नेकपा रामेछापले चलायो समाजवादसम्बन्धी बहस

वैज्ञानिक समाजवादबाट नेपालले संसारको नेतृत्व गर्न सक्छ : रणवीर

नेकपा रामेछापले चलायो समाजवादसम्बन्धी बहस

मन्थली (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टी रामेछापले समाजवादसम्बन्धी बहस आरम्भ गरेको छ । नेकपा रामेछापले बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न राजनीतिक पार्टी र सङ्घसंस्थाहरूलाई सहभागी गराएर ‘समाजवादको भविष्य र राजनीतिक पार्टीहरूको भूमिका’ विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको हो ।

अन्तरक्रिया गोष्ठीका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा रामेछाप–सिन्धुली इन्चार्ज भरत बम ‘रणवीर’ ले अब जीवनमा लागू हुने समाजवाद चाहिएको धारणा व्यक्त गरे । समाजमा निराशा रहेको, रूप मात्रको समाजवाद रहेको र समाजवादका नाउँमा नवउदारवाद/संसद्‌वाद लागू भइरहेको कुरा सत्य रहेको बताउँदै नेकपा नेता रणवीरले नेपालमा नेपाली काङ्ग्रेस, एमाले हुँदै माओवादी केन्द्रसम्मले समाजवादका कुरा गरेर पनि समाजवाद लागू गर्न नसकेकाले नेकपाले एकीकृत जनक्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद लागू गर्न पहल गरेको प्रस्ट पारे । उनले भने, ‘विगतमा राजनीतिक पार्टीहरू एउटा कुरा भन्ने र अर्को काम गरेकाले समाजवाद लागू नभएको हो । पुराना र पार्टी र व्यवस्थाहरू असफल भइसकेका छन् । वैज्ञानिक समाजवाद एक मात्र विकल्प हो र त्यो सम्भव छ । त्यसका लागि हामीले जनमतसङ्ग्रह प्रस्ताव गरेका छौँ । समाजवादका पक्षधर सबै शक्ति नेकपाले प्रस्ताव गरेको प्रक्रियामा लामबद्ध बनौँ । समाजवाद अपरिहार्य र अवश्यम्भाबी छ ।’

दलाल पुँजीवादी संसदीय व्यवस्था उत्पादनबेगर कमिसन र दलालीमा आधारित प्रणाली रहेको र आफ्नै मानिसलाई निषेध गरेर अगाडि बढ्ने व्यवस्था भएकाले यो व्यवस्था संसारबाटै असफल भएका उदाहरणहरू प्रस्तुत गर्दै नेता रणवीरले भने, ‘वैज्ञानिक समाजवादको भविष्य उज्ज्वल छ । नेपालले वैज्ञानिक समाजवाद स्थापना र लागू गरेर संसारको नेतृत्व गर्न सक्छ ।’

अन्तरक्रिया गोष्ठीमा अतिथिका रूपमा धारणा राख्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले समाजवादी हौँ भनेर समाजवादको बहस गर्नसमात डराउने संसद्‌वादी शक्तिहरूलाई नारा नचोर्न खबरदारी गर्दै बहसमा भाग लिन चुनौती दिए । रुस, चीन, जनगणतन्त्र कोरिया, जर्मनी हुँदै संसारको दुई तिहाइ भूगोलमा विस्तार भएको समाजवादी व्यवस्था साम्राज्यवादको इसारामा अवसरवाद र संशोधनवादले नष्ट पारेकाले क्रान्तिका धोकेबाज र संशोधनवादीहरू बेलैमा चिनेर निर्मम सङ्घर्ष नगरे फेरि श्रमजीवी वर्गलाई धोका हुनसक्ने आशङ्का उनले व्यक्त गरे । राजा त्रिभुवन–मातृका कोइरालादेखि महेन्द्र–वीरेन्द्रकालीन पञ्चायती व्यवस्थाकै सिको गरेर संसद्‌वादी काङ्ग्रेस–एमाले, ज्ञानेन्द्रको शासन हुँदै केपी वली–पुष्पकमल दाहालसम्मले समाजवादका पक्षधरलाई प्रतिबन्ध लगाएको भन्दै उनले फेरि षड्यन्त्र भए बल प्रयोगमा जान जनता बाध्य हुने बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला अध्यक्ष गणेश खड्गी ‘गगन’ ले नवउदारवादी संसद्‌वादीहरूले समाजवाद भनेर नवउदारवाद लागू गरिरहेको बताए । उनले नयाँ जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने धारणा राख्दै यो व्यवस्थाबाट उत्पीडितहरू सबै वैज्ञानिक समाजवाद प्राप्तिको जारी आन्दोलनमा लामबद्ध हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य दीपक प्रसाईंले सबै कम्युनिस्ट पार्टी र शक्तिहरू मिलेर समाजवाद स्थापना गर्नुपर्ने बतए । उनले जनयुद्धका सहिद परिवार र घाइते योद्धाका समस्याहरू ज्यूँका त्यूँ रहेको पनि बताए । कम्युनिस्ट पार्टीहरू सत्ताबाहिर हुँदा समाजवादको नारा लगाए पनि सत्तामा पुगेर बिग्रिएको उनको गुनासो थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कम्युनिस्टहरूले लामो त्याग, शौर्य र बलिदान गरेर पनि घोषणापत्रअनुसार समाजवाद लागू गर्न नसक्दा यो व्यवस्थाप्रति मानिसको निराशा बढिरहेको बताए ।

नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूलाई पार्टीका जिल्ला नेता गुन्जनले स्वागत गरेका थिए । कार्यक्रममा पत्रकार महासङ्घ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेल, राप्रपा प्रतिनिधि, पुस्तक व्यवसायी सङ्घका प्रतिनिधि, वातावरण संरक्षण मञ्चका प्रतिनिधि, जिल्लास्थित विभिन्न एमएम तथा पत्रपत्रिकामा आबद्ध सञ्चारकर्मी, नेकपा रामेछापका जिल्ला सदस्य र विभिन्न जवस मोर्चाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :