किसान महासङ्घ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न

किसान महासङ्घ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न

धादिङ : “किसान आन्दोलनलाई नयाँ उचाइँमा उठाऔं !, दलाल र भूमाफियाहरूको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरौं !!” भन्ने मुल नाराका साथ अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) जिल्ला समिति धादिङको प्रथम जिल्ला सम्मेलन निलकण्ठ नगरपालिकाको वली डाँडामा सम्पन्न भएको छ । सम्मेलनले बिमल तामाङको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले कृषि प्रधान देशमा किसानहरू नै भोकको सिकार बन्नुपर्ने अवस्था यो दलाल संसदीय व्यवस्थाले सिर्जना गरेको बताए । उनले कृषि उत्पादनलाई वैज्ञानिक ढङ्गले उत्पादन गर्दै देशलाई आत्मनिर्भर बनाउने अभियानमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मुख्य भूमिका खेल्नुपर्ने बताउँदै अहिलेको राज्यले अपहेलित गरेका किसानहरूलाई वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले सम्मानसहित वैज्ञानिक कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने बताए । क्षेत्रीले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले आफ्नो नागरिकहरूलाई रोजगारी, आवास ग्यारेन्टी गर्ने र शिक्षा, स्वास्थ्य निःशुल्क हुने बताए ।

सम्मेलनमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागर तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनमा जनपत्रकार सङ्गठनका जिल्ला अध्यक्ष तथा पार्टीका जिल्ला सदस्य सुन्दर लामा, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक तथा जिल्ला सदस्य काइला सुनुवार, जिल्ला सदस्यहरू माइला गुरुङ, धनबहादुर घलेको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :