नानी, हाम्रो वर्गप्रेम साम्यवाद आएपछि पनि अटल रहनेछ…

जनगणतन्त्र कोरिया यात्रा डायरी

नानी, हाम्रो वर्गप्रेम साम्यवाद आएपछि पनि अटल रहनेछ…

उसले हामीलाई अब एक–डेढ घन्टा आराम गरेर ५ तारे होटेल कोरियोको रेस्टुरेन्टमा डिनरका लागि तयार हुन पनि आग्रह गरी । एकाएक मिस जिनको अनुहार मलीन देखियो । मैले सोधैँ, ‘मिस जिन, तिमी अघिसम्म त हँसमुख थियौ, एकाएक किन अँध्यारो भयो तिम्रो मुहार ?’ उसले समूहबाट मलाई अली पर लगी र भनी, ‘सरी मिस्टर अशोक, आजको तिम्रो डिनर हाम्रो पार्टीका वरिष्ठ नेताहरू र सम्मलेन आयोजक संस्थाका अग्रज नेताहरूका साथ हुँदैछ । सोच्थेँ, एक दिन, एक छाक भए पनि तिमीहरूसँगै खाना खाऊँ, गम्भीर कुराहरू गरूँ र अझै रमाऊँ तर… तर यो डिनरमा हामी सँगै हुनेछैनौँ… ।’

लेखक : अशाेक सुवेदी

उसले अलि पर उभिएकी अग्ली, गोरी, गोलो अनुहार भएकी एक युवतीतिर औँल्याउँदै भनी, ‘आज तिमीलाई ऊः ती कमरेडले सहयोग गर्नेछिन् । उनको नाम मिस किम सु र्योन हो ।’मिस जिनले मलाई ती युवतीनजिकै लगेर परिचय गराई, ‘उहाँ मिस्टर अशोक सुवेदी । नेपालका क्रान्तिकारी कम्युनिस्ट लेखक/पत्रकारहरूको संस्था नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको अध्यक्ष र यो टोलीको संयोजक पनि । आज तिमीले यो टोलीको संयोजन गर्नुपर्नेछ… ।’ मिस किम सु र्योनले ‘हाई अशोक’ भन्दै न्याना र सुकोमल हातहरू मिलाई र भनी, ‘मिस्टर अशोक, अहिले तिमी आफ्नो समूहलाई लिएर आफ्नो कोठामा जाऊ र आराम गर । ठीक सात बजे लबीमा झरेर डिनरका लागि जानुपर्छ । त्यहाँ विशेष कार्यक्रम, परिचय र बहस हुँदैछ । साथमा भोजन पनि…।’ मिस किम सुसँग छुट्टिएर अलि वर आएपछि फेरि मिस जिनले भनी, ‘मलाई माफ गर्छौ नि ! स्थानको सीमितताले गर्दा आज म तिमीसँग डिनर र होस्टसहितको कार्यक्रममा जान पाउँदिनँ क्या ! किम सुले मेरोभन्दा बढी हेरचाह र सहयोग गर्नेछिन् । उनी मभन्दा सिनियर हुन्…।’

मलाई अलि खिन्न लागिरहेको थियो, दुई दिनमै यो केटी कति झ्याम्मिई भने मानौँ बर्साैँदेखि एउटै आन्दोलनमा छे र लामो समयसम्म दुःखसुख साटिरहेकी छे । मैले गतसाल सेप्टेम्बरको यही डिनर कार्यक्रम सम्झिएँ । त्यतिबेलाको इन्टरप्रेटर मिस्टर ओ पनि हामीसँग जान पाएको थिएन र हामीलाई अर्काे शङ्कर भरती समूहकी इन्टरप्रेटरले सहयोग गरेकी थिई । ‘म रिसाएको वा दुःखी भएको छैन मिस जिन तर आजको कार्यक्रममा हामी सँगै भएको भए कति रमाइलो हुन्थ्यो ! तर पनि केही छैन । बरु तिमी दुःखी नहोऊ । तिमी जान पाइनौ, अर्काे साथीको व्यवस्था गरिदियौ । यो त हाम्रा लागि खुसीको कुरा हो नि, हैन र ?’

कोठामा पुगेर एक छिन आराम गरेपछि कार्यक्रम र डिनरमा जान तयार हुनुअघि केही पुस्तक, संस्थाको लोगो, टोपी, गन्जी र ब्यानर एउटा झोलामा खाँदेर बोकेँ । कोरियासम्बन्धी मेरो पुस्तकको लोकार्पण र परिचर्चा कोरियामा संसारभरबाट भेला भएका समाजवादका पक्षधर र जुछे विचारका समर्थकहरूका बीचमा हुनेछ भनेर थोरै सङ्केत मात्र गरेको थिएँ मिस जिनलाई । नेपालस्थित कोरियाली दूतावासका कन्सुलर मिस्टर किम सु होले उहीँ पुगेर आफ्नो इन्टरप्रेटरसँग कुरा मिलाऊ र कार्यक्रम तय गर भनिसकेका थिए । यो पुस्तकको प्रथम संस्करणको लोकार्पण कास महासचिव री सोङ चोल, कोरियाका राजदूत कमरेड किम योङ हक, नेकपाका स्थायी समिति सदस्य क. धर्मेन्द्र बास्तोलाले धुलिखेलमा गत नोभेम्बरमा संयुक्त रूपमा गर्नुभएको थियो । पुस्तक लोकार्पणको औपचारिक प्रक्रिया त्यति जान्दा रहेनछन् कोरियालीहरू भन्ने लाग्यो मलाई किनकि पुस्तक लोकार्पण गर्न लाग्दा कसरी गर्ने, कता देखाउने, कतिवटा देखाउने ? यस्ता प्रक्रिया पनि हामीले सिकाउनु परेको थियो । मिस जिनलाई पनि पुस्तक लोकार्पण र परिचर्चाका बारेमा बुझाउन गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो । आजको कार्यक्रममा आउने प्रमुख अतिथि को होला ? पोहोरजस्तै कोरियाली वर्कर्स पार्टीका वरिष्ठ उपाध्यक्ष किम की नाम आउने होलान् कि अरू नै ? मनमा यस्तै कुरा खेलाउँदै म साथीहरूलाई लिएर लबीमा झरेँ । सबै देशका प्रतिनिधिहरू धमाधम भेला भइरहेका थिए । अलि पल्लो छेउबाट अग्ली, पुतली/खेलौनाजस्तै लाग्ने मिस किम सु र्योन हात्तीजस्तै लमकलमक गरेर हामीतिरै आइरहेकी थिई । हातभरि सामान देखेर अल्मलिई होला सायद, सोधी, ‘तिमीले सामान पो बोकेका छौ त मिस्टर अशोक !’ मैले आजको औपचारिक कार्यक्रममा समय मिले पुस्तक लोकार्पणसम्म गर्ने बताएँ । ऊ झन् अलमलमा परी । पुस्तकका बारेमा उसलाई केही थाहा छैन । सायद मिस जिनले पनि उसलाई केही भनेकी छैन । दिउँसोसम्म ऊ अर्कै समूहकी इन्टरप्रेटर थिई । तहमा ऊ अलि वरिष्ठ थिई होली र आजको डिनर होस्ट कार्यक्रममा हाम्रो संयोजन गर्ने जिम्मा पाई । गतसाल मिस्टर ओले पनि यस्तै नमीठो अनुभूति गरेको महसुस गरेको थिएँ । आजको जस्तो कार्यक्रम र राष्ट्रिय दिवसमा ऊ पनि जान पाएको थिएन ।

‘बेला भयो मिस्टर अशोक, हिँड डिनरमा । साथीहरूलाई पनि बोलाऊ…’, मिस किम सु र्योनले भनी । यो अलि गमिली छे । धेरै बोल्न पनि खोज्दिन र धेरै जिज्ञासा पनि राख्दिन । उसको स्वभाव नै अलि भिन्न लाग्छ मलाई । केही सोध्यो भने मुसुक्क हाँसिदिन्छे र १/२ शब्द तौलेर बोलिदिन्छे । गतसाल रामप्रसाद ज्ञवाली समूहकी दोभासेजस्ती कडा छैन यो । अलि बढी नै भलाद्मी देखिन्छे । उमेर मिस जिनको जस्तै होला ! हलक्क बढेकी छे । कालो रङको पोसाकमा असाध्यै सुहाएको छ उसलाई । थपक्क कुर्सीमा बसिरहँदा मूर्ति वा कपडा पसलमा सजाएर राखेकी ‘डमी’ जस्ती लाग्छे । ‘भोलि कुनै देशका राजदूत वा कन्सुलर बन्ने होलान् मिस जिन, मिस्टर ओ र मिस किम सुहरू…’ यस्तै सोच्छु । कूटनीतिज्ञहरू धेरै बोल्दैनन्, सुन्छन् र तौलेर बोल्छन् भन्ने सुनेको छु मैले । हामी लेखक र पत्रकारहरूलाई धेरै बुझ्नुपर्छ । कतिपयलाई त बुझेको भन्दा पनि धेरै बोल्नुपर्छ, सबैभन्दा जान्ने आफैँ मात्र भएजस्तो । कोरियालीहरूबाट हामीले यो पनि सिक्नुपर्छ । टेबुल नम्बर ७ मा पुर्याई हामीलाई मिस किम सु र्योनले । भव्यतापूर्वक सजाइएको छ रेस्टुरेन्ट । हरेक टेबुलमा किसिमकिसिमका खाना सजाइएको छ, चौरासी व्यञ्जन यसैलाई भनिन्छ सायद । पूर्वउत्तरतर्फ सामान्य मञ्चजस्तो बनाइएको छ । एउटा छोटो कार्यक्रम हुन्छ, कासका अध्यक्ष, उपाध्यक्षहरू देखिन्छन् । हेर्दाहेर्दै निकै अग्ला, पाका, व्यक्तित्वका धनी, कोरियाली वर्कर्स पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड किम की नाम आउँछन् । सबैले जोडदार तालीले स्वागत गर्छन् उठेर । १० मिनेटजति प्रवचन चल्छ । सबै आआफ्नो गोल कुर्सीबाट मञ्चतिर फर्किएपछि जुछे विचार, कास, अन्तर्राष्ट्रिय सम्मेलन, साम्राज्यवादको पछिल्लो अवस्था र जनगणतन्त्र कोरियाले गरेको भव्य तयारीबारे जानकारी गराइन्छ । पार्टी उपाध्यक्षले होस्ट गरेपछि सुरु हुन्छ डिनर । डिनरमा साँच्ची नै चौरासी व्यञ्जन छ । वेटरहरू आएर प्लेटप्लेटमा खाना राख्न थाल्छन् । मिस किम सु हामी नजिकै बसेकी छे र ऊ हामीलाई खाना खान प्रोत्साहित गरिरहेकी छे । ‘मिस्टर अशोक, तिमी कुन ड्रिङ्क्स लिन्छौ ? स्वास्थ्यलाई ध्यान दिएर राम्ररी इन्जोय गर । मिस जिनले तिम्रो अलि ख्याल गर्नु भनेकी छे…’ अहिले भने अलि खुलेर बोली मिस किम सु । उपाध्यक्ष किम की नाम सबै टेबुलमा होस्ट गर्न आउन थाले । भेटघाट र कुराकानी, चिनजान चल्न थाल्यो ।

त्यसपछि हामीले कमरेड्ली न्याना हात मिलायौँ ‘मिस किम सु, आज पुस्तक लोकार्पण त हुँदैन तर हाम्रो संस्थाका केही उपहार पार्टी उपाध्यक्ष कमरेडलाई हस्तान्तरण भने गर्नुपर्ला…’ मैले भनँे । यसो भन्दाभन्दै कासका एसिया निर्देशक किम चोल हो मनजिकै आएर अँगालो हाले । उनले ठट्टा गर्दै भने, ‘मिस्टर अशोकलाई त म चिन्दैचिन्दिनँ क्यारे… !’ मिस किम सु अन्योलमा परी । उसलाई मेरो र किम चोल होको परिचय पुरानै हो, नेपालमा पनि हामी केही दिन सँगै बसेर कार्यक्रम गरेका छाँै भन्ने थाहा थिएन । उनले अँगालो मार्दै ‘तस्बिर खिचाउन सक्छौँ कि’ भनी सोधे । मैले ‘यो त हाम्रा लागि राम्रो अवसर पनि हो’ भनँे र हाम्रो समूहका सबैजनालाई एसिया निर्देशकसँग परिचय गराएँ । उनले खुसी हुँदै हात मिलाए । मैले कोरियासम्बन्धी एउटा पुस्तक निकालेर उनलाई देखाएँ । त्यसमा उनी नेपाल आउँदा धुलिखेलमा खिचिएको सामूहिक तस्बिर र उनको क्यामेराले खिचेको हामी दुईजनाको तस्बिर पनि थियो । उनले पुस्तकका पाना पल्टाउँदै ती तस्बिरहरू पनि हेरे र अचम्मित हुँदै मतिर हात बढाए । हामीले फेरि दोहोर्याएर न्याना कमरेड्ली हात मिलायौँ ।

कोरियाली वर्कर्स पार्टीका उपाध्यक्ष कमरेड किम की नामलाई मञ्चको चिनो किम चोलले यो काम आफूबाट गर्दा त्यति उचित नहुने भएकाले पूरै समूहका सदस्यलाई उपाध्यक्ष भएको ठाउँमा पुर्याउँदै परिचय गराउने र त्यही बेलामा प्रदान पनि गर्न सकिने सुझाव दिए । हामी उपाध्यक्षलाई भेट्न जान लागेको थाहा पाएर मिस किम सु र्योन हतारहतार आफ्नो कुर्सीबाट उठी र हामीसँगै हिँडी । भीडभाड छिचोल्दै उसले हामीलाई कोरियाली वर्कर्स पार्टीका वयोवृद्ध नेता किम की नामसम्म पुर्याई र आदरपूर्वक झुकी । मैले उनैको सुझावअनुसार हाम्रो टोलीका कमरेड पूर्णबहादुर सिंह, क. हस्तबहादुर केसी, प्राडा सुरेन्द्र केसी, सरोज भण्डारीलगायतलाई परिचय गराउन लिएर गएँ र हाम्रो संस्थाका प्रतिनिधिहरूको सङ्क्षिप्त परिचय गराउँदै गतसाल पनि हाम्रो भेट भएको र आनन्द लागेको सुनाएँ । पुस्तकमा प्रकाशित हाम्रो संयुक्त तस्बिर देखेर कमरेड किम की नाम औधी खुसी भए । मैले संस्थाको लोगो, लोगो अङ्कित टोपी, टिसर्ट र पुस्तक प्रदान गरेँ । उनले खुसी हुँदै भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो । तपाईंको संस्थाका प्रतिनिधिहरूसँग परिचय गर्न पाउँदा धेरै खुसी लाग्यो ।’ अरू सदस्यहरू आआफ्नो टेबुलमा फर्किएपछि वृद्ध नेताले इन्टरप्रेटर मिस किम सुमार्फत थप जिज्ञासा राखे । मैले हामी अधिकांश माओवादी कम्युनिस्ट रहेको, सबै लेखकका साथै पत्रकारसमेत रहेको र समूहमा एकजना मात्र पार्टी सदस्यता नलिएका राजनीतिक विश्लेषक रहेको सुनाएँ । उनले नेपालमा के हुँदैछ भनेर जिज्ञासा राखे । मैले ‘हामी एकीकृत जनक्रान्तिमा छौँ’ भनेँ । कोरियाली जनताले विश्वसाम्राज्यवादको नाइकेलाई थरथर कपाएको सन्दर्भले नेपाली देशभक्त र क्रान्तिकारीहरूलाई पनि ऊर्जा प्राप्त भएको निष्कर्ष राख्दै गर्दा किम सु र्योन मसिनो आवाज निकालेर आफ्ना अग्रज नेतालाई आफ्नो भाषामा मेरो भनाइको परी लगाउँदै थिई । फेरि हात मिलाएर म आफ्नो सात नम्बर टेबुलतर्फ फर्किएँ । हामी फर्किंदा कासका एसिया निर्देशक किम चोल हो हामीलाई हेरेर गर्व गरिरहेका थिए भने किम सु र्योन लामो र कठिन उकालो यात्रापछि चौतारीमा बसेर सुस्ताएको थकित बटुवाले यात्रा बाँकी रहेको उकालोतिर हेरेर सुस्केरा हालेझैँ क्वारक्वार्ती मलाई हेरिरहेकी थिई । सोच्दै थिई होली, ‘यो समूहको संयोजन गर्न पाएकाले मैले पनि पार्टी उपाध्यक्षलाई यिनका कुरा सुनाउन पाएँ । यी त कत्ति हिम्मतिला रहेछन् । निर्धक्क भएर आफ्ना कुरा राखे…!’ निर्देशक किम चोल हो मलाई खाना खान हौस्याइरहेका थिए भने बेलाबेलामा प्रतिक्रिया पनि सोधिरहेका थिए । मिस किम सु अलि लजाउँदै र धकाउँदै चौरासी व्यञ्जनमध्ये २/४ व्यञ्जन मात्र लिइरहेकी थिई । उसले भनी, ‘मिस्टर अशोक, अलि खुलेर खाऊ न । अब त त्यति महत्वपूर्ण काम पनि सकिसकेका छौ ।’ उसले पनि प्लेटमा केही खानेकुरा थपिदिई । किम चोल होले पनि केही थपिदिए । उपहार दिने काम सकिएकाले म पनि आनन्दित भएर डिनर लिइरहेको थिएँ । ९ बजिसकेको थियो । उपाध्यक्ष सबै समूहसँग भेटघाट र छलफलमा व्यस्त थिए । ९ः३० तिर उनको टोली फेरि मञ्च भन्न मिल्ने ठाउँमा एकत्रित भयो । सबैले उनीहरूलाई तालीको गडगडाहटले बिदा गर्न लागे । मैले पनि ताली बजाउँदै सोचेँ, ‘कति साधारण मान्छे रहेछन् ! पक्कै यिनले पनि किम इल सुङ र किम जोङ इलको नेतृत्वमा लडाइँका कयौँ मोर्चा लडेका थिए होलान् । हजारौँ, लाखौँ योद्धाका शवहरू कुल्चिएर साम्राज्यवादलाई धुलो चटाउन र कोरियालाई मुक्त बनाउन यिनीहरूले साँच्चै हृदयदेखि ठूलो त्याग, समर्पण, शौर्य र बलिदानीभावका साथ लडेकैले आज उनीहरू देश, विचार, व्यवस्था सबै क्षेत्रमा श्रेष्ठ भएर बाँचिरहेका छन् । यिनको त्याग, समर्पण, निःस्वार्थ भावनाका कारण आज कोरिया मुक्त छ, समृद्ध छ र श्रेष्ठ विचार र शक्तिका साथ विश्वकै उत्पीडित देश र जनताको मुटुको ढुकढुकी बनेको छ । यसकै निःस्वार्थ मायाले हामी लोभिएका छौँ र वर्गीय ममता साटिरहेका छौँ । जनताको आँखाको नानी र मुटुको धड्कन बनेका छन् यी अग्रजहरू । त्यसैले त आदर्श छन्… । उठेर ताली बजाउँदाबजाउँदै म यही सोचिरहेको थिएँ ।

एक्कासि मिस किम सु र्योन आएर मलाई कुर्सीमा बसाई र खाना थपेर खान आग्रह गरी । म भने खाना र उनीहरूको वर्गीय मायाले एकसाथ अघाइसकेको थिएँ । उसले भनी, ‘तिम्रो संस्थाको उपहार लिएपछि उपाध्यक्ष कमरेडले धेरै सराहना गर्नुभयो र भन्नुभयो– हाम्रो वर्गप्रेम साम्यवाद नआउँदासम्म र आइसकेपछि पनि अटल रहनेछ …।’ मिस जिन खुसी भई मन र मुटुभरि कोरियाली मायालु नेता र कार्यकर्ता अनि दोभासेहरू र जनताको माया बोकेर त्यो विशेष कार्यक्रमबाट हामी लबीमा निस्कियौँ । ‘डिनरपछि लबीमा भेटौँला है !’ दिउँसो मिस जिनले भनेकी थिई । लबीमा निस्किँदा रात छिप्पिन लागिसकेको थियो । दोस्रो तलामा एउटा कुर्सीमा मोबाइल खेलाएर बसिरहेकी रहिछे मिस जिन । देख्नेबित्तिकै दगुर्दै आई र सोधी, ‘कस्तो भयो कार्यक्रम ? कोको नेतालाई भेट्यौ ? खाना त राम्ररी खायौ नि ? कत्तिको सहयोग गरी मिस किम सु र्योनले ? ऊ मभन्दा सिनियर हो, पक्का पनि तिमीलाई राम्ररी बुझी होली… ।’

मैले सविस्तार घटनाहरू बताइदिएँ । कासका एसिया निर्देशक डिनरभरि हाम्रै समूहमा बसेको, उपाध्यक्ष कमरेडसँग सामूहिक परिचय गर्दै उपहार प्रदान गरेको, किम सुले राम्रो सहयोग गरेको बताएपछि ऊ मभन्दा खुसी देखिई । मैले यसै खुसीयालीमा दोस्रो तलाको भित्ताको आकर्षक दृश्यलाई पृष्ठभाग बनाएर संयुक्त तस्बिरका लागि अनुमति मागेँ । ऊ तयार भई । कमरेड पूर्ण र मिस जिन, मिस जिन र म, सुरेन्द्र के.सी. र म… यसरी हामीले कार्यक्रम सफलताको खुसीयालीमा तस्बिर खिचायौँ । बङ्गलादेशकी अधबैँसे महिला प्रतिनिधि आइन् र ‘हेलो नेपाली कमरेड्स’ भन्दै सुरेन्द्र दाइ र मेरा हात आफ्नो काँधमा राखेर तस्बिर खिचाइन् । सुरेन्द्र हच्किँदै हुनुहुन्थ्यो, उनले आफ्नो क्यामेरामा पनि त्यो दृश्य हामीसँग कैद गरेरै छोडिन् । त्यसपछि हामी बिदा हुनुभन्दा अघि मिस जिनले भनी, ‘अब खुरुक्क कोठामा गएर आराम गर । तिमी आज सफल भएका छौ । भोलि बिहानको कार्यक्रमका लागि म तिमीलाई कोठामा फोन गर्नेछु’, यति भनेर बाई गर्दै ऊ अलप भई ।

मिस जिन हुईलाई नाउँ उपहार अप्रिल १५ कोरियामा विशेष उत्सवको दिन हो । सन्स डे अर्थात् सूर्याेदय दिवस । मिस जिनले भोलि सन्स डेमा जानका लागि रित्तो शरीर मात्र लान पाइने जानकारी दिँदै ब्रेकफास्ट लिएर पौने आठ बजे लबीमा समूहसहित आइपुग्न उर्दी जारी गरी । फोन राख्दाराख्दै उसले भनी, ‘भोलि हाम्रो विशेष दिन हो । तिमीले विशेष दिनमा आफ्ना आँखा र हृदयले विशेष कार्यक्रमहरू हेर्नेछौ । मोबाइल, क्यामेरा, धातुजन्य पदार्थ केही नबोक नि ! साथीहरूलाई पनि यही सुनाइदेऊ, गुडनाइट !’

बिहान ब्रेकफास्टपछि मिस जिन लबीमा राष्ट्रिय पोसाक लगाएर पुतलीजस्ती बनेर देखापरी । उसले भनी, ‘यो हाम्रो राष्ट्रिय पोसाक हो, तिमीलाई कस्तो लाग्यो त ? राष्ट्रिय पोसाकमा मिस पाक जिन हुई असाध्यै खुलेकी थिई । हाम्रो समूहका अरू साथीहरूले पनि उसको राष्ट्रिय पोसाकको प्रशंसा गरे । हाम्रो शेर्पा समुदायकी किशोरीजस्तै देखिई ऊ । मैले उसलाई एउटा प्रस्ताव राखेँ, ‘मिस जिन, तिमीलाई एउटा नेपाली नाउँ उपहार दिऊँ है ?

‘के हो त्यस्तो नाउँ ! खिसी गर्न लागेका त हैनौ नि ? उसले जिज्ञासा राखी । ‘नानी भन्छौँ ल तिमीलाई हामी आजदेखि । तिमीलाई समस्या हुँदैन भने कुनै पनि बेला यही नाउँले बोलाउँछौँ । समस्या हुन्छ भने औपचारिक नाउँले बोलाउँछौँ । समस्या हुन्छ भने अनौपचारिक यात्राहरूमा मात्र नानी भन्छौँ ।’ मैले भनेँ ।

‘हुन्छ । सुन्दा त राम्रै लाग्यो तर के हो यो नानी भनेको ?’, उसको जिज्ञासा स्वाभाविक थियो । ‘नानी भनेको प्रिय नाउँ हो । बाबुआमाले छोरीलाई, दाजुदिदीले बहिनीलाई, साथीहरूले आफ्नी प्यारी साथीलाई मायाले बोलाउने नाउँ हो यो । तीन दिनमै तिमी हाम्रो समूहको हृदयमा बसिसक्यौ र हामीलाई पनि आफ्नो मनमा बसाल्यौ । त्यसैले तिमीलाई एउटा नेपाली नाउँ उपहार दिन मन लाग्यो’, मैले भनेँ । उसले गुनगुनाउँदै एकदुईपल्ट नाउँ दोहोर्याई, ‘नीना, नीना…।’
‘सुन्दा कस्तो सुनिन्छ ?’ उसले जिज्ञासा राखी ।

‘निना हैन लाटी नानी हो नानी । भन्दा, सुन्दा र अर्थ लगाउँदा राम्रो छ’, मैले थपेँ ।
पूर्ण, सरोज, हस्त दाइ, सुरेन्द्र दाइ सबैले एकसाथ ‘नानी, नानी’ भन्नुभयो । ऊ फुरुङ्ग परी । दोहोर्याई, ‘ल, म आजदेखि नानी भएँ ।’ उसले फेरि भनी, ‘म के भएँ रे ?’

(शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा, २०७४ बाट साभार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :