नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाको अध्यक्षतामा भरतपुर महानगरपालिका ८ मा बसेको बैठक आगामी मङ्सिर ८ गते पार्टी पुनस्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजना हुने, साथै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बृहत जनप्रदर्शन तथा जनसभा भव्य रुपमा सफल पार्ने निर्णय गर्दै सम्पन्न भएको हो ।

जिल्ला भरबाट कम्तिमा पाँच देखि ७ हजार जनता काठमाडौँमा उतार्ने निर्णय गरेको नेकपा चितवनले त्यसको तयारीका लागि ७ वटै स्थानिय निकायका ९८ वटा वडामा जिल्ला कमिटी सदस्यहरूसमेत परिचालन गर्दै दलाल संसदीय व्यवस्थाले थोपरेको उत्पीडिनबाट जनतालाई मुक्त गरि छाड्ने, विभिन्न कालोबजारी, भ्रष्टाचारी, बिकृति, बिसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने र पार्टीले लिएको प्रगतिशील सरकार जनमतसङ्ग्रहको बारेमा व्यापक जनतामा लैजाने निर्णय गरेको छ ।

साथै नेकपा चितवनले उक्त सभा एउटा सभा मात्रै नभएर दलाल संसदीय व्यवस्थाका विरुद्ध हुने आन्दोलन र सङ्घर्षका रुपमा बुझिदिन आग्रह गर्दै देशभक्त, प्रगतिशील, उत्पीडित जनता, मजदुर, युवा विद्यार्थी, किसान, महिला, दलित, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायत सम्पूर्ण पेसाकर्मिहरूलाई समेत सभामा उपस्थित हुन अपिल गरेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ प्रमुख अतिथि रहेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, विशेष कमिटीका सेक्रेटरी महेश थारु, विशेष कमिटी सदस्यहरू उत्सव लामा, ध्रुव खड्का र रुद्र भट्टराई अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :