नेकपा अछामद्वारा तीन बुँदे कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन

नेकपा अछामद्वारा तीन बुँदे कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन

अछामः नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो । नेकपाको पार्टी कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा गरी बिच बजारमा कोण सभामा परिणत भएको थियो ।
तीन बुँदे सहमति कार्यान्वयन गर, झुट्टा मुद्दा खारेज गर, राजबन्दी रिहा गर, लगायतका नाराहरु लेखिएको ब्यानरसहित उपस्थित कार्यर्ताले नाराबाजी गरेका थिए ।

कोण सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले यो देशलाई दीर्घकालीन शान्ति र आमूल परिवर्तन चाहिएकोले यो कुरा दलाल संसदीय व्यवस्थाबाट सम्भव नहुने बताए । उनले देशमा बढिरहेको भ्रष्टाचार, महंगी, कालोबजारी, तस्करी , करछली र वैदेशिक हस्तक्षेपको विरोध गर्दा दलाल सरकारले आफूहरूमाथि प्रतिबन्ध लगाएको पनि बताए । आफूहरु हारेर थाकेर वार्तामा नआएको तर नेपाली जनताले आह्वान गरेको हुँदा आउँनु परेको कुरा स्पष्ट पारे । उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए दलाल सरकार र त्यसका मतियारहरुले गोलिको आवाज सुन्न बाध्य हुनुपर्ने चेतावनी दिए । नेपाली भूमि कालापानी, लिपलेक, लिम्पियाधुरामा नेपाल सरकारले जनगणना नगरेकोप्रति आपत्ति जनाउँदै कडा सँघर्ष गर्ने चेतावनी समेत दिए ।

उक्त सभामा अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेन्द्र बहादुर शाहीले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको यसको विकल्प वैज्ञानिक समाजवाद भएको हुँदा वैज्ञानिक समाजवादका लागि जनता आतुर रहेको कुरा बताए । त्यसका लागि संयुक्त प्रगतिशील सरकारमार्फत जनमत संग्रहमा जानुपर्ने बताए । उक्त कोण सभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :