नेकपाका प्रवक्ता र गृह एवम् कानुनमन्त्रीसहित सरकारी टोलीबीच आज पनि सकारात्मक छलफल

नेकपाका प्रवक्ता र गृह एवम् कानुनमन्त्रीसहित सरकारी टोलीबीच आज पनि सकारात्मक छलफल

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसहितको सरकारी टोलीका बीचमा आज पनि तीनबुँदे सहमति कार्यान्वयनमा भएको प्रगति र बाँकी काम अघि बढाउने विषयमा छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार अघिल्लो साता नेकपा प्रतिनिधि र सरकारी प्रतिनिधिबीच सहमति कार्यान्वयन र विशेषगरी बन्दी रिहाइ तथा झूट्टा मुद्दा खारेजीका विषयमा सरकारले गर्ने पहल र रिहा हुन बाँकी बन्दी र मुद्दाका विषयमा नेकपाले सूची तयार पार्ने विषयमा भएको समझदारीमा भएको प्रगतिमाथि आजको छलफल केन्द्रित थियो । छलफलमा सरकारका तर्फबाट महान्यायाधिवक्ता पनि सहभागी थिए ।

स्रोतका अनुसार आजको छलफलमा विगतमा भएको समझदारीअनुसार अघिल्लो छलफलपछि भएको प्रगतिका विषयमा सरकारी प्रतिनिधिले ब्रिफिङ गर्दै रिपोर्ट प्रस्तुत गरेका थिए भने नेकपाले पनि जेल र हिरासतमा रहेका आफ्नो पार्टीका नेता–कार्यकर्ता र झूट्टा मुद्दाहरूका बारेमा रिपोर्ट प्रस्तुत गरेको थियो ।

आजको छलफलमा गृहमन्त्री खाँडले अघिल्लो साता भएको छलफल र प्रगतिका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रिपोर्टिङ गरेको, प्रधानमन्त्री देउवाले सकारात्मक कामको प्रगतिप्रति धन्यवाद दिएको र यसलाई सफलतामा पु¥याउन तदारुकतासाथ अघि बढ्न निर्देशन दिएको बताएका थिए । आजको छलफलमा पनि सहमति कार्यान्वयनका लागि जारी वार्ता, भेट र छलफललाई परिणाममुखी बनाउन निरन्तर सजीव सम्बन्धमा रहिराख्ने समझदारी बनेको जानकारी नेकपा स्रोतले दिएको छ ।

गतवर्ष फागुन २१ गते नेकपा र सरकारबीच तीनबुँदे सहमति भएको थियो । सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नेबाहेक अन्य बुँदा कार्यान्वयनमा नआएको भन्दै व्यापक जनगुनासो बढिरहेको समयमा नेकपा र सरकारी प्रतिनिधिबीच भेटवार्ता र छलफलको प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको नेकपा स्रोतको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :