पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल खारेज गर : नयन

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल खारेज गर : नयन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिविरुद्ध मशाल जुलुससहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार साँझ हेटौँडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस नगरको प्रमुख चोक बुद्धचोक हुँदै सीमाचोकमा पुगि कोणसभामा परिणत भएको हो ।

जिल्ला सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालको सञ्चालनमा सुरु भएको कोणसभा कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेको थियो । कोणसभा कार्यक्रमको सम्बोधन गर्दै नयनले विभिन्न रोग, शोक र भोगले व्याकुल आम जनतामाथि सरकारले मनोमानी ढङ्गले महँगी, कालोबजारी, दलालीहरूमार्फत खुलेआम रुपमा लुट मच्चाइरहेको बताए । उनले भान्सामा माना कसरी जुटाउने भन्ने कुराले सताइएका जनताका चुलामा आगोसमेत बाल्न नसक्ने गरि ग्यासको मूल्य भढाएकोप्रति आपत्ति जनाए । यसरी जनताप्रति गैरजिम्मेवार भइ सरकारले दिनानुदिन पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको हुँनाले जनताका वैकल्पिक शक्तिको रुपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी फेरि पनि मसाल जुलुससहित सडकमा आउन बाध्य भएको प्रमुख अतिथिसमेत रहेका नयनले जानकारी गराए । त्यस्तै कात्तिक २९ गतेभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल खारेज नगरे विशाल जनसङ्घर्षमा जुट्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार अफैँ हुनुपर्ने चेतावनी समेत दिए । साथै कात्तिक ३० गते नेपाल बन्द गर्न बाध्य हुने र सो बन्द सफल पार्न पुलिस, प्रशासन, कर्मचारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, पत्रकार लगायत आम नेपाली जनतालाई अपिलसमेत गरेका छन् ।

कार्यक्रमकै बीचमा नयनले काम नलाग्ने जनविरोधी दलाल सत्ता संसदीय व्यवस्था भित्रको चुनावी प्रतिस्पर्धाका लागि महँगी बढाएर सरकारले खर्च जुटाउन थालेको हुनाले यसप्रति सजग रहन आम जनतालाई सचेत गराए । भोलि जनताका बहुमूल्य भोट खरिद गर्नकै लागि सरकारले आज जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थसहित खाद्य बस्तुको मूल्यबृद्धि गराएको आरोप लगाए । यस्तै उनले हिम्मत भए जनताको माग अनुसार जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था र संसदीय व्यवस्थाबीच जनमतसङ्ग्रहको घोषणा गरि नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि तयार हुनसमेत चुनौती दिए । यसरी हेटौँडामा सम्पन्न मसाल जुलुस तथा कोणसभा कार्यक्रममा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरसहित सैयौँ जनताको उपस्थिति रहेको थियो ।

त्यस्तै मकवानपुरको पूर्वी भूभाग बागमती गाउँपालिकामा पनि पालिका सेक्रेटरी भक्त माझीको नेतृत्वमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरुद्ध छुट्टाछुट्टै दुई ठाँउमा मसाल जुलुससहित कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :