नेकपाद्वारा तीनबुँदे सहमति कार्यान्वयनका लागि बुटवलमा प्रदर्शन

नेकपाद्वारा तीनबुँदे सहमति कार्यान्वयनका लागि बुटवलमा प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि बुटवलमा दबाबमूलक प्रदर्शन गरेको छ ।

तीनबुँदे सहमति कार्यान्वयनका लागि नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा र्याली प्रदर्शन समेत भएको थियो । पुष्पलाल पार्कदेखि सुरु भएको र्याली प्रदर्शन पुरानो बसर्पामा गएर कोणसभामा परिणत भएको थियो । र्याली प्रदर्शनमा तीनबुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्दा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई तत्काल रिहा गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवाद स्थापना गरौं !, जनमतसङ्ग्रह घोषणा गर !, कालापानी, लिपुलेकको जनगणना गर !, एमसीसी खारेज गरौं !, दलाल संसदीय व्यवस्था मुर्दावाद !, दलालाहरू होसियार ! लगायतका नाराहरू लगाइएको थियो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बुटवल उप–महानगरपालिका सेक्रेटरी विरेन्द्र विकले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति इमानदारपूर्वक तत्काल कार्यान्वयन नभए परिणाम गम्भीर हुने चेतावनी दिए । उनले तीन बुँदेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको तर राज्यले सहमति कार्यान्वयन गर्नुको सट्टा झन् यो वा त्यो बाहनामा सहमतिलाई उल्लङ्घन गर्दै नेकपाका नेता कार्यकर्ताको घरमा पक्राउ पुर्जी टाँस गरेको बताए । विकले तीन बुँदे सहमति पश्चात् आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति, योजना तथा कार्यक्रमहरू शान्तिपूर्वक रुपमा जनताको माँझ लगिरहेको बताए । विकले नेपाली श्रमिक जनताको मुक्ति र चाहना दलाल संसदीय व्यवस्थाबाट सम्भव नरहेको भन्दै जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको र यसको अन्त्य नै उत्पीडित जनताको विजय हुने बताए । उनले एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती भएको भन्दै यसको विरुद्ध निर्मम सङ्घर्ष आवश्यक भएको बताए । उनले नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रमा जनगणना गर्न सम्बन्धित पक्षलाई अपलि गरेका थिए । यदि नेपाली भूमिमा नेपाली जनताको गणना भएन भने त्यसको परिणाम र सङ्घर्ष निर्मम हुने समेत चेतावनी दिए ।

नेकपाका जिल्ला सदस्य तथा विद्यार्थी नेता पारस राहादी मगरले तीनबुँदे सहमति कार्यान्वयन नहुँदा नेपाली जनतामा राज्यप्रति पैदा भएको भ्रम र आक्रोशको परिणाम गम्भीर हुनेमा दुई मत नभएको बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र नेपाली श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति सम्भव रहेको विचार व्यक्त गरेका थिए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत निर्माण गर्न सबैलाई अपिल समेत गरेका थिए ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास लगायत नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, सबै जनवर्गीय संगठनकाका नेताकार्यकर्ता, युवा, विद्यार्थी, मजदुर, व्यापार–व्यवसायी, बुद्धिजीवी, सुरक्षाकमर्मी, पत्रकार लगायतको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रम सहजीकरण नेकपाका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :