वैचारिक हतियारमा सान लगाउन देशभरिका नेताहरू चितवनमा

वैचारिक हतियारमा सान लगाउन देशभरिका नेताहरू चितवनमा

पर्सा, चितवन : चितवनको पर्सास्थित मुख्य राजमार्गनजिकै रहेको डिज्नी पार्क रिसोर्टको सभाहलमा सोमबारबाट नेकपाका करिब ३ सय नेता–कार्यकर्ता राजनीतिक–वैचारिक विमर्शमा जुटिरहेका छन् । मध्यअसोजमा चितवनको उखर्माउलो गर्मीले गुम्सिएका ती सहभागीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीबाट चितवन आएर वैचारिक विर्मशका जुटेका हुन् । चितवनमा यो मौसममा असाध्यै गर्मी हुन्छ । त्यसमाथि २–३ सय मानिस एउटै हलभित्र खाँदिएपछि गर्मीले सीमा नै नाघ्नु स्वाभाविक नै हो । केही थान पङ्खा र कुलर यहाँको उखर्माउलो गर्मीसँग भीषण सङ्घर्ष गरिरहेका छन् र अझ ती पङ्खा र कुलरभन्दा कार्यक्रममा सहभागीहरू बढी संघर्ष गरिरहेका छन् । पङ्खा, कुलर र फाट्टफुट्ट हुने बर्सात्लाई चुनौती दिँदै गर्मीले धेरै कमरेडका कपडा निथ्रुक्कै भिजाएको छ । कार्यक्रमको व्यवस्थापन गर्ने आयोजकहरू कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भनेर निकै दौडधूप गरिरहेका छन् ।

कार्यक्रमको पहिलो दिन अर्थात् असोज ११ गते चितवन जिल्ला इन्चार्ज सन्देशको गालामा देखिएका झुस्स दारी हेर्दा लाग्थ्यो उनीहरू निकै चापमा छन्, बेफुर्सदिला छन् । चितवन जिल्लाका कमरेडहरूलाई भ्याइनभ्याइ छ । जे होस्, देशभरिबाट जम्मा भएका नेताहरूलाई व्यवस्थित गर्ने भरमग्दुर प्रयास गरिरहेको थियो सन्देश पौडेल नेतृत्वको चितवन जिल्ला समिति । पहिलो दिन भान्सा व्यवस्थापनका सामान्य समस्या देखिए पनि दोस्रो दिन व्यवस्थापन चुस्त बनिसकेको थियो । हलदेखि भान्सासम्म र भान्सादेखि विश्रामगृहको अवस्थाले त्यस्तै दर्साउँथ्यो ।

महाभारत र चुरेशृङ्खलाको वरिपरि हुने उखर्माउलो गर्मीमा खचाखच भरिएको हलमा विचारमा सान लगाउने उद्देश्य बोकेर कर्णाली, राप्ती, भेरी, नारायणी, सप्तकोसी, अरुण, तमोर तरेर पर्सा आइपुगेको छ देशभरिका नौजवान क्रान्तिकारी नेता कमरेडहरूको जुझारु दस्ता । यहाँ आउने सहभागीहरूको समानखाले उद्देश्य छ– वैचारिक बन्दुकमा सान लगाएर कर्मथलो फर्कने र एकीकृत जनक्रान्तिको कार्यदिशामा जनलहर सिर्जना गर्ने । उनीहरूले यहाँबाट नयाँ ऊर्जा लिएर पार्टीलाई गतिशील बनाउने उद्देश्यसहित कार्यक्षेत्र फर्कने अपेक्षा गरेका छन् ।

हिमाली जिल्ला मुगुबाट कयौँ दिन हिँडेर चितवन आइपुगेका नेकपाका सेक्रेटरी समाज भन्छन्, ‘अन्याय, अत्याचार, शोषण दमन, राष्ट्रघात, बेथिति, भ्रष्टाचारविरुद्ध बोल्दा हामीलाई राज्यले प्रतिबन्ध लगायो । तर २ वर्षपछि हाम्रो पाटीले राजनीतिक–वैचारिक रूपमा नयाँ उचाइ प्राप्त गरेको छ । पार्टी केन्द्रको ११ औँ बैठकपछि आयोजित यो केन्द्रीय प्रशिक्षण कार्यक्रममा महासचिव कमरेड विप्लवसहित सचिवालय सदस्यहरू, केन्द्रीय समिति र देशैभरिका कमरेडहरूमाझ मैले रिपोट राखेँ । यो कार्यक्रमको वातावरण मलाई कस्तो लाग्यो भने पार्टीको योजना साँच्चिकै कार्यान्वयन गर्ने हो भने वैज्ञानिक समाजवादी व्यवस्था टाढा छैन ।’ 

नेकपाका मुगु सेक्रेटरी समाज

नेपालमा १० वर्षसम्म चलेको जनयुद्ध विजयको शिखरमा पुग्नै लागेको बेला यसलाई धोका दिएर संसद्‌वादको दलदलमा फसेपछि क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र क्रान्तिका बाँकी कार्यभार पूरा गर्नका लागि एकीकृत जनक्रान्तिको प्रक्रियामा हजारौँ योद्धाहरू सहभागी छन् । यस्तै युवाहरूमध्येका प्रशिक्षणमा सहभागी एक युवक नेकपा सल्यानका सेक्रेटरी नारायण आफ्नो अनुभूति यसरी राख्छन्, ‘जनयुद्धको प्रभावबाट मेरो गाउँ पनि अछुतो रहेन । रुकुमको खारामा आक्रमण हुँदा त्यो लडाइँमा घाइते र सहिद भएका जनमुक्ति सेनाका कमरेडहरूको लावालस्कर हाम्रो घरमा थियो । संयोगले मेरो भागमा पनि उक्त कारबाहीमा आवश्यक पर्ने सरसामानहरू बोक्ने मौका मिल्यो । त्यतिबेला मैले नाम थाहा नभएका २ वटा नयाँ अत्याधुनिक हतियार बोकेको थिएँ । त्यस बेलादेखि नै मलाई क्रान्तिकारी आन्दोलनमा भाग लिने चाहना जागेको थियो । जीवनमा म त्यति बेलाजस्तो उत्साहित कहिल्यै भएको थिइनँ ।

नेकपा सल्यानका सेक्रेटरी नारायण

समयक्रमले तत्कालीन पार्टी र त्यसका प्रमुख नेताहरूले बाटो बिराएपछि विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भयो । मैले संयोगले महासचिव विप्लवको कार्यालय सहायक (स्टाफ) भएर बस्ने अवसर पनि पाएको थिएँ । म यो पार्टी प्रशिक्षण नयाँ विचार र नयाँ उत्साह लिएर जिल्ला फर्कनेछु । क्रान्तिकारी आन्दोलनमा केही न केही भूमिका निर्वाह गर्नेछु ।’

नेकपाको राजनीतिक वैचारिक प्रशिक्षणमा खबर सङ्कलनका लागि पुगेका रातो खबरका प्रतिनिधिहरूसँग कार्यक्रममा सहभागी जिल्लास्तरीय नेताहरूले यसका राम्रा र नराम्रा पक्षका बारेमा समीक्षा, प्रशंसा, सल्लाह, सुझाव र प्रतिक्रियाहरू पनि व्यक्त गरे । यसले हामी र हाम्रो टिमलाई धेरै सकारात्मक शिक्षाहरू पनि ग्रहण गर्ने मौका प्रदान गर्यो ।

नेकपाका मकवानपुर सेक्रेटरी वाटर

रातो खबरसँग कुरा गर्दैै मकवानपुर सेक्रेटरी वाटरले भने, ‘पत्रकारहरू जहिले पनि राज्यसत्ताका विपक्षमा कमल चलाउँछन् । हामीलाई वैचारिक रूपले विचार, दृष्टिकोण, जनतामाझ पुर्याउने उद्देश्यले पार्टीको विषयवस्तु, विचार, दृष्टिकोण, जनतामाझ पुर्याउने, प्रतिवन्ध र सङ्कटको बेला पनि यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका बारेमा विचारलाई, पार्टीको दृष्टिकोणलाई जनतामा पुर्याउन भूमिका निर्वाह गरेको छ । रातो खबरलाई सुझावको रूपमा उनले भने, ‘यसको कार्यसम्पादनमा केही समस्या छन् । स्थायी सम्पर्क नहुनु, देशैभरिका सूचना लिन नसक्नु र समाचार सम्प्रेषण गर्दा सन्तुलन मिलाउन नसकेको देखिएको छ ।’ 

नेकपा इलामका सेक्रेटरी मौसम रातो खबरका बारेमा यसरी प्रतिक्रिया दिन्छन् : ‘रातो खबरले जनपक्षीय समाचारहरूलाई जनसमक्ष प्रस्तुत गरिरहेको छ । यसलाई अझै प्रभावकारी ढङ्गले जनताका विषयलाई उठाउँदै जानुपर्छ । समचारहरूको छनोट र सम्प्रेषण गर्दा देशका सबै ठाउँका समाचारलाई सन्तुलित र निष्पक्ष तरिकाले सम्प्रेषण गर्नुपर्छ । रातो खबरले अब साप्ताहिक, अनलाइन र मासिक मात्र होइन, दैनिक नै प्रकाशित गर्नुपर्छ । यसो भएमा जनताका समाचारहरू दैनिक जनतालाई दिन सकिन्छ । रातो खबरको संस्करण पश्चिमका पाँच ठाउँमा जस्तै इटहरी वा विराटनगरबाट पनि सुरु गर्नुपर्छ ।’

यस्तै प्रशिक्षण स्थलमा भेटिएका नेकपा दैलेखका सेक्रेटरी दीपेन्द्रले भने, ‘दलाल पुँजीवाद, भ्रष्टाचारका विरुद्ध लेखरचना र खबरहरू सम्प्रेषण गरिरहेको छ । निरन्तर पार्टीका विचारहरू जनतामा सम्प्रेषण गर्ने काम गरेको छ तर यसका केही सीमा पनि छन् । पत्रिका देशैभरि सबै जिल्लामा जान नसक्नु, पार्टीभित्र र बाहिरका समसामयिक विषयका अन्तरवार्ताहरू दिन नसक्नु यसका केही सीमाहरू छन् ।’

यस्तै जनयुद्धको तुफानी केन्द्र मानिने जिल्ला हो कालीकोट । कालीकोटले बोलेको विद्रोह जययुद्धको इतिहासमा उल्लेखनीय छ । निःशस्त्र महिला हातहरूले सशस्त्र बर्दीधारीहरूका राइफल खोस्दै जनमुक्ति सेनालाई बुझाएर इतिहासमा आफ्नो नाम लेखाउने जिल्ला हो कालीकोट । प्रशिक्षण स्थलमा भेटिएका त्यहाँका सेक्रेटरी रणदीपले रातो खबर प्रकाशन विभागलाई सुझाव दिँदै भने, ‘स्थापना कालको छोटो अवधिमा नेपालमा मात्र होइन, विदेशमा पनि स्थापित हुनसक्नु, सरकारी प्रतिबन्ध र दमनका बेला पनि आफूलाई निरन्तरता दिन सक्नु यसको सफल पक्ष हो । साथै गाउँका भन्दा सहरका खबरहरूलाई प्राथमिकता दिनु र जिल्लाजिल्लामा संवाददाताहरू उत्पादन गर्न नसक्नु यसको कमजोर पक्ष हो । देश र जनताको, क्रान्तिकारी विचार र आवाजविहीनहरूको आवाज बन्न सकोस्, शुभकामना ।’

कार्यक्रममा सहभागी सर्लाही सेक्रेटरी कमल सुस्लिङ भन्छन्, ‘प्रतिबन्धित अवस्थामा पनि रातो खबरले पुर्याएको योगदान सराहनीय छ । जिल्लाहरुमा रातो खबर पुग्न सकेको छैन । रातो खबरमा यू ट्युब च्यानललाई अलि विकास गर्नुपर्छ ।’

विचार सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ भनी माओले भनेझैँ सही विचार प्राप्त गर्न र एकीकृत जनक्रान्तिमा नयाँ योगदान गर्ने विचार ग्रहण गर्न प्रशिक्षण स्थलमा आइपुगेको भन्दै नेकपाका दोलखा जिल्ला सचिव आकाशले भने, ‘संशोधनवादले तयार पारेको दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने महान् अभियानमा देशैभरिबाट केन्द्रित पार्टी नेताहरूको टिमले लिने प्रशिक्षणले हाम्रो तत्कालको कार्यनीति र जनमतसङ्ग्रहको कार्यनीतिलाई जनतामा लैजाने विषयमा मद्दत पुग्छ ।’

नेकपाका दोलखा जिल्ला सचिव आकाश

क्रान्तिकारी आन्दोलनलाई गति दिनका लागि प्रतिबद्ध पार्टीपङ्क्ति आवश्यक हुन्छ भन्ने नेकपाका महासचिव विप्लवको भनाइजस्तै रसुवाका सेक्रेटरी विराजले भने, ‘राजनीतिक–वैचारिक रूपले सशक्त भएको खण्डमा क्रान्तिका युगीन कार्यभारहरूलाई पूरा गर्न सिङ्गो पार्टी जनतामा निःसर्त हामफाल्न प्रतिबद्ध भएको हलको भाव पाएको छु ।’

उनले भने, ‘हाम्रो पार्टीले अघि सारेको एकीकृत जनक्रान्ति, जनमतसङ्ग्रह, वैज्ञानिक समाजवादी कार्यनीति र कार्यक्रमको यो शृङ्खलाले वैज्ञानिक समाजवादको महान् लक्ष्यलाई चुम्दै विजयको झन्डा फहराउनेछ । यो प्रशिक्षणले १० बर्से जनयुद्धको बाँकी कार्यभार पूरा गर्न जुझारु ढङ्गले लाग्ने ऊर्जा पैदा गर्नेछ ।’

यस्तै पूर्वको उदयपुरबाट चितवनको पर्सा आइपुगेका त्यहाँका सेक्रेटरी लक्ष्मण पौड्यालले रातो खबरको टिमसँग कुरा गर्दै केही सुझाव दिए । उनले भने, ‘रातो खबर नेपाली श्रमजीवी जनताका पक्षमा र नेपालको राष्ट्रिय स्वाधीनताका पक्षमा निरन्तर खबर प्रकाशित गर्ने एक सहक्त सञ्चारमाध्यम हो । यसले क्रान्तिकारी आवाज बुलन्द गरिरहेको छ र दलाल सत्ताले गरेका भ्रष्टाचार, कालोबजारीलगायत, शोषण, दमन, अन्याय, अत्याचार अन्त्यको विषयमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसलाई जनस्तरसम्म पुर्याउन र वितवरणको प्रक्रियालाई चुस्त बनाउन नसक्नु अथवा देशैभरि संवाददाता हुन नसक्नु यसको समस्या हो ।’

यस्तै पूर्वविद्यार्थी नेतासमेत रहेका नेकपा कैलालीका सेक्रेटरी दीपेन्द्र चलाउनेले भने, ‘हजारौँ मिडियाका बीचमा आफ्नो फरक परिचय स्थापित गर्न सक्षम रहनु र सङ्कटको समयमा पनि सञ्चालन हुनु मिसन पत्रकारिता केन्द्रित जनपक्षीय मिडियाका रूपमा स्थापित गर्न सक्षम रहेको यो प्रकाशन गृहको सबल पक्ष हो ।’उनले केही सुझावहरू पनि पेस गरेका छन् । उनले भने, ‘समाचार र ग्राहक प्रतिस्पर्धामा कमजोरजस्तो देखीएको छ । केन्द्रीय समाचार र राजनीतिक विषय मात्र प्राथमिकतामा राखेको जस्तो लाग्यो ।’ उनले केही व्यावसायिक पत्रकार भर्ना गरी काममा लगाउने, बुस्ट गर्नुपर्ने र सबै प्रकारका विषयलाई समेट्नुपर्ने सुझाव दिए ।

नेकपा कैलालीका सेक्रेटरी दीपेन्द्र

उता गोरखाबाट प्रशिक्षण हलसम्म आइपुगेका नेकपाका गोर्खा सेक्रेटरी कपिल भट्टले प्रतिबन्ध र तीनबुँदे सहमतिपछि भएको केन्द्रीय समिति बैठकको राजनीतिक तथा वैचारिक प्रशिक्षणले खिया लागेको विचारमा धार लगाउने काम गर्नेछ भन्ने विश्वास व्यक्त गरे । राजनीतिक चेतनाको स्तर विकासमा ठोस सहयोग पुर्याउने उनको अपेक्षा छ ।

नेकपाका गोर्खा सेक्रेटरी कपिल भट्ट

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाहीले रातो खबरलाई सुझाव दिँदै भनिन्, ‘राजनीतिक–वैचारिक काम गर्न सफल छ । व्यवस्था परिवर्तनका पक्षमा जनमुखी आवाज सम्प्रेषण गर्न सफल छ । वर्गीय पक्षमा आवाज उठाएको छ । विरोधीहरूले जनताका विरुद्धमा छरेका भ्रम चिर्न सफल भएको छ । यसको सुधार्नुपर्ने पक्ष भनेको वार्षिक ग्राहक बनाउनुपर्छ । अनलाइन संस्करणलाई सस्क्राइब र भिउज र लाइक बढाउन काम गर्नुपर्छ । महिलाहरूका समाचार र लेखहरू पहिलो प्राथमिकतामा प्रकाशित गर्नुपर्छ । यसलाई दैनिक बनाए अझ राम्रो । हाम्रा खबरहरू देशैभरि सम्प्रेषण गर्नुपर्छ ।’

लमजुङ जिल्ला सचिव आक्रोशले भने, ‘रातो खबरको सकारात्मक पक्ष भनेकै यसलाई निरन्तरता दिनु हो ।’ उनको सुझाव छ, ‘यसलाई पार्टीको आधिकारिक मुखपत्रको भूमिका निर्वाह गर्ने स्तरमा पुर्याउनुपर्छ । उनले पार्टीलाई क्रान्तिकारी बनाउन र एकिकृत जनक्रान्तिको कार्यदिशा लागु गर्नको लागि सवै पार्टी एक ढिक्का बनाउन यो  प्रशिक्षणमा सहभागी भएको बताए । 

लमजुङ जिल्ला सचिव आक्रोश

पाल्पा जिल्लाका सेक्रेटरी भुवन जीसीले भने, ‘वर्गीय दृष्टिकोण राख्ने सञ्चारमाध्यम भएकाले यसको योगदान निकै माथि छ । यसलाई थप सुदृढ, छिटोछरितो बनाउन र प्रतिस्पर्धात्मक बनाउन आवश्यक छ । यसलाई गाउँगाउँमा जनताको पहुँचसम्म पुर्याउन सक्नुपर्छ ।’

चितवनको पर्सामा केन्द्रीय वैचारिक राजनैतिक प्रशिक्षणमा देशैभरीबाट सहभागी प्रशिर्थीहरु

राता झन्डा र ब्यानरले राताम्मे देखिने चितवन पर्साको डिज्नी हलमा पछाडि एकीकृत जनक्रान्तिका सहिदहरू र जनयुद्धका सहिदहरूका तस्बिर राखेर पार्टी महासचिव विप्लवले सही विचार क्रान्तिको प्रमुख सर्त भएको बताउँदै क्रान्तिकारी आन्दोलनका लागि सही क्रान्तिकारी विचार निर्माण गरिसकेपछि त्यो विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने प्रस्ट पारेका छन् । क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको रहेको बताए । उद्घाटन मन्तव्यमा नयाँ क्रान्तिकारी पार्टीपङ्क्ति निर्माण गर्ने र देशलाई निकास, वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र यसका लागि जनमतसङ्ग्रहको चुनाव गर्नुपर्ने महासचिव विप्लवको भनाइ छ । एकजना सहभागीले भनेजस्तै सम्भवतः प्रशिक्षणमा सहभागीहरूलाई प्रशिक्षित गर्ने एकीकृत जनक्रान्तिका निर्माताहरू विचारको हतियारलाई सान लगाउन आफ्नो प्रशिक्षणको पाटोमा भन्नेछन्– हामी मञ्चमा बसेका ४ जनाले मात्र होइन, हलका ३ सयले नै सेतो कमिज लगाउनेछौँ । त्यसमा वैचारिक हतियार रगतको मसीमा चोपेर क्रान्तिकारी आन्दोलनलाई नयाँ दिशा प्रदान गर्नेछौँ । वैज्ञानिक समाजवादको यात्रा तय गर्नेछौँ ।

प्रस्तुति :अम्बिका चन्द (जानकी चौधरीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :