पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा दाङद्वारा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा दाङद्वारा प्रदर्शन

दाङः पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा घोराहीमा विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धिका विरुद्ध संसदवादी दलहरु चुइक्क बोल्न नसकेको बताएका छन् ।
उनले भने,`यो महङ्गीको मार सबैलाई परेको छ, तर कोही पनि चुइक्क बोल्न सक्दैनन् ।` उनले कर्मचारी, प्रशासनिक क्षेत्र लगायत सबैमा महङ्गीको मार परेको भए पनि उनीहरु नाङ्गो चाकडी र दलाली गरिरहेको बताए । शासन व्यवस्था नै दलालहरुको हातमा भएकोले कर्मचारीतन्त्र, प्रशासनिक क्षेत्रले चाकडी गर्नुपर्ने बाध्यता भएको नेता प्रदिपको जिकिर थियो ।
नेपालका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक लगायत सबैखाले समस्याको एकमात्र समाधान व्यवस्था बदलेर मात्र हल हुने सेक्रेटरी प्रदिपको उद्घोष थियो ।
नेता प्रदिपले आफ्नो पार्टीले संसदीय सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह गर्नुपर्ने कार्यनीति लिएको स्पष्ट पारेका थिए । उनले भने, `संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर जनतालाई छान्न दिनुपर्छ, त्यो भनेको नेपालमा एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्छ ।`

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपाले घोषणा गरेका देशव्यापी चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक २७ गते देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
नेकपा दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिका विरुद्ध घोराहीको शहिद गेटदेखि तुलसीपुर चोकसम्म विरोध र्यालीपछि कार्यक्रम कोणसभामा परिणत भएको थियो । कोणसभा कोर्यक्रमको सञ्चालन नेकपा दाङका कार्यालय सदस्य विकासले गरेका थिए ।

यस्तै नेकपा दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिका विरुद्धमा भोलि कार्तिक २८ गते जिल्लाका मुख्य सहरहरुमा बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :