क्रान्ति पूरा गर्न क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी अनिवार्य : महासचिव विप्लव

वैज्ञानिक समाजवादबारे गम्भीर छलफल र बहस गर्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षण आज सकिँदै

क्रान्ति पूरा गर्न क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी अनिवार्य : महासचिव विप्लव

पर्सा (चितवन) : नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण चितवनको पर्सामा जारी छ । बुधबार दिउँसोसम्म पार्टीका ९७ सेक्रेटरीले भौगोलिक, विभागीय क्षेत्रको रिपोर्टिङ गरिसकेका छन् । बुधबार मध्याह्नसम्म डोल्पाका धमिल, बझाङका कमल, भारत हिमाञ्चल प्रदेशका रामचन्द्र, नवलपरासीका धीरज, जनसेवकका शीतल, गुल्मीका हिमाल, स्याङ्जाका सुजन, मध्यपूर्वका रेशम, लुम्बिनी जनसेवकका हेमन्त, मुस्ताङका नवीन, केन्द्रीय अर्थ विभागका सुवर्ण, धादिङका कुशल, गण्डकी जनसेवकका सङ्घर्ष, अन्तर्राष्ट्रिय विभागका पावेल, रसुवाका विराज, केन्द्रीय स्कुलिङ विभागका गति, जनसेवकका अजय, सर्लाहीका मोहन, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अशोक सुवदी, युवा जनस्वयम्सेवकका अध्यक्ष पाटन, तेह्रथुमका विशाल, जनकपुर जनसेवकका अभय, जवस मोर्चाका तर्फबाट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, हुम्ला जिल्ला सेक्रेटरी निर्माण, दलित मुक्ति माेर्चा नेपालकी उपाध्यक्ष सीता विकले रिपोर्ट प्रस्तुत गरेका छन् ।

यसअघि प्रशिक्षण कार्यक्रमको पहिलो र दोस्रो दिन देशका विभिन्न जिल्लाका सेक्रेटरीले जिल्लामा भएगरेका कामको रिपोर्ट राखेका थिए । पहिलो दिन सोमबार रिपोर्ट राख्ने क्रममा काठमाडौँबाट तुल्सीनारायण, रोल्पावाट दिनेश, कालीकोटबाट रणदीप, कपिलवस्तुबाट कमल, मकवानपुरबाट विनोद, भोजपुरबाट नवीन, बझाङबाट विराट, जाजरकोटबाट अनन्त, दाङबाट प्रदीप, रूपन्देहीबाट विश्वास, बर्दियाबाट गणेश, सप्तरीबाट रेखा, कास्कीबाट गोकुल, काभ्रेबाट प्रताप, उदयपुरबाट लक्ष्मण, ताप्लेजुङबाट असल, कञ्चनपुरबाट जीवन, सुर्खेतबाट धु्रव, सल्यानबाट नारायण, अर्घाखाँचीबाट माहुरी, म्याग्दीबाट दीपा, दार्चुलाबाट सुवास, सिन्धुलीबाट गोपाल, मोरङबाट नरेश र सङ्खुवासभाबाट युवराजले रिपोर्टिङ गरेका छन् ।

त्यसैगरी मङ्गलबार रिपोर्ट पेस गर्नेहरूमा झापाबाट प्रशान्त, कैलालीबाट सङ्गम, बाँकेबाट अनिल, मुगुबाट समाज, पश्चिम रुकुमबाट चन्द्र, बागलुङबाट आकाश, चितवनबाट मीनप्रसाद, ललितपुरबाट विशाल, दोलखाबाट माधव गौतम ‘आकाश’, रौतहटबाट कुमार, सिराहाबाट सुशील, खोटाङबाट जीवन, इलामबाट जितमान, सुर्खेत विशेष जिल्ला डी वानबाट सरिता, बैतडीबाट लक्ष्मण, जुम्लाबाट प्रभावित, प्युठानबाट अजय, नवलपुरबाट शीतल, गोरखाबाट कपिल, उत्पादन विभागबाट मनिराज, भक्तपुरबाट विजय, मकवानपुर डीवानबाट मिङ्मार, सिन्धुपाल्चोकबाट युगीन, बाराबाट रक्तिम, धनुषाबाट सन्तोष, सोलुखम्बुबाट निमा, पाँचथरबाट सन्तोष, विशेष जिल्ला कैलालीबाट विमल, प्रवास भारतबाट दामोदर, दैलेखबाट दीपेन्द्र, पाल्पाबाट भुवन, पर्वतबाट अनन्त, लमजुङबाट आक्रोश, प्रवासबाट गोविन्द, काठमाडौँ डी वानबाट कुमाल, रामेछापबाट इन्द्र, पर्साबाट गणेश, प्रवास मुम्बैबाट झरना, धनकुटाबाट नवीन, बाजुराबाट एन्डिज, अछामबाट सङ्घर्ष, डोटीबाट ध्रुव, उत्तरप्रदेशबाट दीपक र डँडेल्धुराबाट विजय थिए ।

सोमबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सही विचार क्रान्तिको प्रमुख सर्त भएको बताएका थिए । क्रान्तिकारी आन्दोलनका लागि सही क्रान्तिकारी विचार निर्माण गरिसकेपछि त्यो विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने स्पष्ट पार्दै महासचिव विप्लवले क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको रहेको बताएका छन् ।

चितवनको पर्सामा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै महासचिव विप्लवले भने, ‘कैयौँ मान्छेका अनुमानहरूलाई असफल गर्दै हामीले सही क्रान्तिकारी कार्यदिशा बनायौँ र त्यसलाई लागू गर्यौँ । संसद्वादका विरुद्ध हामीले धावा बोल्यौँ र विद्रोह गर्यौँ । यो धेरैलाई विश्वास थिएन । दलाल पुँजीवादविरुद्धको विद्रोहको प्रमाण आजको कार्यक्रम हो । यो संसद्वादका विरुद्धको विद्रोह र सफलता हो । ठूला–ठूला धक्काहरूको बीचबाट, थुप्रै खालका सफलता–असफलताहरूका बीचबाट मात्र यो सफल हुनेछ । हामीले जनयुद्धको रगतमा एकीकृत जनक्रान्तिका १२ जनाको रगत मिसाएर आएका छौँ । एकीकृत जनक्रान्तिको प्रक्रियामा १२ जना कमरेडको रगत बगेको छ भने २५ सयभन्दा बढी कमरेडको जेल–नेल र झूट्टा मुद्दा बेहोरेका छौँ ।’

आफ्नो पार्टीले एकीकृत जनक्रान्तिका ७ आधार पेस गर्दै जनक्रान्तिको संश्लेषण गरेर जनतामा गएको र अन्तिम सफलताको शिखरतिर अघि वढ्ने र विजय प्राप्त गर्ने क्रान्तिकारी पार्टी निर्माण भइरहेको बताएका छन् । उनले भने, ‘कमरेड माओले भनेझैँ क्रान्ति भनेको गतिमा हुन्छ । गतिशील भएन भने क्रान्ति सम्भव छैन । पुराना चिन्तनहरूलाई नभत्काएसम्म हामी सफलता प्राप्त गर्न सक्दैनौँ ।’ अहिले भइरहेको पार्टीको प्रशिक्षण संसद्वाद र फासिवादविरुद्धको विजयको सङ्केत भएको भन्दै निःसर्त क्रान्तिमा हामफाल्ने पङ्क्ति जरुरी भएको महासचिव विप्लवले बताए । दलाल सत्ताका विरुद्ध विद्रोह नगरी क्रान्ति सम्भव नभएको भन्दै महासचिव विप्लवले वैचारिक रूपमा स्पष्ट, राजनीतिक रूपमा सशक्त र साङ्गठनिक रूपले विशाल जनाधार भएको पार्टी आवश्यक भएकाले उक्त पार्टी निर्माणको दिशामा आफ्नो पार्टी अघि बढिरहेको उनको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता प्रकाण्डले पुराना चिन्तन र आदतहरूलाई नभत्काएसम्म नयाँ क्रान्तिकारी पार्टी निर्माण हुन नसक्ने भन्दै प्रकाण्डले नयाँ क्रान्तिकारी पार्टी निर्माणकार्यमा अहिले भइरहेको प्रशिक्षण एक ऐतिहासिक प्रक्रिया भएको बताएका थिए । दलाल संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने क्रममा २ वर्ष लामो प्रतिबन्ध बेहोरेर आएपछिको यो प्रशिक्षणमा नेता–कार्यकर्ताबीच जीवन्त छलफल हुने र त्यो छलफलको निष्कर्ष पार्टी र क्रान्तिका लागि ऊर्जा बन्ने उनले बताए ।

उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान संसदीय व्यवस्था दिनप्रतिदिन सङ्कटमा पर्दै गएको बताएका छन् । नेता कञ्चनले वर्तमान संसदीय व्यवस्था अब जतिसुकै कोसिस गरे पनि उठ्न नसक्ने अवस्थामा पुगेको बताए । यो व्यवस्थामा समाजमा हत्या, हिंसा बलात्कार र मुख्य गरी भ्रष्टाचार बढेर गएको प्रस्ट पार्दै नेता कञ्चनले वैचारिक हतियार ठीक ढङ्गले समातेर जनतालाई गोलबन्द गर्दै अघि बढ्न र देशलाई निकास दिन आवश्यक रहेको बताए ।

नेकपाको तनहुँमा सम्पन्न ११ औँ पूर्ण बैठकपछि पहिलोपटक सुरु भएको उक्त प्रशिक्षणमा देशैभरिबाट तीन सय हाराहारी जिल्ला इन्चार्ज, सेक्रेटरी र विशेष समितिका नेता–कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षणमा नेकपाका महासचिव विप्लव, प्रकाण्ड, कञ्चन र सुदर्शनले सहभागीहरूलाई राजनीतिक–वैचारिक प्रशिक्षण दिनेछन् ।

रिपोर्टका क्रममा उनीहरूले जिल्लाहरूमा भएगरेका कामहरूको सूची प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा पार्टीलाई सुझाव दिएका छन् । रिपोर्टमा उल्लेख गरिएअनुसार नेकपाले देशव्यापी रूपमा कोरोना महामारी फैलिसकेपछि त्यसको नियन्त्रण र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतना फैलाउने काम भएको छ । यस्तै पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यदिशाका बारेमा जनतालाई बुझाउने र सङ्गठन निर्माण गरेको प्रतिवेदन प्रशिक्षणमा प्रस्तुत गरिएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार ठाउँठाउँमा उत्पादनका कामहरू पनि गरिएका छन् भने केही जिल्लामा कार्यालय स्थापना गरिएको छ । यस्तै रिपोर्टिङ गर्नेहरूले एमसीसी र जयसिंह धामी हत्याकाण्डविरुद्ध निरन्तर सङ्घर्ष जारी राखेको पनि बताएका छन् ।

सोमबार सुरु भई बुधबार समापन हुने प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लवले गरिरहेका छन् भने सहजीकरण प्रवक्ता प्रकाण्डले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :