन्दको देशभर प्रभाव, यातायातका साधन, शैक्षिक संस्था र उद्योग–व्यवसायहरू ठप्प

देशभरबाट नेकपाका कयौँ नेता–कार्यकर्ता गिरफ्तार

नेपाल बन्दको देशभर प्रभाव, यातायातका साधन, शैक्षिक संस्था र उद्योग–व्यवसायहरू ठप्प

काठमाडौँ : पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आजका लागि आह्वान गरेको नेपाल बन्दको देशभर सकारात्मक प्रभाव परेको छ । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार मेचीदेखि महाकालीसम्म नै बन्दको पूर्ण प्रभाव परेको छ । एम्बुलेन्स, पानी, दूध र फोहोर बोक्ने गाडीबाहेक यातायातका अन्य साधन सञ्चालनमा आएका छैनन् । शैक्षिक संस्थाहरू ठप्प छन् ।

बन्द सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरूले राजमार्गका मुख्य–मुख्य भागदेखि सहरका चोकचोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरिरहेका छन् ।

बन्द आह्वान गर्दै सडकमा निस्किएका नेकपाका कयौँ नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका समाचारहरू पनि प्राप्त भएका छन् । प्राप्त समाचारअनुसार नेकपाका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज आधारसहित १३ जनालाई प्रहरीले बिहान बनेपाबाट गिरफ्तार गरेको छ ।

त्यसैगरी युवा सङ्गठन नेपालकी महासचिव विदुषीलाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको छ । काठमाडौँबाट गिरफ्तार भएकाहरूलाई महाराजगन्जस्थित प्रहरीचौकीमा राखिएको बताइएको छ ।

यसैबीच युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गलीले सङ्गठनकी महासचिव विदुषीलगायत गिरफ्तार भएका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यसैगरी पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गरेपछि नेपाल बन्दको आह्वान गर्दै सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई आज बिहानै प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ । कास्की प्रहरीले नेकपा कास्कीका जिल्ला सदस्य एवम् कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट गिरफ्तार गरेको हो ।

कास्कीबाट प्राप्त समाचारअनुसार नेकपाका कार्यकर्ता छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौँडा, रूपा गाउँपालिका, मादीगाउँपालिकालगायत कास्कीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै बन्द सफल गराउनका लागि खटिएको जानकारी कास्की जिल्ला इन्चार्ज उमा भुजेलले दिएकी छिन् । भुजेलले गिरफ्तरीमा परेका नेता–कार्यकर्ताहरूलाई तत्कालै रिहा गर्न माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताका पक्षमा आह्वान गरिएको नेपाल बन्द सफल बनाउन सबैमा आग्रह पनि गरेकी छिन् ।

यसैबीच नेकपाका रामेछाप जिल्ला इन्चार्ज इन्द्र श्रेष्ठको नेतृत्वमा निस्किएको जुलुसले बिहानै सदरमुकाम मन्थलीमा नाराजुलुस गरेको समाचार प्राप्त भएको छ । स्थानीय देवकोटाचोकबाट नेपाल बन्द सफल पारौँ भन्ने नारा लगाउँदै सुरु भएको जुलुसले बजार परिक्रमा गरेको जानकारी सेक्रेटरी श्रेष्ठले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :