२६ दलले २२ गते राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने

२६ दलले २२ गते राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीको विरोधमा आन्दोलनरत २६ दलीय मोर्चाले यही असोज २२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ ।

एमसीसीविरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएको उक्त मोर्चाले एमसीसी कुनै पनि समय नेपालका संसद्बाट पारित हुन सक्ने भन्दै निरन्तर विरोध गर्दै आएको छ ।

एमसीसी खारेजी अभियानको मङ्गलबार ललितपुरको कुपन्डोलमा सम्पन्न बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी–सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्तिकेन्द्रहरूको दलाल सरकारले यो राष्ट्रघाती सम्झौता कुनै पनि बेला अनुमोदन गराउन सक्छ भन्दै यसलाई खारेज नगराउँदासम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको छ ।

एमसीसी विरोध कार्यक्रम असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर संसद् भवनअघि पुगी विरोधसभा गर्ने निर्णय भएको बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै बैठकले विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरू, सङ्गठनहरू र व्यक्तिहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

विगतको केपी ओली सरकार र विप्लवले नेतृत्व गरेको नेकपाका बीच फागुन २१ मा भएको लिखित सहमतिअनुसार नेकपाका सबै नेता–कार्यकर्ता रिहा भइसक्नुपर्नेमा अदालती प्रक्रिया पूरा गरेर थुनामुक्त भएकाबाहेक कसैलाई रिहा नगरिएको भन्दै लिखित सहमतिमा उल्लिखित सर्तका आधारमा उक्त पार्टीका नेता र कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न उक्त बैठकले सरकारसँग माग गरेको छ ।

यस्तै २०६४ साल माघ १० मा भारतको जीएमआर.कम्पनीसँग तत्कालीन नेपाल सरकारले गरेको सम्झौतालाई १४ वर्षदेखि झुलाएर राख्ने र सम्झौतामा भएका कुनै पनि सर्त पूरा नगर्ने काम हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जीएमआर धोकेबाज कम्पनीसँग भएको सम्झौता खारेज गरी कुनै हालतमा म्याद थप नगरी क्षतिपूर्ति भराउने र माथिल्लो कर्णाली परियोजनालाई माथिल्लो तामाकोसीको मोडेलमा नेपाल सरकारले आफैँले सञ्चालन गर्ने काम अगाडि बढाओस् भन्ने यो बैठक जोडदार माग गर्दछ ।’
एमसीसी सम्झौता खारेजी आन्दोलनमा आबद्ध दल÷सङ्गठनहरू यसप्रकार रहेका छन् :

१. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (माले) ३. नेपाल कम्युनिस्ट पार्टी ४. नेपालका लागि नेपाली ५. उन्नत लोकतन्त्र पार्टी ६. नेपाल कम्युनिस्ट पार्टी ७. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ९. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १४. नेकपा (बोल्सेबिक) १५. एमसीसी खारेज अभियान १६. पुष्पलाल अध्ययन समाज १७. स्वतन्त्र राष्ट्रिय अभियान १८. नेकपा माक्र्सवादी (पुष्पलाल) १९. राष्ट्रिय जागरण अभियान २०. नेकपा (जनवादी) २१. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) २२. माक्र्सवादी एकता अभियान २३. नेकपा (माक्र्सवादी) २४. राष्ट्रिय समाजवादी मञ्च, नेपाल २५. राष्ट्रिय जागरण परिषद् नेपाल २६. समाजवादी ज्ञान केन्द्र रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :