अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीको प्रदर्शन

अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, नावी, कुटी, गुन्जी र कालापानी लगायतका क्षेत्रमा बसोबास गर्ने जनताहरूको जनगणना गर्नुपर्ने माग राख्दै राजधानीको माईतीघर मण्डलामा दबावमुलक विरोध प्रदर्शन सम्पन्न भएको छ ।

उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले मन्तव्य राख्दै यो देशका राज्य सञ्चालकहरू आजको दिनमा आफ्नो सत्ता र शक्तिको संरक्षणमा मात्रै लिप्त भएको बताए । शाहीले आफ्नो देशको भूगोलभित्र रहेका जनताको विवरण जनगणना जस्तो महत्वपूर्ण तथ्याङ्कमा समेटिनु पर्ने बताएका छन् र जनताको अधिकारलाई सुनिश्चित गर्नु राज्य जिम्मेवार बन्न आग्रह गरेका छन् । सत्ताका बसेका दलालहरूले देखाउने नक्कली राष्ट्रवादको खोक्रो भाषणका कारण पटकपटक नेपाली जनताहरूले सीमा नाकामा, सीमा नजिकका विभागहरूमा वर्षौंदेखि दुःख पाइरहेको उनको भनाइ थियो । उनका अनुसार देशको राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई आँच पुग्न नदिन आफ्नो सङ्गठन जस्तोसुकै बलिदानी गर्न पनि तयार रहेको बताएका छन् र यो राज्य सत्ताले उक्त अतिक्रमित भूभागमा बसोबास गर्ने जनताको तथ्याङ्कलाई सङ्कलन गरेन भने आफ्नो सङ्गठनले जनगणनाको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् । राष्ट्रियताको सवालमा सबै देशभक्त नागरिक एकढिक्का भएर विदेशी साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्न सबै जनतालाई अपिल पनि गरेका छन् ।

विरोध कार्यक्रम सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव मिलन राईले गरेका थिए भने कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरू र जिल्लाका नेताकार्यकर्ताहरूको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :