परदेशीको कथा

कविता

आँखा नचिम्लिएरै
बिहान भएको त्यो रात
आफन्तको मीठो साथ
कहाँ पुरानो भएको छ र
सम्झनामा घुमिरहेको छ हजूर
धेरैपटक दसैँ आयो
तिहार आयो
घर फर्किने पत्तै छैन
म केही वर्षअघि
परदेसिएको मान्छे
आमाका साना
सुन बेचेर पासपोर्ट किनेँ
गाउँबाट सहर छिरेँ
देश छोडेर परदेश हिँडेँ
ठूलाठूला सपना बोकेँ
पराईको मुलुक फिरेँ
पैसाले केही खुसी त दियो
देशको माया दिँदैन रहेछ हजूर
आफ्नो भाषाभेषको माया
दिँदैन रहेछ हजूर
म केही वर्षअघि
परदेसिएको मान्छे
भन्दै थिइन् आमा त
गहभरि आँसु बगाउँदै–
छिटै फर्किनु है बाबू
बुढेसकालले भेटिसको
तिमीबिना एक्लो हुन्छु
यतै आफ्नै खेत जोत
कतै सानो काम खोज
हुनत हो नि
मलाई पनि रहर त थियो
देशमै बस्ने
तर
फरक छ देशको कथा
जागिर खान ‘पावर’ लाउनुपर्ने
नेताहरूको घरआँगन धाउनुपर्ने
बाध्यता नै बन्यो
झोला बोकी परदेश आउनुपर्ने
आफ्नो घरआँगन
बिरानो बनाइछोडे
मेरी आमा तिमी
निरास र निसाइलो गाउँमा
बाटो हेरिरहेकी हौली
निष्ठुरी सन्तान भन्दै सराप दिँदै
आँसु छरिरहेकी हौली
तर म विवश छु आमा
पराईको देशमा
श्रम बेच्दैछु
पसिनाको मूल्य के हो
बुझ्दैछु
म केही वर्षअघि
परदेसिएको मान्छे
हो, म सोच्दैछु
आफ्नो श्रम पराईको देशमा बेच्दिनँ अब
यो साल त यस्तै भयो
अर्को वर्ष यता बस्दिनँ अब
आफ्नै घर फर्किएर
बाँझो खेत खन्छु आमा
परदेशीको कथा ब्यथा
सबै–सबैलाई भन्छु आमा
आफ्नै भूमिमा पसिना बगाई
तिम्रै काखमा रम्छु आमा
आफ्नै माटो प्यारो छ
आफ्नै देशमा जम्छु आमा
अब म देशप्रेमी बन्छु आमा
देश लुट्ने चुसाहाको
मुटु घोच्ने काँडा हुन्छु आमा
यो साल त यस्तै भयो
अर्को साल त पक्का स्वदेशमै हुन्छु आमा
म केही वर्षअघि
परदेसिएको मान्छे
यस्तै छ परदेशीको कथा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :