युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘भ्रष्टाचार, दलाल र माफियाका विरुद्ध सशक्त जुझारु युवा आन्दोलन !, जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथो जिल्ला सम्मेलन !!’ भन्ने मुल नाराका साथ युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन धुनिबेशी नगरपालिकाको नौबिसेमा सम्पन्न भएको हो ।

सम्मेलनले किशोर रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनमा प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले सम्मेलनलाई सम्बोधन गर्दै यो देश बचाउने जिम्मा नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएकोले त्यसको अग्रमोर्चामा युवाहरूले भूमिका खेल्नुपर्ने बताए । उनले हाम्रो लक्ष्य वैज्ञानिक समजावाद भएकोले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका निमित्त जनमतसङ्ग्रहमा जानुको विकल्प नरहेको धारण व्यक्त गरे ।

जिल्ला सम्मेलनमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा जिल्ला सदस्य सागरले युवाहरू देशको मेरुदण्ड भएकोले सक्रिय र सशक्त भूमिका खेल्नुपर्ने भएकोले आजको सम्मेलनले जुझारु कमिटी निर्माण गर्नुपर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए । यस्तै पार्टीका पुर्व जिल्ला सेक्रेटरी प्रवेशले युवा सङ्गठनको चौथो जिल्ला सम्मेलन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै युवा सङ्गठन नेपालले नेपाल र नेपाली समाजको सुरक्षा गर्ने जुझारु सङ्गठन भएकोले सम्मेलनले चुस्त दुरुस्त चलाएमान निर्वाचित होस् भन्दै शुभकामना दिए ।

सम्मेलनको अध्यक्षता र सञ्चालन युवा सङ्गठन नेपाल, धादिङका संयोजक अभयले गरेका थिए । सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य अर्पण, जनपत्रकार सङ्गठन नेपाल धादिङका अध्यक्ष तथा जिल्ला सदस्य सुन्दर, पार्टीका जिल्ला सदस्यहरू लेखबहादुर तामाङ, कृष्ण खतिवडा, धनबहादुर घले, मोहन घले र माइला गुरुङको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :