मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनको मुख्य–मुख्य बजारहरूमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा चितवनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध केन्द्रीय सङ्घर्षका कार्यक्रम अन्तर्गत बिहीबार चितवनका नारायणगढको लायन्स चोक, पुर्वि चितवनको भण्डारा बजार, पश्चिम चितवनको शुक्रनगर बजार र माडीको बसन्तपुर बजारमा टायर बालेर विरोध प्रदर्शन गर्दै मुल्यबवृद्धि खारेजीको माग गरेको हो ।

पुर्वि चितवनको भण्डारा बजारमा भएको विरोध सभामा बोल्दै नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सवले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक पेट्रोलियम तथा खाद्यवस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्नुले जनता कङ्गाल हुने स्थिति सिर्जना भएकोप्रति आक्रोश व्यक्त गरे । उनले पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका दरले गरिएको मूल्यबृद्धिले जनता चरम सङ्कटमा परेको बताए । नेता उत्सवले जनतामाथि गरिने दोहनलाई टुलुटुलु हेरेर आफ्नो पार्टी नबस्ने चेतावनी दिए । साथै उनले सम्पूर्ण मुल्यबृद्धि खारेज नहुँदासम्म आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उद्घोष गर्दै मूल्यबृद्धिका विरुद्ध पार्टीले कात्तिक २५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेकोमा आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका लागि अपिलसमेत गरे ।

नारायणगढको लायन्स चोकमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य ध्रुव खड्काले राज्यसत्ता लुटेराहरूको हातमा रहँदासम्म श्रमिक जनताहरूले महँगीको मारमा श्वाससम्म फेर्न नपाउने बताए । उनले जनताले मुठ्ठीभर दलाल पुँजीपतिको हातबाट सत्ता कब्जा गरेर मात्रै मुक्ति पाउने विचार व्यक्त गरे । उनले भने, ‘यो सत्ताको उपहार नै महँगी, कालोबजारी, भ्रष्टाचार, बेथिति, विसङ्गति हो ।’ नेता खड्काले यसबाट मुक्ति चाहने हो भने राज्यसत्ता बदल्नेमा जुट्नुपर्ने धारणा राखे ।

त्यसैगरी नारायणगढको लायन्स चोकमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य रुद्र भट्टराईले जनता लुट्ने लुटेरा शासकहरूका विरुद्ध सङ्गठन निरन्तर सङ्घर्षमा होमिने उद्घोष गरे । उनले विभिन्न वाहानामा दैनिकजसो गरिने मूल्यबृद्धिले गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मूल्यबृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेहरी सिर्जना गर्ने चेतावनी दिए । उनले भने, ‘हामी जनताका विरुद्ध हुने र जुनसुकै हर्कतका विरुद्ध शिरमा कफन बाँधेर हिडेका छौँ, बरू सडकमै मृत्यु स्वीकार गर्छौं तर सत्य बोल्छौँ ।’

विरोध प्रदर्शनमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर, दलाल सरकार मुर्दावाद, दलाल संसदीय व्यवस्थाको अन्त्य गरौँ, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नाराहरू लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :