क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक : विप्लव

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौँ सम्मेलन पुस ११ र १२ मा

क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक : विप्लव

काठमाडौँ : नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौँ राष्ट्रिय सम्मेलन आगामी पुस ११ र १२ गते काठमाडौँमा हुने भएको छ । महासङ्घको काठमाडौँमा सम्पन्न चौथो पूर्ण बैठकले त्यसअघि देशभर महासङ्घका जिल्ला र प्रदेश सम्मेलनका साथै सांस्कृतिक गोष्ठी, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने निर्णय पनि गरेको छ ।

नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य र महासङ्घका अध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य माइला लामाको अध्यक्षतामा सम्पन्न बैठकले महासङ्घको सम्मेलनको अघि र पछि अनुकूलता मिलाएर आङ्गिक सङ्गठनका भेला र सम्मेलनहरू गर्ने, संयुक्त सांस्कृतिक मोर्चा निर्माणमा पहल गर्ने, महासङ्घ, अखिल नेपाल लेखक सङ्घ र सामना परिवारका प्रकाशनहरू गर्ने, महासङ्घ र लेखक सङ्घले देशका विभिन्न स्थानमा कविगोष्ठी र वैचारिक छलफलहरू आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रमुख अतिथि महासचिव विप्लवले एकीकृत जाक्रान्तिमा माक्र्सवादी संस्कृतिकर्मीहरूको भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । त्यसैगरी महासङ्घका अध्यक्षसमेत रहेका पार्टी केन्द्रीय सदस्य माइला लामाले एकीकृत जनक्रान्तिमा पार्टीमा आबद्ध संस्कृतिकर्मीहरूको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

बैठकमा सहभागी महासङ्घ आबद्ध संस्कृतिकर्मीलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि नेकपा महासचिव विप्लवले सत्ता परिवर्तनका लागि बल प्रयोग अनिवार्य सर्त रहेको बताए । नेकपासँग भएको तीनबुँदे सहमति लागू नगरेर सरकारले गम्भीर गल्ती गरिरहेको छ उल्लेख गर्दै महासचिव विप्लवले एकीकृत जनक्रान्ति आफूहरूको मनोगत चाहना वा इच्छाको विषय नभएर वस्तुगत आवश्यकता रहेको बताए । रुसी सशस्त्र विद्रोह, चिनियाँ दीर्घकालीन जनयुद्ध, नेपालको जनयुद्धका साथै संसारकै क्रान्ति र विद्रोहहरूको परिष्कृत र एकीकृत स्वरूप (फ्युजन) भएकाले एकीकृत जनक्रान्ति श्रमिक सर्वहारा वर्गको नयाँ, मौलिक र विकसित कार्यदिशा रहेको महासचिव विप्लवको भनाइ छ । वर्गसङ्घर्षको अन्तिम सत्य राज्यसत्ता बल प्रयोगबाटै कब्जा गर्न सकिने विषय, पुरानो विचार र सत्ताले आफ्नो वर्गस्वार्थको रक्षाका लागि बल प्रयोग अनिवार्य गर्ने भएकाले श्रमिक सर्वहारा वर्गले पनि सत्ता हातमा लिन बल प्रयोगको सिद्धान्तलाई अनिवार्य सर्तका रूपमा स्वीकार गरेको उनको भनाइ थियो ।

सरकारसँग भएको तीनबुँदे सहमतिपछि अवसरवादी, संशोधनवादी, दलाल र धोकेबाजहरूले नेकपाविरुद्ध विभिन्न किसिमका अनर्गल प्रचार गरेर धमिलो पानीमा माछा मार्ने दुष्प्रयास गरेको भए पनि एकीकृत जनक्रान्ति जारी रहेको र जनताको बलले यो विजयसम्म पुगेरै छोड्ने महासचिव विप्लवको उद्घोष थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव विप्लवले एकीकृत जनक्रान्तिको उर्लंदो लहरबाट अत्तालिएका दलाल र जनविरोधी शासकहरूले नेकपामाथि प्रतिबन्ध लगाए पनि अन्ततः हार स्वीकार गरेर प्रतिबन्ध फुकुवा गरेको प्रस्ट पारे । उनले भने, ‘तीनबुँदे सहमतिमा श्रमिक सर्वहारा वर्ग र क्रान्ति तल परेको छैन ।’

क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक रहेको प्रस्ट पार्दै क्रान्तिकारी सांस्कृतिक चेत, व्यवहार र आचरणयुक्त हुन उनले क्रान्तिकारी संस्कृतिकर्मीलाई आह्वान गरे । क्रान्तिकारीहरूलाई उत्तेजित बनाएर समाप्त पारिदिने पुरानो सत्ताको षड्यन्त्रलाई नेकपाले नयाँ शैलीले चकनाचुर पारिदिएको र प्रतिबन्धबाट खारिएर विजयको शिखरतिर लम्किँदै गएको महासचिव विप्लवको संश्लेषण थियो । सत्ता दमनको प्रतिरोध गर्न र हत्या–संस्कृतिलाई धुजाधुजा पार्न पार्टीको योजना र कार्यक्रमसँगै जनसांस्कृतिक महासङ्घ र यसमा आबद्ध स्रष्टा–संस्कृतिकर्मी–शुभचिन्तकहरूको निरन्तरको आक्रामक आन्दोलन र सिर्जना पनि एउटा महत्वपूर्ण कारण रहेको संश्लेषण महासचिव विप्लवले गरे । प्रतिबन्धकालमा हिरासत र जेल मोर्चा जितेर, आस्था जोगाएर, दुस्मनसँग डटेर सम्मानपूर्वक खुला आकाशमा फर्किएका स्रष्टा, संस्कृतिकर्मी र फासिवादी सत्ताका विरुद्ध निरन्तर सिर्जनात्मक प्रतिरोध गर्ने स्रष्टा–संस्कृतिकर्मीलाई महासचिव विप्लवले बधाई दिए ।

क्रान्तिकारी पार्टी र श्रमिक सर्वहारा वर्ग तल नपर्ने गरी पुरानो सत्तासँग भएको तीनबुँदे सहमति लागू गर्न स्रष्टा–संस्कृतिकर्मीले पनि दबाब दिनुपर्ने धारणा राख्दै महासचिव विप्लवले झन्डै दुईतिहाइ कम्युनिस्ट र वामपन्थी जनता, मतदाता रहेको मुलुकमा दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताको मत प्रयोग हुने पद्धति जमतसङ्ग्रह नै पर्याप्त भएको संश्लेषण पनि गरे । संसारका कुनै पनि दलाल र फासिवादी शासकले जनतालाई सधैँ धोका दिन नसकेका उदाहरणहरू प्रस्तुत गर्दै महासचिव विप्लवले जनमतसङ्ग्रहमा धोका भए विद्रोह र क्रान्ति गर्नु जनताको अधिकार रहेको पनि प्रस्ट पारे । जनता र पार्टीको शक्तिलाई एक बनाउनासाथ जस्तासुकै तानाशाह र षड्यन्त्रकारीहरू पनि परास्त हुने उनको विश्वास थियो ।

बैठकमा महासङ्घकी उपाध्यक्ष शोभा दुलाल, महासचिव खेम थपलिया, सचिव अशोक सवेदी, कुशल बोगटी, सरल माझी, कोषाध्यक्ष आरोह नेपाली, कार्यालय सदस्यहरू अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, विवेक सापकोटा, केन्द्रीय सदस्यहरू लक्ष्मण पाख्रिन, विकिल स्थापित, मुक्तान थेवा, हिमाल, नवराज, कविता, प्रस्तुति, प्रतिबद्ध, हेमराजलगायतले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै सांस्कृतिक आन्दोलन अघि बढाउने विषयमा मौलिक सुझावहरू दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :