नेपाल बन्द सफल पारौँ भन्दै रामेछापमा नेकपाको मसाल जुलुस

नेपाल बन्द सफल पारौँ भन्दै रामेछापमा नेकपाको मसाल जुलुस

मन्थली (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार साँझ जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकमै मसाल जुलुस निकालेको छ ।

‘भोलिको नेपाल बन्द सफल पारौँ, मूल्यवृद्धि फिर्ता ले, जनविरोधी, दलाल पुँजीवादी सरकार मुर्दावाद, नेकपा जिन्दावाद, तीनबुँदे सहमति लागू गर’ लगायत नारा लगाउँदै नेकपाका नेता–कार्यकर्ताले सिटी फुक्दै मसाल जुलुस निकालेका हुन् ।

कार्यक्रम बिथोल्न सदरमुकाममा ठूलो मात्रामा परिचालित प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरहरूलाई छक्याउँदै नेकपाले जिल्ला प्रशासन कार्यालयनजिक जिल्ला विकास समन्वय समिति र नगारपालिका कार्यालयचोकबाट निकालेको मसाल/सिटी जुलुस बजार परिक्रमा गर्दै कटरबोटमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुस नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठको नेतृत्वमा निस्किएको थियो ।

कटरबोटमा आयोजित कोणसभामा सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले दलाल पुँजीवादी सरकारले जनताको ढाडै सेक्ने गरी पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेकाले बाध्य भएर नेपाल बन्द गर्नुपरेको बताए । उनले नेपाल बन्द सफल पार्न उद्योगी, व्यवसायी, पेसाकर्मी, शिक्षक–विद्यार्थी, अभिभावक, कर्मचारी सबैलाई आह्वान गरे ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदी, नेकपा रामेछापका पूर्वइन्चार्ज/सेक्रेटरी यमन बस्नेत ‘गुन्जन’, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी रामेछापका अध्यक्ष श्याम घिमिरे, युवा सङ्गठन नेपाल रामेछापका अध्यक्ष शङ्कर भुजेल, जितबहादुर मगर, निखिल श्रेष्ठ, लक्ष्मी श्रेष्ठलगायत पार्टीका जिल्ला सदस्य, जवस मोर्चाका अध्यक्ष र सदस्यहरू सहभागी थिए ।

नेकपा रामेछापले मूल्यवृद्धिको विरोध र नेपाल बन्द सफल पार्न आह्वान गर्दै २ दिनअघि मन्थली नगरपालिकास्थित गेलुमा मसाल जुलुस र आइतबार जिल्ला प्रशासन कार्यालय प्राङ्गणमै कोणसभा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :