मानसपटलको केन्द्रमा अमर योद्धा कमरेड वीरजङ्ग

मानसपटलको केन्द्रमा अमर योद्धा कमरेड वीरजङ्ग

कमरेड आदर्श दाइले २९ असोज, २०७८ बिहानै ७.४७ मा फोन गरेर सन्चो–बिसन्चो सोध्नुभयो । तीन मिनेट २३ सेकेन्डको कुराकानीमा दुःखद् खबर छ भन्नुभयो ! मैले के भो, के भो भनेँ । उहाँले कमरेड वीरजङ्ग दाइको निधन भएको दुःखद् खबर बताउनुभयो । म निःशब्द र स्तब्ध भएँ । मेरो स्पन्दन रोकियो । एक्कासि छाँगाबाट खसेझैँ भएँ । एक छिन त अपत्यारिलो लाग्यो । ई–रातो खबरको समाचार र पार्टी प्रवक्ता आदरणीय कमरेड प्रकाण्डको हस्ताक्षरित शोक वक्तव्य पढेँ । अनन्य भाइ कमरेड दिनेश र सहयोद्धा कमरेड प्रयासलाई पनि फोन गरियो । केही समयपछि आदरणीय कमरेड रणवीर दाइको पनि फोन आयो । दोलखा सेक्रेटरी कमरेड आकाशले शिवगढी जाने त होला भनेर सोध्नुभयो । त्यसपछि धेरै साथीको फोनको घन्टी निरन्तर बज्न थाल्यो । सामाजिक सञ्जाल र विभिन्न मिडियामा दुःखद् खबर छ्यापछ्याप्ती भयो । त्यो दुःखद् सत्य स्वीकार्न विवश भएँ । यद्यपि सबै सत्य सही हुँदैनन् । अफसोच ! सगरमाथाको देशको एक तारापुञ्ज, नेपाल आमाको सुपुत्र, होनहार योद्धा, दृढ, निष्ठावान् र कुशल नेताको भौतिक शरीर हाम्रो बीचबाट गुमेको दुःखद् खबरले अन्तस्करणबाट अश्रुधारासँगै विषाद पीडाको अनुभूति भयो । मेरो मानसपटलमा असमञ्जस्यताको भेलबाढी उर्लियो । नयनबाट अश्रुधारा झरी परेजस्तो, समीपका डाँडाहरू तुवाँलो र कुहिरोले टम्म ढाकेजस्तो र दिन अन्धकारमय भएजस्तो भइरहेको अनुभूति भयो । प्रकृतिले पनि महान् मान्छेको भौतिक असामयिक निधनमा शोकसन्तप्त परिवारजन, नेता, कार्यकर्ता र जनतासँगै आँसु बगाइरहेको भान भयो । सिङ्गो देश भावविह्वल र स्तब्ध भयो । सगरमाथाले गला अवरुद्ध भएको आवाजमा चित्कार गर्यो । हामी सबैले नयाँ सङ्कल्प गर्यौँ ! कमरेड वीरजङ्ग दाइ, तपाईंजस्तै निर्भीक भएर लडिरहनेछौँ । तपाईंको अन्तिम शब्दसन्देश ‘नेपाली जनतालाई फेरि धोका नहोस्’ आदरणीय महासचिव कमरेड विप्लवसँगै हामी सबैले प्रतिज्ञा गरेका छौँ, ‘तपाईंको सपना साकार हुनेछ । आन्दोलनलाई धोका हुनेछैन ।’ हो हामी झुक्दैनौँ, हार्दैनौँ, धोका दिँदैनौँ र विजयी हुनेछौँ ।

लेखक : पूर्णबहादुर सिंह

जन्मपछि मृत्यु अनिवार्य छ । यो प्रकृतिको सार्वभौम नियम हो । सबै जन्म र मृत्यु आम हुँदैनन् । कमरेड वीरजङ्गको जन्म र मृत्यु विशिष्ट छ । उहाँ हाम्रो पार्टीको धरोहर, क्रान्तिकारी योद्धा र कुशल नेता हुनुहुन्थ्यो । हरेक देशको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रियतावादी र विश्व–कम्युनिस्ट आन्दोलनको अङ्ग हो । उहाँको मृत्युले आज मुलुक र विश्व–सर्वहारा वर्गले एक दुर्लभ योद्धा एवम् नेतृत्व गुमाएको छ । यसले आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनमा धक्का पनि पुगेको छ । उहाँको मृत्यु स्वाभाविक नभएर विश्व–साम्राज्यवाद र नेपालमा पराकाष्ठामा पुगेको दलाल पुँजीवादी सत्ता मूल कारक बनेको छ । उहाँले परिवार, निजी जीवन, स्वास्थ्य आदि गौण बनाउनुभयो । उहाँले पूरा जीवन आत्मत्यागमय ढङ्गले देश, जनता र क्रान्तिमा समर्पित गर्नुभयो । क्रान्तिमा घाइते हुनुभयो । भोक, निद्रा, तुच्छ व्यक्तिगत वैभव र ऐसआरामलाई गौण ठान्ने देश, जनता र क्रान्तिप्रतिको दृढता र कार्यतत्परता उहाँका मूल विशेषता हुन् । लामो समय सामाजिक दलाल पुँजीवादी (फासिवादी) सरकार एवम् नेपाली अनुहारका सिदेमान र ज्योति बसुको जेल–हिरासतमा उहाँलाई थुनियो । नियमित उपचारको अभाव, मानसिक यातना र भौतिक कष्टका कारण नै उहाँको मृत्यु स्वाभाविक नभएर फरक प्रकारको हत्या हो । कमरेड गोन्जालोलाई साम्राज्यवादीहरूले आजीवन काराबास राखेर हत्या गरे तर उहाँलाई जेल–हिरासतबाट मुक्त गरेर ।

मानिस विचार, भावना र निष्ठाको योग पनि हो । समान लक्ष्यले भावनात्मक सामीप्य कायम हुन्छ भने विचारले निष्ठावान् एवम् दृढ बनाउँछ । पीडाहरू आक्रोशमा बदलिन्छन् । त्यो आक्रोश भनेको देश, जनता र क्रान्तिको सपना पूरा गर्नु पनि हो । सपना– आदर्श, उद्देश्य, नयाँ भविष्यको आशा र नयाँ सङ्कल्प पनि हो । यो निद्रामा देखिने सपना होइन । यो नयाँ जनक्रान्तिको भविष्य, जीवन र सङ्कल्पको सपना हो । ‘सपना ती होइनन्, जो सुतेर देखिन्छन् । सपना ती हुन् जसले सुत्न दिँदैनन्’, एपीजे अब्दुल कलामले भनेझैँ क्रान्तिकारीहरूका सपना राष्ट्र, क्रान्ति र जनताका खातिर आत्मत्यागमय ढङ्गले समर्पित भएर सङ्घर्ष, बलिदान र विजय हो । प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा, निराशालाई नयाँ आशामा र आमजनअपेक्षा एवम् विश्वासलाई पूर्ण विश्वासमा बदल्ने सुन्दर सपना हो । सपनाको मृत्युले मानिसको जीवनमा सबैभन्दा असह्य पीडा दिन्छ तर दर्शक मात्र बन्ने जिन्दगीका लागि । हामी त जिन्दगीमा भाग लिइरहेका छौँ । हाम्रो सपना मरेको छैन र हामी मर्न पनि दिँदैनौँ ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिनुभएका कमरेड वीरजङ्ग (चन्द्रबहादुर चन्द) एक स्थापित एवम् परिचित नाम हो । विद्यार्थीकालमै पञ्चायती कालरात्रीका विरुद्ध राजनीतिक यात्राको थालनी गर्नुभएका कमरेड वीरजङ्ग नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा–माओवादी र नेकपाको पोलिटब्युरो सदस्य (हाल केन्द्रीय सदस्य) हुनुहुन्थ्यो । उहाँले दस वर्षसम्म चलेको महान् जनयुद्ध, २०६२/६३ को जनआन्दोलन र एकीकृत जनक्रान्तिमा अविस्मरणीय एवम् नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । महान् जनयुद्धको येनान रोल्पामा जन्मिएर वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिएको एक होनहार योद्धा, कुशल र दुर्लभ नेता हुनुहुन्थ्यो– कमरेड वीरजङ्ग । कुनै औपचारिक उपमा र हैसियतले व्यक्तिलाई खासै फरक पार्दैन । उसको दृढता, समर्पण र क्रियाशीलतालाई अरूले पछ्याउँदै आउने गर्छन् । क्षमता आममानिसमा हुन्छ तर विशिष्ट क्षमता विरलैमा । महान् जनयुद्धमा फरक कार्यक्षेत्र एवम् भूमिकामा रहे पनि साबिक नवलपरासीको विद्यार्थीको जिल्ला सम्मेलन २०७३ असारमा हामी औपचारिक रूपले नजिकबाट परिचित भएका हौँ । भयानक विचलन, महापतन र प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा पुनर्सङ्गठित गर्ने एकीकृत जनक्रान्तिको महाअभियानअन्तर्गत २०७५ साल भदौ–असोजमा ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को विशिष्ट चुरे अभियानका क्रममा हाम्रो सहकार्य प्रारम्भ भयो । कलिलै अवस्थामा क्रान्तिको घा“टी निमोठ्ने दिवासपना देखेर सामजिक दलाल पुँजीवादी सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाउ“दै घोषित युद्ध नभए पनि फासिवादी दमन गरिरहेको सन्दर्भमा पार्टीले पूर्व–पश्चिम ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ (भदौ–असोज) सञ्चालन गर्ने उद्घोष गरेको थियो । पार्टीले मेरो ठोस जिम्मेवारी ऐतिहासिक राष्ट्रिय अभियानमा एउटा टिम लिडरका रूपमा दिएको कुराले मलाई खुसी, गौरव र जिम्मेवारीबोधको अनुभूति भएको थियो । त्यो अवधि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा २२ वर्ष, मूलतः समग्र आन्दोलनमा दुई दशकको पूर्णकालीन राजनीतिक जीवनमा एउटा प्रक्रियाको अन्त्य र नया“ प्रक्रियाको थालनी पनि थियो । वास्तविक जीवनमा दर्शक होइन, हरेक मोर्चाको जिन्दगीमा भाग लिइरहेको एउटा योद्धा कहिल्यै जिम्मेवारीरहित र भूमिकाविहीन हुन सक्दैन । सङ्घर्ष, बलिदान र विजयको इतिहासको रचयिता अखिल (क्रान्तिकारी) को २१ औँ ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट नया“ टिमलाई जिम्मेवारी हस्तान्तरण गर्दै मेरो नेतृत्वमा ४२ जना साथीहरू बिदा भएका थियौँ । सङ्क्रमणकालीन पाँच महिना मैले मार्क्सवादी अध्ययनमा आफूलाई अभ्यस्त बनाएँ । कतिपय साथीहरू सम्मेलनपूर्व नै पार्टी जिम्मेवारीमा गइसकेका थिए । म पनि नया“ सङ्कल्प र उत्साहसहित ३० साउन, २०७५ मा उपत्यकाबाट अभियानको कार्यक्षेत्रतर्फ प्रस्थान गरेको थिएँ । एकीकृत जनक्रान्तिमा ठूलो महत्व राख्ने त्यो अभियानमा मैले सबै साथीलाई निःसर्त र निःस्वार्थ होमिन सल्लाह तथा सुझाव दिएँ । त्यो अभियानाको मूल उद्देश्य र सन्दर्भ नया“ भए पनि अभियानमा सहभागिता र अनुभवका दृष्टिले महान् अभियानको अभियन्ता बनेको मेरा लागि त्यो दर्जनौँमा अर्को अवसर थियो । हरेक आन्दोलन आफैँमा अभियान पनि हो । त्यो अभियान एउटा विशाल आन्दोलन पनि हो । महान् माओले ‘अभियानहरू रूपमा दोहोरिएको जस्तो देखिए पनि त्यसमा परिस्थितिको व्यापक फेरबदल, मात्रामा विशालता र गुणमा छलाङ पैदा भइरहेको हुन्छ’ भनेजस्तै सर्वहारा वर्गको अग्रदस्ता र श्रमिक जनताको आस्था एवम् विश्वासको धरोहर सच्चा कम्युनिस्टहरूको पार्टी नेकपाले नया“ परिस्थितिमा ऐतिहासिक कार्यभार पूरा गर्ने मूल उद्देश्यसहित त्यो अभियान सञ्चालन गरेको थियो । राजनीतिक क्रान्तिमा सहभागी बन्ने कुरा रहर र बाध्यता दुवै होइन । यो त जसले देश र जनताप्रतिको आफ्नो उत्तरदायित्वबोध गर्छ त्यसले खेल्ने खेल नभएर क्रान्ति हो । क्रान्ति आफैँबाट रूपान्तरणको थालनी गर्ने समग्र प्रक्रिया हो । केही मानिस त्यसलाई अर्ती एवम् उपदेश मात्र दिने महावाणी र उद्धृत उक्ति ठान्दछन् । माओले भन्नुभएको थियो, ‘क्रान्तिकारी युद्ध यस्तो विषाणुनाशक ओखती हो जसले शत्रुको विषलाई मात्र समाप्त पार्ने होइन, हामीभित्र रहेका फोहोरमैलालाई पनि पखालेर हामीलाई निरोगी पार्छ ।’

(माओ त्सेतृुङका उद्धृत उक्तिहरू, युद्ध र शान्ति, दीर्घकालीन युद्धका विषयमा, पृ. ३३, मे १९३८) ।

समग्र क्रान्ति र त्यसभित्रको अभियान दुस्मनको फासिवादी दमनका विरुद्ध प्रतिरोध, पार्टीमा शुद्धीकरण, जनतामा सङ्गठन विस्तार र सुदृढीकरण गर्ने रणनीतिक तथा कार्यनीतिक महत्व बोकेको थियो त्यो अभियानले पनि । त्यो अभियान रूप र सार तथा मात्रा र गुण दुवै हासिल गर्न सफल भएको थियो । म साउन ३० गते पार्टी सम्पर्कमा पुगेको थिएँ । उपत्यकाबाट जाने साथीहरूको कुनै निधो नभएकाले मैले एकजना साथी लिएर गएको थिएँ । साउन ३१ गते पाल्पाको दोभान–बगाहमा अभियानको औपचारिक उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा तीनवटा केन्द्रीय टिम लिडर, अभियान टिमका सदस्यहरू र स्थानीय कमरेडहरूको सहभागिता रहेको थियो । नेकपाका लुम्बिनी ब्युरोका तत्कालीन इन्चार्ज कमरेड वीरजङ्गको अध्यक्षतमा केन्द्रीय सदस्य कमरेड विजयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विशेष जिल्लाका सेक्रेटरी कमरेड विश्वासले अभियात्रीहरूलाई स्वागत गर्नुभएको थियो । पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य कमरेड वीरजङ्गले अभियानको ब्यानर उद्घाटनसहित अभियानको उद्देश्य, औचित्य, महत्व, अभियात्रीको भूमिका, जिम्मेवारी, पार्टीयोजना र परिस्थितिबारे सबैलाई बोध गराउनुभएको थियो । महान् जनयुद्धको पुनःस्मृति गराउने गरी अभियात्री सबैलाई रातो टीका लगाएर स्वागत पनि गरिएको थियो । अभियान टिमका तर्फबाट छोटो अनुभूति र प्रतिबद्धता पनि व्यक्त गर्ने अवसर मलाई प्राप्त भएको थियो । त्यसपछि कार्यक्षेत्रको भौगोलिक जानकारी लिएर बेलुकाको खानापछि हामी गन्तव्यतर्फ प्रस्थान गरेका थियौँ । त्यो अभियानले नै मलाई कमरेड वीरजङ्गको वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, निष्पक्षता, क्रियाशीलता, कार्यतत्परता र कुशलता, उहाँमा अन्तरनिहित विशेषताहरूसँग चिरपरिचित हुने अवसर प्रदान गरेको थियो । त्यसपछि मेरो कार्यक्षेत्र पनि पार्टीले लुम्बिनीमा नै ठोस गरेको थियो । त्यसपछि हाम्रो करिब दुई वर्ष अविस्मरणीय सहकार्य भएको थियो । उहाँसँगको त्यो सहकार्यले मलाई थुप्रै प्रेरणा मिल्यो । २०७७ चैतमा उहाँ चितवन जेलमा हुनुहुन्थ्यो । म लुम्बिनीको विद्यार्थी अभियान टिमसहित भेटघाटमा गएको थिएँ । हामीले समसामयिक अवस्थाबारे अवगत गराएका थियौँ । कमरेड वीरजङ्गले ‘दलालहरूले सहमति कार्यान्वयन गर्दैनन्, पार्टीले नयाँ ढङ्गले सोच्नै पर्दछ’ भन्नुभएको थियो । यो वार्ता र सहमतिका बारेमा आदरणीय महासचिव कमरेड विप्लवले ‘यो सहमति कसैले कसैलाई जित्ने मनसायबाट गरिएको होइन । त्यसैगरी कसैले जितेको र कसैले हारेको रूपमा लिनु हुँदैन । यो सरकार र विद्रोही शक्तिका बीचमा आवश्यकता र पूर्तिको सिद्धान्तमा गरिएको सहमति हो । यसमा दुवै पक्षका फाइदा छन् र दुवै पक्षका केही त्याग पनि छन्’ भनेर खुलस्त गर्नुभएको विषय मैले बताएको थिएँ । हालसम्म त्यो सहमतिको दुई नम्बर बुँदाबाहेक अरू केही कार्यान्वयन भएको छैन । हाम्रा नेता–कार्यकर्ताहरू झूट्टा मुद्दामा अझै जेलमा हुनुहुन्छ । यद्यपि अरू सहमति कार्यान्वयन गर्ने सवालमा वर्तमान सरकार पनि उदासीनजस्तो देखिन्छ । विभिन्न तत्वहरूले त्यो लागू नहोस् भन्ने ढङ्गले चलखेल गरिरहेका छन् ।

त्यसपछि उहाँ जेलमुक्त हुनुभयो । पार्टीको केन्द्रीय समितिको दसौँ योजनामा म लुम्बिनीबाट स्थानान्तरित भएँ । १८ वैशाख, २०७८ मा उहाँको घरमा तत्कालीन लुम्बिनी ब्युरो इन्चार्ज आदरणीय कमरेड कृति दाइसहित सबै कमरेडहरूका बीचमा उहाँले लामो जेलजीवनका अनुभूति बताउनुभयो । त्यो पनि शिक्षाप्रद एवम् प्रेरणादायी छ । त्यो नै आदरणीय कमरेड वीरजङ्ग दाइसँगको मेरो अन्तिम भेट हुन गयो । फरक एवम् टाढा कार्यक्षेत्रका कारण उहाँ काठमाडौँमा उपचारमा हुँदा मैले भेट्न पाइनँ । उहाँसँग पार्टी केन्द्रीय समितिको बैठक र केन्द्रीय प्रशिक्षणमा भेट्ने अभिलाशा थियो तर त्यहाँ पनि भेट हुन सकेन । कमरेड वीरजङ्ग दाइ, तपाईंसँग भौतिक रूपले फेरि भेट्न नसके पनि म तपाईंले दिएको प्रेरणा कहिल्यै बिर्सनेछैन । अमिट छन् तपाईंको प्रेरणा र सहकार्य । तपाईं र आदरणीय कमरेड कृतिजतिको नेता र कार्यकर्ता सबै क्षेत्रमा हुँदा क्रान्तिको विजय समीप हुन्छ । पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति, नीति, योजना, कार्यक्रम, विधि र पद्धतिप्रतिको दृढता र कार्यतत्परता कमरेड वीरजङ्ग र लुम्बिनीबाट सबैले सिक्नै पर्दछ । महान् जनयुद्धकालमा विशेष क्षेत्र तत्कालीन केन्द्रीय आधारइलाका (राप्ती) र आदरणीय कमरेड विप्लवसँग सहकार्य गर्ने र सिक्ने अवसर प्राप्त भएको थियो । नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्तिको विजयपछि विश्वव्यापी रूपमा र खास गरेर चीनमा रुसबाट सिकौँ, चिनियाँ क्रान्तिकालमा येनानबाट सिकौँ भन्ने नारा गुन्जिएको थियो । आज हामी सबैले कमरेड वीरजङ्ग र लुम्बिनीबाट सिक्नु नै पर्दछ । हामी सबैले नयाँ सङ्कल्प गरिरहेका छौँ, कमरेड वीरजङ्ग दाइ, तपाईंजस्तै अविचलित एवम् निर्भीक भएर लडिरहनेछौँ । माक्र्सले भन्नुभएको छ, ‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्रै उनीहरूको उद्देश्य पूर्ति हुनसक्छ । साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारा वर्गले यसमा आफ्ना हतकडीसिवाय अरू केही गुमाउनु पर्दैन, बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्दछन् ।’

मार्क्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृ. ८५ ।

तपाईंको अन्तिम शब्दसन्देश ‘नेपाली जनतालाई फेरि धोका नहोस्’ आदरणीय महासचिव कमरेड विप्लवसँगै हामी सबैले प्रतिज्ञा गरेका छौँ– ‘तपाईंको सपना साकार हुनेछ र आन्दोलनलाई धोका हुनेछैन’ भन्ने उद्घोषलाई हामी आत्मसाथ गरिरहनेछौँ । जीवन–व्यवहारमा बदल्नेछौँ । पार्टीको क्रान्तिकारी विचार, वैज्ञानिक कार्यदिशा, ठोस योजना र महान् जनताका अगाडि त्यो हल्ला महान् जनयुद्धको आयु तोक्ने र नेतृत्वको टाउकाको मूल्य निर्धारण गरेको भन्दा कुनै फरक होइन । महान् माक्र्सले ‘विश्व–इतिहासमा ती सबै महत्वपूर्ण घटनाहरू तथा व्यक्तिहरू दुईपल्ट अविर्भूत हुन्छन् भन्ने हेगेलको भनाइलाई पहिलोपल्ट दुःखान्त नाटकका रूपमा र अर्काेपल्ट प्रहसनका रूपमा’ (मार्क्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृ. १३३) भनेझैँ आज दलालहरूको त्यो भ्रमपूर्ण हल्ला दुःखान्त नाटक र प्रहसनजस्तै भइरहेको छ । दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना अवश्यम्भाबी छ । एकीकृत जनक्रान्ति निरन्तर अघि बढिरहेको छ । कमरेड वीरजङ्ग, तपाईंका असीम योगदानहरूको इतिवृत्त केवल यसमा सम्भव छैन । म दायित्वबोध एवम् जिम्मेवारीका साथ आगामी दिनमा जारी राख्नेछु । कमरेड वीरजङ्ग दाइ, तपाईंप्रति अन्तःस्करणबाटै शब्द श्रद्धाञ्जली ! शोकाकुल ममतायी आमा, तपाईंको स्नेही भाइ तथा आदरणीय पार्टी महासचिव कमरेड विप्लव, सपरिवारजन, नेता, कार्यकर्ता, आमजनतालगायत सबैमा गहिरो समवेदना !! कमरेड वीरजङ्ग, तपाईंको मृत्यु ओजपूर्ण छ, तपाईं अमर हुनुभएको छ । कमरेड वीरजङ्ग– लालसलाम !!!

३१ असोज, २०७८

प्रतिक्रिया दिनुहोस्