तपाईंको सपना साकार हुनेछ, आन्दोलनलाई धोका हुनेछैन : महासचिव विप्लव

नेकपा नेता वीरजङ्गको भावपूर्ण बिदाइ

तपाईंको सपना साकार हुनेछ, आन्दोलनलाई धोका हुनेछैन : महासचिव विप्लव

शिवगढी (कपिलवस्तु) : नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को भावपूर्ण बिदाइ गरिएको छ । कपिलवस्तु शिवगढीस्थत घरमा शनिबार श्रद्धाञ्जलीसभापछि स्थानीय चिराई नदीमा नेता वीरजङ्गको अन्तिम संस्कार गरिएको हो । पार्टी नेता, कार्यकर्ता, प्रियजन, आफन्त, विभिन्न पार्टीमा आबद्ध व्यक्तित्व, सामाजिक कार्यकर्ता र स्थानीय जनसमुदायले अश्रुपुरित हुँदै सामूहिक रूपमा जनप्रिय नेता वीरजङ्गलाई बिदा गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव विप्लवले नेता वीरजङ्गले अन्तिम समयमा ‘आन्दोलन र क्रान्तिलाई धोका नहोस्’ भनी एकीकृत जनक्रान्ति र जारी वर्गसङ्घर्षप्रति चिन्ता व्यक्त गरेको स्मरण गराउँदै भने, ‘कमरेड, तपाईंको सपना हामी पूरा गर्नेछौँ । देश, जनता, हाम्रो वर्ग र जारी क्रान्तिलाई धोका हुनेछैन ।’

महासचिव विप्लवले नेता वीरजङ्गलाई क्रान्तिकारी र इमानदार योद्धाका रूपमा स्मरण गरे । सहयोद्धा र अभिभावक दुवै भूमिका एकसाथ निर्वाह गरेको स्मरण गर्दै महासचिव विप्लवले योद्धा वीरजङ्गका योगदानहरूको जति प्रशंसा गरे पनि कमै हुने बताए ।

नेता वीरजङ्गप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले शोकसन्तप्त पार्टी महासचिव विप्लव, आमा, नेता वीरजङ्गका परिवारका अन्य सदस्य र पार्टीपङ्क्तिप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, ‘हामी कमरेड वीरजङ्गका अधुरा सपना र सदीच्छा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले नेता वीरजङ्ग कर्मठ, इमानदार र लगनशील रहेको बताए । उनले जनयुद्धदेखि हाल जारी एकीकृत जनक्रान्तिसम्म नेता वीरजङ्गको अनुकरणीय र अतुलनीय योगदान रहेको बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, पूर्वसभामुख एवम् माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रेषण गरेको शोक तथा समवेदनापत्र वाचन गरिएको थियो ।

कार्यक्रममा नेकपाका जवस मोर्चाका तर्फबाट पार्टी केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, नेकपा माकेका नेता एवम् पूर्वमन्त्री चन्द्रप्रकाश खनाल, सङ्घीय सांसद अभिशेकप्रताप शाह, पूर्वसांसद, संसद् सदस्य र प्रदेश सांसदहरू विनोदकुमार उपाध्याय, रामलोटन तिवारी, इलियस मुसलमान, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, स्थानीय उद्योग वाणिज्य सङ्घ र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

त्यसैगरी श्रद्धाञ्जलीसभामा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, कपिलवस्तु महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम मुसलमान, राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला अध्यक्ष दधिराम आचार्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, वामपन्थी बुद्धिजीवी मेघराज ज्ञवाली, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक व्यक्तित्वहरूले नेता वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैबीच नेता वीरजङ्गको स्मरण र सम्मानमा नेकपा केन्द्रीय कार्यालयको आयोजनामा शिवगढीमा र देशभरका सम्पूर्ण जिल्लामा जिल्ला समितिहरूको आयोजनामा आगामी कात्तिक १० गते श्रद्धाञ्जलीसभा हुने जानकारी पार्टी केन्द्रीय कार्यालयले दिएको छ ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचार गराइरहेकै अवस्थामा २८ गते राती ६१ वर्षको उमेरमा नेकपाका पूर्वपोलिटब्युरो सदस्य एवम् वर्तमान केन्द्रीय सदस्य वीरजङ्गको असामयिक निधन भएको थियो । विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :