केन्द्रीय जनपरिषद्‌द्वारा नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली

केन्द्रीय जनपरिषद्‌द्वारा नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौँ : नेकपा सम्बद्ध केन्द्रीय जनपरिषद् नेपालले शोक वक्तव्य जारी गरी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले जारी गरेको वक्तव्यमा महान् जनयुद्धको समयमा जनमुक्ति सेनाका बटालियन कमिसार, सेना र सङ्गठनका कुशल कमान्डर रहेका वीरजङ्गको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नु परेको उल्लेख छ ।

वक्तव्यमा शान्तिप्रक्रियापछि प्रचण्डको विचलन र आत्मसमर्पणपछि लगातार क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै लुम्बिनी ब्युरो इन्चार्ज र मध्यपश्चिम कमान्ड इन्चार्जको भूमिका कुशलतापूर्वक पूरा गर्दै आएका नेता वीरजङ्गलाई केपी ओलीको कथित कम्युनिस्ट सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि एक नम्बरको निशाना बनाएको, दुईदुईपटक गिरफ्तार गरी लामो समय जेल र हिरासतको यातना दिएको र जेल–हिरासतको यातनाले उनको कमजोर स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवका जेठा दाइ कमरेड वीरजङ्ग (चन्द्रबहादुर चन्द) को उपचारका क्रममा दिल्लीस्थित मेक्सिस अस्पतालमा दुःखद् निधन भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । कमरेड वीरजङ्ग नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । रोल्पा जिल्लाको इरिबाङमा २०१७ साल फागुनमा जन्मिनुभएका कमरेड वीरजङ्ग नेकपा मशालदेखि एकताकेन्द्र, माओवादी हुँदै माओवादी नेतृत्वको विचलनपछि पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा रहेर कुशल नेतृत्व गर्दै आउनुभएको थियो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘उहाँ पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध हुँदै माओवादी जनयुद्धको नेतृत्वको विचलन र आत्मसमर्पणका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आउनुभएको थियो । साथै वर्तमान दलाल पुँजीवादी सत्ताका विरुद्ध पनि अविराम सङ्घर्ष गर्दै आउनुभएको थियो । त्यसैले यो प्रतिक्रियावादी सत्ता र सरकारको आँखाको कसिङ्गर बन्दै आउनुभयो । दुई लाइन सङ्घर्ष र वर्गसङ्घर्षमा अत्यन्त कुशल भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका कमरेड वीरजङ्ग जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै सेना र सङ्गठनमा पनि कुशल कमान्डर र कमिसारको भूमिका निर्वाह गर्नुभएको थियो । शान्तिप्रक्रियापछि प्रचण्डको विचलन र आत्मसमर्पणपछि लगातार क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै लुम्बिनी ब्युरो इन्चार्ज, मध्यपश्चिम कमान्ड इन्चार्जको भूमिका पनि कुशलतापूर्वक पूरा गर्दै आउनुभएको थियो । पछिल्लो समयमा केपी ओलीको कथित कम्युनिस्ट सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उहाँलाई एक नम्बरको निशाना बनायो र दुईदुईपटक गिरफ्तार गरी लामो समय जेल र हिरासतको यातना दियो । जेल–हिरासतको यातनाले उहाँको कमजोर स्वास्थ्य अवस्था बिग्रिँदै गयो । ३ बुँदे सहमतिपछि पार्टीको पहलमा अस्वस्थ अवस्थामै रिहा हुनुभयो । बाहिर निस्कसकेपछि उहाँको स्वास्थ्यस्थिति झन् पछि झन् बिग्रिँदै गयो र नेपालमा उपचार सम्भव नभएपछि नेपालका डाक्टरहरूले दिल्लीस्थित मेक्सिस अस्पतालमा रिफर गरे । उहाँको मुटुको अप्रेसनपछि स्वास्थ्यमा सुधार भएन र अन्त्यमा यही २०७८ असोज २८ गते राती अस्पतालमै उहाँको दुःखद् निधन भएको छ । उहाँको यो निधनले सिङ्गो सर्वहारा वर्गीय आन्दोलन, पार्टी र क्रान्तिमा अपूरणीय क्षति पुगेको छ । हामीले एउटा कर्मठ योद्धा, साहसी, इमानदार, क्रान्तिकारी, जोदाहा नेता गुमाउन पुगेका छौँ । उहाँको यो निधनले हामी सबैलाई निकै मर्माहत बनाएको छ ।’

शोक वक्तव्यमा भनिएको छ, ‘उहाँ ९३ वर्षीया आमा, श्रीमती, दुई छोराहरू, दुई दिदीहरू, दुई भाइहरू र एक बहिनी तथा बुहारी, नातीनातिनाहरू, पार्टीका सहयोद्धा, कार्यकर्ता सबैलाई छोडेर दिवंगत हुनुभएको छ । दिवंगत कमरेड वीरजङ्गप्रति केन्द्रीय जनपरिषद् नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको शोकसन्तप्त परिवार, आफन्तजन र सिङ्गो पार्टीपङ्क्तिमा हार्दिक समवेदना व्यक्त गर्दछ । साथै उहाँले छाडेको अधुरो क्रान्तिको जिम्मेवारी पूरा गर्ने प्रण पनि यसै वक्तव्यमार्फत गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :