तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

खोटाङ : नेकपा खोटाङले जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले गरेको भ्रष्टाचार सम्बन्धमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गरी दोषीलाई कारबाही नगरिए सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी जीवनले विज्ञप्ति जारी गरी स्वास्थ्य शाखामा भएको भ्रष्टाचार र अनियमितताका विरुद्ध पार्टीले सम्बन्धित निकायसँग छलफल, सोधपुछ र अनुसन्धान गर्दा दोषी स्वास्थ्य शाखा प्रमुखलाई हटाएर अर्को संयोजक नियुक्त गरेको भन्दै भ्रष्टाचार गर्ने व्यक्तिलाई हटाएर अर्को संयोजक नियुक्त गर्नु समस्याको समाधान नभएको जनाएका छन् ।

उक्त भष्टाचारकाण्डमाथि आवश्यक छानबिन गरी पारदर्शी बनाइयोस् भन्ने आमजनसमुदायको मागमा पार्टीको समर्थन रहेको र समस्या समाधान नगरी टालटुल पार्न खोजिएमा पार्टीले सञ्चालन गर्ने निर्मम सङ्घर्षको परिणामको जबाफदेही नगरपालिका नै हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

जिल्ला पार्टी स्रोतका अनुसार २०७५/२०७६ सालबाटै उक्त निकायमा आर्थिक भ्रष्टाचार भएको प्रमाणित भएको, साथसाथै महिलाकाण्डहरू मच्चिएका, नेकपाले लगातार भ्रष्टाचारीमाथि छानबिन गरेर प्रमाणित भएपछि नगरप्रमुखको जिम्मेवारीबाट निष्कासन गरिएको, नगरपालिकाका सबै कमर््चारी भगतका विरुद्ध केन्द्रीकृत रहेको, भगतले हलेसीस्थित होटेल रोयलका मालिकसँगसमेत मिलेर नक्कली बिल बनाई ठगी गरेको प्रमाणित भएको, कोरोनाको बजेटसमेत भ्रष्टाचार गरेको पाइएको छ ।

त्यसैगरी होटेलका कुकले समेत काम गरेको पैसा नपाएको, पैसा माग्दा उल्टै धम्की दिएकोलगायत घटनाहरू सार्वजनिक भइसक्दा पनि कारबाही गर्नुको सट्टा घटना गुपचुप राखी प्रमुखमा सुटुक्क अर्को कर्मचारी नियुक्त गरिएकोमा आपत्ति प्रकट गर्दै नेकपाले यथार्थ सार्वजनिक गरेर दोषीमाथि कारबाही नभएसम्म सङ्घर्ष जारी राख्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :