पुँजीवाद कि वैज्ञानिक समाजवाद ? -३

पुँजीवाद कि वैज्ञानिक समाजवाद ? -३

ग) राजतन्त्रात्मक दृष्टिकोण

नेपालको सङ्कटलाई स्वीकार गर्ने मात्र होइन, सङ्कटको कारण संसदीय व्यवस्था हो भन्नेसमेतलाई मान्ने तर कति भने गणतन्त्र ल्याउनु वा राजतन्त्र फाल्नु नै यसको मुख्य कारण हो भन्ने शक्ति पनि छ । देशमा अस्थिरता, अराजकता एवम् राष्ट्रियताको समस्या चर्किएर जानुमा राजतन्त्र फाल्नु वा नहुनु हो भन्ने यसको मत रहेको छ । त्यसमा पूर्वराजावादी पात्र, प्रतिनिधिहरू त छँदैछन्, सुसङ्गठित रूपले राप्रपाले त्यसको नेतृत्व गरिरहेको छ ।

दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्थाको बेथिति एवम् अलोकप्रियताले गर्दा यो धाराले आफ्ना असन्तुष्टिहरू हल्लिखल्लीका साथ राखेर बेलामौकामा देशमा तरङ्ग ल्याउने जमर्को पनि गर्दै आएको छ । श्रमिक जनताको मन जित्न पछिल्लो समय राष्ट्रिय संवद्र्धनवादको धारणा अघि सारेको छ । तर मार्क्सले कम्युनिस्ट घोषणापत्रमा लेखेजस्तै जनताले यसको पछाडिपट्टि जहिले पनि धेरै पछि परिसकेको सामन्तवादी प्रवृत्तिको छाप देखिने गरेको छ जसप्रति श्रमिक जनताको विश्वासभन्दा आशङ्का र अविश्वास बढी छ । यद्यपि देशभक्तिका विषयमा यो धाराको दृष्टिकोण सकारात्मक रहेको छ ।

३) सङ्कटको निकास के ?

इतिहासका विभिन्न चरण एवम् कालखण्डमा पैदा हुने सङ्कटलाई कसरी निकास दिइन्छ भन्ने विषयसँग अग्रगमन र पश्चगमन, गोलचक्कर र रूपान्तरण, स्वाधीनता र पराधीनता, युद्ध र शान्ति, दुर्गति र समृद्धि जोडिएको हुन्छ । वस्तुलाई सही तरिकाले बुझेर सही निकास दिएमा देशले अग्रगमन, रूपान्तरण, स्वाधीनता, शान्ति र समृद्धि प्राप्त गर्छ तर गलत बाटोतिर गएमा जति चिन्ता गरे पनि देश पश्चगमन, गोलचक्कर, पराधीनता र दुर्गतितिर फस्छ वा चक्कर मारिरहन्छ ।

देशको सङ्कटलाई निकास दिनुपर्छ भन्नेमा सबै सहमत छन् तर सङ्कटको कारणमा जस्तै निकासका सन्दर्भमा पनि विपरीत दृष्टिकोण छन् । हुन पनि निकास कुन वर्गको दृष्टिकोणअनुसार कुन वर्गको हितमा हुन्छ भन्नेसँग नै अन्तरविरोधी एवम् प्रतिस्पर्धी वर्गशक्तिको अस्तित्व जोडिएको हुन्छ । सचेत नागरिकले बुझेकै हुनुपर्छ हरेक राजनीतिक सङ्कट भनेको अर्को अर्थमा वर्गसङ्कट हो र हरेक निकासले वर्गहित बोकेको हुन्छ ।

जति नै सङ्कट आए पनि सत्तासीन वर्ग त्यो सङ्कटलाई आफ्नो असफलता र विस्थापनसम्म पुग्न दिन चाहँदैन । सकेसम्म उसले आफ्नो सङ्कटलाई आफ्नै निरन्तरतामा बदल्न चाहन्छ । परन्तु सङ्कटको सारतत्व बुझेर समाधान गर्न अगाडि आउने अग्रगामी एवम् क्रान्तिकारी शक्तिले पुरानै सत्तामा घुम्ने निकासलाई स्वीकार्दैन । उसले आफ्नो सम्पूर्ण विवेक र सामथ्र्य प्रयोग गरेर सङ्कटलाई नयाँ सत्ता, नयाँ व्यवस्था, नयाँ नेतृत्वमा रूपान्तरण गर्न चाहन्छ । अन्ततः सापेक्षतामा जुन वर्ग र नेतृत्व अग्रगामी, परिवर्तनकारी एवम् क्रान्तिकारी हुन्छ उही नै हाबी हुन्छ र निकासलाई आफ्नो अनुकूल बनाउन सफल हुन्छ ।

यति बेला राजनीतिक सङ्कटको निकासबारे मुख्यतः तीनवटा दृष्टिकोण देखापरेका छन् भने तीन दृष्टिकोणभित्र विविध प्रवृत्तिहरू रहेका छन् । पहिलो, वैज्ञानिक समाजवाद, दोस्रो, दलाल पुँजीवादी एवम् संसदीय व्यवस्था र तेस्रो राजतन्त्रसहितको संसद्‌वाद । वैज्ञानिक समाजवादभित्रै पर्ने तर केही फरक मतका रूपमा नयाँ जनवाद रहेको छ भने संसद्‌वादभित्र लोकतान्त्रिक समाजवादी, समाजवाद उन्मुख लोकतन्त्र, सङ्घीय समाजवाद आदि छन् ।

१) वैज्ञानिक समाजवादको निकास

यति बेलाको सङ्कटको वस्तुवादी, अग्रगामी एवम् क्रान्तिकारी निकास वैज्ञानिक समाजवाद हो अर्थात् सङ्कटलाई वैज्ञानिक समाजवादद्वारा निकास दिनुपर्छ भन्ने दृष्टिकोण नेपाल कम्युनिस्ट पार्टी, रणनीतिक संयुक्त मोर्चालगायतको रहेको छ । यो दृष्टिकोण एवम् निष्कर्ष कुनै अनुमानित एवम् काल्पनिक होइन, न त यो कुनै पार्टीविशेषको आग्रहपूर्ण दृष्टिकोण नै हो । यो नेपाली समाजको ऐतिहासिक विकासक्रम, अर्थराजनीतिक व्यवस्थाहरूको अभ्यास र परिणामहरूका साथै अगाडिका सम्भावनाहरूको तथ्यगत निष्कर्ष हो ।

वैज्ञानिक समाजवाद नै सङ्कटको उचित निकास हो भन्ने निष्कर्षका पछाडि सैद्धान्तिक दृष्टिकोण सबैभन्दा बलियो एवम् मुख्य आधार हो । राजनीतिक सिद्धान्तका जुनसुकै विद्यार्थीलाई थाहा छ, पुँजीवादभित्र विकास भएका अर्थराजनीतिक अन्तरविरोध एवम् सङ्कटलाई उसले समाधान दिन नसकेपछि राज्यको अग्रगामी रूपान्तरणका लागि वैज्ञानिक समाजवादी–साम्यवादी राजनीतिक व्यवस्थाको अनुसन्धान भएको हो जुन अनुसन्धानले मानव जातिलाई इतिहासमै अद्वितीय प्रभाव मात्र पारेन, पुँजीवादको समाधान पनि दियो ।

मार्क्स–एङ्गेल्सले साम्यवादी सिद्धान्तको अनुसन्धान गर्दै के साबित गर्नुभयो भने हरेक प्राकृतिक वस्तुको जन्म र मृत्यु अनिवार्य हुन्छ । त्यसैगरी राजनीतिक व्यवस्थाहरूको पनि जन्मसँगै मृत्यु हुन्छ । यो बाह्य कारणले भन्दा वस्तु आफैँभित्र पैदा हुने अन्तरविरोध र सङ्घर्षका कारण जन्मन्छन् र मर्छन् । पुरानाको विघटन हुन्छ भने नयाँले जन्म लिन्छ । ढुङ्गेयुगको मृत्युमा दासयुगको जन्म, दासयुगको मृत्युमा सामन्ती युगको जन्म, सामन्ती युगको मृत्युमा पुँजीवादी युगको जन्म भएबाट यसको पुष्टि हुन्छ । यही नियम पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको जन्ममा पनि लागू हुन्छ ।

नेपालमा सामन्तवादको ठाउँ दलाल पुँजीवादले लियो तर यो आफैँभित्र कति गम्भीर अन्तरविरोधहरूबाट गाँजिएको छ भने यसैभित्रबाट यसको समाधान सम्भव देखिँदैन । वस्तुगत नियमबाट हेर्दा यसको अन्त्य र वैज्ञानिक समाजवादको जन्म आवश्यक बन्न पुगेको छ ।

वैज्ञानिक समाजवाद निकास बन्ने दोस्रो आधार राजनीतिक प्रवृत्तिसँग सम्बन्धित छ । पुँजीवादी–दलाल पुँजीवादी राज्यसत्ता जन्म कालदेखि नै श्रमिक वर्गप्रति शोषणकारी, उत्पीडनकारी, दमनकारी रहँदै आएको छ । मुठीभर शासक वर्गबाहेक अन्य नागरिकका लागि तानाशाही, निरङ्कुश प्रवृत्तिको छ । यसले विदेशी पुँजीवादी शक्तिको आडमा देशको स्रोत–साधनमाथि लुट मच्चाउने गर्दछ जसले गर्दा पुँजीवादी व्यवस्था र समाजका अत्यधिक नागरिकहरूका बीचमा सङ्घर्ष चलिरहन्छ । अर्कोतिर पुँजीवादी सत्ता र व्यवस्थाभन्दा राजनीतिक, आर्थिक, सांस्कृतिक रूपले जनवादी, अग्रगामी, लोकतन्त्रिक, क्रान्तिकारी व्यवस्थाका रूपमा वैज्ञानिक समाजवाद अगाडि आएको छ ।

वैज्ञानिक समाजवादले प्रथमतः राज्यसत्तालाई शोषक वर्गको हातबाट श्रमिक एवम् बौद्धिक वर्गको हातमा सारिदिन्छ । सत्तामा पुँजीवाल वर्गको पकड नरहेर आमश्रमिक जनता मजदुर, किसान, महिला, दलित, सेना, उत्पीडित समुदाय, क्षेत्रको समान र समानुपातिक सहभागिता वा प्रतिनिधित्व रहन्छ । सबै नागरिकका लागि राजनीतिक स्वतन्त्रता, जनअधिकार, शिक्षा, स्वास्थ्य, सूचना, यातायात अधिकारहरू सुनिश्चित हुन्छन् । राज्यले जनताविरुद्ध कुनै पनि तानाशाही, निरङ्कुश दमन चलाउँदैन । त्यसैगरी विश्वमा पुँजीवादी हस्तक्षेप र अतिक्रमण रहँदासम्म राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विश्वका श्रमिक वर्गीय आन्दोलनका पक्षमा उभ्याउँछ । राज्यव्यवस्थाको व्यवस्थापिका र कार्यकारी प्रमुखमा जनताको प्रत्यक्ष मतलाई प्रयोग गरिन्छ । यस्तो राजनीतिक विशेषताका कारण वैज्ञानिक समाजवाद नै आजको निकास बन्न सक्छ ।

वैज्ञानिक समाजवाद निकास हुने दोस्रो आधार दलाल पुँजीवादभित्र पैदा भएको आर्थिक अन्तरविरोधलाई अग्रगामी एवम् क्रान्तिकारी रूपान्तरण गर्न सक्नुमा रहेको छ । दलाल पुँजीवादी सत्ताले जसरी आर्थिक परनिर्भरता, दलालीकरण, सूदखोरी, माफियागिरीलाई प्रोत्साहन गरेको छ र यसैका कारण बहुसङ्ख्यक जनता गरिबीको मारमा पर्नुपरेको छ त्यसको समाधान वैज्ञानिक समाजवादले मात्र दिन सक्नेछ ।

वैज्ञानिक समाजवादभित्र आमनागरिकहरूलाई गाँस, बास, रोजगारीलगायत आर्थिक अधिकार सुनिश्चित गरिएको हुन्छ । कुनै पनि नागरिकलाई शोषण गर्न पाइँदैन । विदेशबाट निगम पुँजी वा एकाधिकारवादी पुँजी भित्र्याएर श्रमिक जनतामाथि शोषण लाद्न र देशका स्रोत–साधनमाथि लूट मच्चाउन दिँदैन । अर्थ आयका लागि शोषणको सट्टा श्रम, ज्ञान र प्रविधिलाई उपयोग गरिन्छ ।

वैज्ञानिक समाजवाद सङ्कटको निकास बन्ने चौथो आधार सामाजिक एवम् सांस्कृतिक समस्याहरू र तिनको समाधानको विषय हो । नेपाली नागरिकहरूले हरेक क्रान्ति, आन्दोलन र परिवर्तनपछि मौलिक, प्रगतिशील एवम् वैज्ञानिक संस्कृतिको रक्षा, विकास र संरक्षण चाहँदै आएका छन् तर कहिल्यै पूरा हुन सकेको छैन । उल्टो नेपाली जनसंस्कृतिको विचलन, उपभोक्तावादी, छाडा, अश्लील संस्कृतिको वृद्धि, महिला हिंसा, कथित दलितमाथिको दमन जटिल समस्या बन्दै गएका छन् । यी सारा समस्यालाई दीर्घकालिक समाधान दिनका लागि वैज्ञानिक समाजवाद अपरिहार्य छ ।

नेपाली जनताको प्रवृत्ति एवम् चाहनालाई दृष्टिगत गर्दा पनि वैज्ञानिक समाजवाद नै निकासको विकल्प साबित हुन्छ । समाजवादका पक्षमा भएका चाहे सशस्त्र विद्रोह, जनयुद्ध, एकीकृत जनक्रान्ति होस्, चाहे निर्वाचनमा मतदान गरेर होस्, जहिले पनि श्रमिक जनताले वैज्ञानिक समाजवादी धारालाई साथ र सहयोग गरेका छन् ।

नेपालका हरेक राजनीतिक पार्टीहरूले अख्तियार गरेको समाजवादी राजनीतिक सिद्धान्तका दृष्टिले पनि वैज्ञानिक समाजवाद नै उचित विकल्प साबित हुन्छ जस्तो कि कम्युनिस्ट नामका सबै पार्टीहरूले समाजवाद भनिरहेका छन् । नेपाली काङ्ग्रेसले लोकतान्त्रिक समाजवाद भन्छ, जनता समाजवादी पार्टीले सङ्घीय समाजवाद भन्छ भने राप्रपाले पनि संवद्र्धनवाद भन्न थालेको छ । यसको अर्थ एउटै हुन्छ– नेपालमा श्रमिक जनता समाजवाद चाहन्छन् । अर्थात् आमूल परिवर्तनका लागि मात्र होइन, सुधारवादी राजनीतिका लागि पनि समाजवाद भन्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

यसरी समग्रमा हेर्दा सैद्धान्तिक दृष्टिकोणबाट होस् वा व्यावहारिक आवश्यकताबाट, ऐतिहासिक आवश्यकताबाट होस् वा स्वतन्त्रताबाट, निजी चाहना होस् वा सामाजिक दायित्वबाट होस्, वस्तुगत वास्तविकताबाट होस् वा भविष्यको सम्भावनाबाट जताबाट विश्लेषण गर्दा पनि वैज्ञानिक समाजवाद नै सबैभन्दा सही निकास देखिन्छ । क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :