देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ: कृति

देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ: कृति

भैरहवाः नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले भैरहवामा जनप्रदर्शन गरेको छ । भैरहवाको बुद्धचोकबाट नाराबाजी सहित सुरुभएको जुलुस मिलनचोकमा पुगेर कोणसभा सम्पन्न भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज कृतिले देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको बताउदै सत्तामा बसेका लुटेराहरुले जनताको ढाड सकिरहेको बताएका छन् । नेता कृतिले जनताको आवाज शासक वर्गले नसुनेका कारण कार्तिक ३० गते नेपाल बन्दमार्फत् मूल्यबृद्धिले जनताको पसिना लुटिएको कुरा उनीहरुको कानमा सुनाउन खोजेको बताए । उनले मूल्यबृद्धि नेकपाको विषय मात्रै नभई नेपाली जनताको विषय भएको भन्दै संघर्षको नेतृत्व नेकपाले गर्नुपरेको बताए । आयल निगमले सस्तोमा इन्धन खरिद गरेर उपभोक्तालाई महङ्गोमा बेचिएको भन्दै बीचमा दलालहरुले कमिसन खाएको कारण पेट्रोलियम पदार्थको मूल्य बढेको नेता कृतिले बताए । उनले आफ्नो पार्टीले शान्तिपूर्ण संघर्ष गरिरहेको भन्दै राज्यसत्ताले दमन गरे विस्फोट हुने चेतावनी दिए । उनले बम पनि पड्किनु अगाडि बुद्धभन्दा शान्त हुने तर पड्किएपछि भयानक हुने भन्दै राज्यसत्ताले जनताको आवाज नसुने उही अवस्था हुने चेतावनी दिए । उनले जनतालाई सास्ती दिने दलाल, भ्रष्ट, तस्कर, कमिसनखोर र बिलौलियाहरुलाई पार्टीले कुनैपनि हालतमा नछोड्ने बताउनु भयो ।

कोणसभामा नेकपा जिल्ला सेक्रेटरी विश्वासलगायत जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने संग्रामी सांस्कृतिक परिवारद्वारा नाच प्रस्तुत गरिएको थियो । सभाको सञ्चालन सिद्धार्थ नगर सेक्रेटरी जसवन्तले गरेका थिए । जुलुसमा नाराहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर ! कार्तिक ३० गतेको नेपाल बन्द–सफल पारौं ! बढ्दो महंगी नियन्त्रण गर ! कालोबजारी नियन्त्रण गर ! दलाल भ्रष्टाचारीलाई कारवाही गर ! जनतालाई गास, बास, कपासको ग्यारेन्टी गर ! नेपाल कम्युनिस्ट पार्टी–जिन्दावाद ! एकीकृत जनक्रान्ति – जिन्दावाद ! दलाल संसदीय व्यवस्था –मूर्दावाद ! लगायतका नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :