साम्राज्यवादी हस्तक्षेपको प्रतिरोधका लागि मार्क्सवादी संस्कृतिकर्मीहरू तयार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा दोलखामा वैचारिक गोष्ठी

साम्राज्यवादी हस्तक्षेपको प्रतिरोधका लागि मार्क्सवादी संस्कृतिकर्मीहरू तयार

चरीकोट (दोलखा) : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा दोलखामा ‘साम्राज्यवादी हस्तक्षेपविरुद्ध माक्र्सवादी संस्कृतिकर्मीहरूको भूमिका’ विषयक विचारगोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ । महासङ्घको दोलखा जिल्ला समिति घोषणाको अवसर पारेर आइतबार चरीकोटमा आयोजित गोष्ठीका वक्ताहरूले साम्राज्यवादी ज्यादतीले सीमा नाघेकाले कोरिया, चीन, भियतनाम, क्युबा र अफगानिस्तानको प्रतिरोधबाट पाठ सिक्दै अझै माथि उठेर सबै क्षेत्रबाट यसको संयुक्त र एकीकृत प्रतिरोध गर्नुपर्ने धारणा राखे ।

विचार गोष्ठीका प्रमुख अतिथि अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले साम्राज्यवादको उद्भव नै उत्पीडित राष्ट्र र जनतामाथि शोषण, दमन, अन्याय, अत्याचार, व्यभिचार र केन्द्रीकृत लूटका लागि भएकाले लेनिन र माओको युगबाट अझै माथि उठेर जनप्रतिरोध गर्नुपर्ने धारणा राखे । साम्राज्यवादले राजनीतिक, भौगोलिक, सैनिक, सांस्कृतिक, आर्थिक, कूटनीतिक, औपनिवेशिक हस्तक्षेप गर्नुका साथै पछिल्लो अवधिमा मुलुकहरूका शासनसत्तामा दलालहरूसमेत निर्माण गरेर शोषण गरिरहेका उदाहरणहरू प्रस्तुत गर्दै उनले सुगौली सन्धिदेखि बिप्पा हुँदै एमसीसी सम्झौतासम्म आउँदा नेपालमाथि विभिन्न किसिमका साम्राज्यवादी हस्तक्षेपहरू तीव्रतामा बढिरहेकाले यसको चौतर्फी प्रतिरोध आवश्यक भएको धारणा राखे ।

साम्राज्यवाद सम्पूर्ण समस्याको स्रोत र आतङ्कवादको केन्द्र रहेका उदाहरणहरू प्रस्तुत गर्दै उनले उत्पीडित राष्ट्र र जनताहरूबीचको वैचारिक, राजनीतिक, सांस्कृतिक ध्रुवीकरण, वैचारिक प्रतिरोध र राष्ट्रिय युद्धहरूले नै साम्राज्यवादी चङ्गुलहरूबाट देश र जनताहरू स्वतन्त्र हुनसक्ने विकल्पहरू प्रस्तुत गरे । मार्क्सवादी संस्कृतिकर्मीहरूको केन्द्रीकरण, अन्तर्राष्ट्रिय स्तरदेखि राष्ट्रिय स्तरसम्म वैचारिक बहस र सिर्जनात्मक प्रतिरोधले साम्राज्यवादविरुद्ध सबैखाले प्रतिरोधको वातावरण निर्माण गर्ने उनको प्रस्ताव थियो ।

कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले महासङ्घको माध्यमबाट पार्टीले ठूलो र व्यापक महत्वको विषय उद्घोष गरेर राष्ट्रिय बहस छेडेको धारणा राखे । दलाल संसद्‌वादका मतियार र वाहकहरू साम्राज्यवादका पुच्छर र दास भएकाले बहसमा सहभागी हुनबाटसमेत डराएको भन्दै नेता सिंहले नेकपाले साम्राज्यवाद र दलालहरूविरुद्धको बहस र आन्दोलनलाई जनताको घर र झुपडीसम्म पुर्याएर देश र जनतालाई मुक्त बनाएरै छोड्ने उद्घोष पनि गरे ।

आज साम्राज्यवाद उत्तरसाम्राज्यवाद अर्थात् मरणोन्मुख र समाप्तिको दिशातर्फ उन्मुख रहेको धारणा राख्दै नेकपाका केन्द्रीय सदस्य सिंहले साम्राज्यवाद जनताको शक्तिका अघिल्तिर कागजी बाघ मात्रै रहेकाले यसको पराजय र उत्पीडित देश र जनताको विजय सुनिश्चित रहेको बताए । हिजो साम्राज्यवाद विभिन्न देशका सत्ताहरूमा दलालहरू जन्माउने र दलाल बन्न अस्वीकार गर्नेहरूलाई फाँसीमा झुन्ड्याएर समाप्त पार्ने क्रूर प्रवृत्तिको रहेको उदाहरण सद्दाम हुसेन, ओसामा बिन लादेन, कर्नेल कद्दाफीलगायतको हत्याले प्रस्ट पारेको उनको भनाइ थियो । विश्वका सात अर्ब जनतामाथि साम्राज्यवादी हस्तक्षेप सैह्य नभएको र जनता एकजुट हुनासाथ साम्राज्यवादको अन्त्य अपरिहार्य रहेको उनले बताए । उनले भने, ‘अबको भविष्य साम्राज्यवादको होइन, समाजवादको हो । साम्राज्यवादको अन्त्य र समाजवाद स्थापनाका लागि माक्र्सवादी संस्कृतिकर्मीको भूमिका बढेको छ । प्रतिरोधका सबै तरिकाहरू अपनाउन आवश्यक छ ।’

अन्तरक्रियात्मक गोष्ठीमा दोलखाका वामपन्थी बुद्धिजीवी बद्री चौलागाईंले जनसांस्कृतिक महासङ्घले अत्यन्त समसामयिक र अत्यावश्यक विषयमा बहस गराएको भन्दै धन्यवाद प्रकट गरे । यो बहसलाई गाउँदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएर साम्राज्यवादविरुद्ध व्यापक जनमत सिर्जना गर्नुपर्ने उनको धारणा थियो । निगम पुँजीवाद एकीकृत हस्तक्षेप गर्दै आएकाले देशभक्त र क्रान्तिकारी शक्तिले एकीकृत रूपमै प्रतिरोध गर्नुपर्ने र नेपालबाट नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यो सम्भव हुने उनको विश्वास थियो । संसद्‌वादीहरूलाई साम्राज्यवादी शक्तिका पाल्तु कुकुरको संज्ञा दिँदै चौलागाईंले साम्राज्यवादविरुद्धको प्रतिरोधमा अवसरवादी, संशोधनवादी सबै एक चिहान हुने उद्घोष पनि गरे ।

नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं र सचिव दिलसागर केसीले नेकपा मुलुकको वैकल्पिक शक्ति रहेको र यसले अघि बढाएका आन्दोलनका हरेक क्रियाकलाप देश र जनताको भविष्यसँग गाँसिएको भन्दै आफूहरूले यो आन्दोलनमा तन, मन दिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ जिल्ला सङ्गठन समिति दोलखाका संयोजक राजकुमार लामिछानेको अध्यक्षता र जितबहादुर थामीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा दोलखाका सेक्रेटरी माधव गौतम ‘आकाश’, सहिद परिवारका सदस्य कर्णबहादुर थामी, नेकपा सिन्धुपाल्चोकका सदस्य कुमार श्रेष्ठ, नेकपा दोलखाका जिल्ला सदस्यहरूलगायत अतिथि थिए । उक्त कार्यक्रममा पूजना बस्नेत, सुजना खत्री, कुमार श्रेष्ठ, जित थामीलगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :