जनसांस्कृतिक महासङ्घ दोलखामा लामिछाने

जनसांस्कृतिक महासङ्घ दोलखामा लामिछाने

चरीकोट : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दोलखाको संयोजकमा राजकुमार लामिछाने चयन भएका छन् । जिल्ला सदरमुकाम चरीकोटमा आइतबार सम्पन्न माक्र्सवादी संस्कृतिकर्मीहरूको भेलाले लामिछानेको संयोजकत्वमा सात सदस्यीय जिल्ला सङ्गठन समिति निर्माण गरेको हो । समितिमा पदम थामी, पूजना बस्नेत, रजुना खत्री, लमु शेर्पालगायत संस्कृतिकर्मी रहेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै भेलाका प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले दलाल पुँजीवादलाई परास्त गरी वैज्ञानिक समाजवाद स्थापना गर्न जनसांस्कृतिक महासङ्घको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नवनिर्वाचित टोलीले सांस्कृतिक आन्दोलन अघि बढाउन वैचारिक–सांस्कृतिक लालदस्ताको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै एकीकृत जनक्रान्तिका पेचकिल्लाका रूपमा जनसंस्कृतिकर्मीहरू निरन्तर लागिरहनुपर्ने बताए । उनले वैज्ञानिक समाजवादको स्थापना र त्यसलाई साम्यवादसम्म लैजान मार्क्सवादी संस्कृतिकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

महासङ्का नवनिर्वाचित संयोजक राजकुमार लामिछानेले आफ्नो नेतृत्वको सङ्गठन निरन्तर राजनीतिक–सांस्कृतिक क्रान्तिमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा दोलखाका सेक्रेटरी माधव गौतम ‘आकाश’ ले महासङ्घको नवनिर्वाचित जिल्ला सङ्गठन घोषणा गर्दै समितिलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेकपा दोलखाका सेक्रेटरी आकाश, विशेष समिति सदस्य अर्जुन योगी, नेकपा दोलखाका जिल्ला सदस्यहरू, नेकपा सिन्धुपाल्चोकका सदस्य कुमार श्रेष्ठ, दोलखाका वामपन्थी बुद्धिजीवी बद्री चौलागाईं, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईं, सचिव दिलसागर केसीलगायत अतिथिका रूपमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :