क्रान्तिमा सुन्दर भविष्य देखिरहेका स्वप्नदर्शी सिर्जनाहरू

निष्पट्ट निशाभित्र आशाको ज्योति–पुञ्ज

समय समीक्षा

म जलिनँ भने
तिमी पनि जल्नेछैनौ
हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?
– नाजिम हिक्मत
… …
पहिले उनीहरू समाजवादीलाई लिन आए
म बोलिनँ
किनकि
म समाजवादी थिइनँ ।
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिनँ
किनकि
म ट्रेड युनियनकर्मी थिइनँ ।
उनीहरू जुजलाई लिन आए
म बोलिनँ
किनकि
म जुज थिइनँ ।
जब उनीहरू मलाई लिन आए
मेरा लागि बोल्न बाँकी कोही थिएन ।
– मार्टिन निमोर

कविहरू नाजिम हिक्मत र मार्टिन निमोरका कालजयी कविताका यी पङ्क्तिहरूको पुनः उद्धरणबाट यो साताको समय समीक्षा आरम्भ गर्ने अनुमति मागेँ ।

सामान्य आँखाले नै देखिने गरी वर्तमान विद्रुप–विद्रुप छ । शासकहरूका हर्कतहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि कालो बादल मडारिएको छ चारैतिर । दूर क्षितिजमा देखिएको छ क्रान्ति र विजयको मस्तुल ! त्यही मस्तुलको न्यानोपनले अग्रगामी पाइला चालिरहेछ आशावादी मानिस !

देशभक्तहरूका सङ्घर्षका पाइलाहरू मेट्ने दुस्साहस गर्दै नवलेन्डुपहरू हातहातमा एमसीसीको सम्झौतापत्र बोकेर लिलाम बोलिरहेका छन्, मुलुकको लिलाम बढाबढ गरिरहेका छन् । वली नाउँको एउटा बुख्याँचाले केही समय लिलाम बोल्यो र पटाक्षेप भयो । अब आइपुगेको छ देउवा नाउँको अर्को बुख्याँचा र चोक र गल्लीगल्लीमा त्यही सम्झौतापत्रलाई देशको झन्डाजस्तै फहराएर कौलासिरहेछ– मेरो देशको संविधानभन्दा पनि माथि रहेको यो एमसीसी सम्झौताको विरोध गर्ने हिम्मत कोही गर्छ ? गर्छ भने उसको जिब्रो थुतिनेछ, गला बन्द गरिनेछ किनकि म यो देशको शासक हुँ… । देउवा महोदय, तिमीले यही देशको पानी पिएका छौ र यहीँकी आमाको दूध खाएका छौ भने एमसीसी नाउँको अर्को सुगौली र महाकाली सन्धिमा हस्ताक्षर गरेर÷गराएर देखाऊ, त्यसको २४ घन्टाभित्रै काटिनेछन् सम्झौतामा हस्ताक्षर गर्ने आँैलाहरू र थुनिनेछन् विवेकहीन, मातृघाती जिउँदा शवहरू जसरी तिमी र तिम्रा मालिकहरूले थुनेका थिए हाम्रा सहयोद्धाका सलसलाउँदा शरीर । हो आशावादी, क्रान्तिकारी स्रष्टाहरू दिइरहेछन् यस्तै चुनौती । त्यसैले देश र श्रमिक जनताको वर्तमानमाथि कालो बादल मडारिरइरहे पनि निकट भविष्यमै त्यो बादल हट्ने निश्चित छ किनकि युवाहरू जागै छन् । स्वप्नदर्शी योद्धाहरू बन्दीपुरमा बनाइरहेछन् क्रान्तिलाई विजयसम्म लग्ने र यो कालो बादल टुक्र्याइदिने योजना । आहतहरूका आँखा उतै छन्, बन्दीपुरतिर जहाँबाट यो निष्पट्ट निशा चिर्ने आयुध जन्मिरहेछ !

कथित दुईतिहाइ बहुमतको वली–दाहाल गठबन्धन सरकार मैमत्त भएर अन्धाधुन्ध नागरिकहरूलाई मार्दै र थुन्दै गरिरहेको थियो । जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै जनताको प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थोपरिरहेको थियो । वलीहरू र तिनका एकाध बुख्याँचाहरू नेकपालाई एकदुई महिनामै खरानी बनाइदिने, नामोनिशान मेटिदिने ऐलान गरिरहेका थिए । मस्तिष्क र हृदयमा विवेक र पानी मरिसकेका र कुहिरो र हुस्सु बनिसकेका बादलका धङधङीहरू विप्लवलाई सके लिट्टे, नसके गोन्जालो बनाइदिने ध्वाँस छोडिरहेका थिए । विदेश पलायनको गोयबल्स अफवाहहरू फैलाइरहेका थिए । यता नेपाली जनताको हृदयमा बास जमाइसकेको विप्लव र त्यसका नायक विप्लव भने प्रकृतिको काखमा, जनताको खेतबारीमा आलु रोप्दै, मकैका ढोड फाँड्दै र धान काट्दै सुन्दर वैज्ञानिक समाजवादी देशको खाका कोरिरहेका थिए, राष्ट्रगीत गुनगुनाइरहेका थिए :

स्वदेश छोडी गइन्न
निराश पनि भइन्न
फोरिन्छ पहरा यहीँ
रोपिन्छ फूल त्यहीँ
छङछङ झर्ने झरना छन्
खनिन्छ नहर कुलो पनि
जोतिन्छ आफ्नै खेतबारी
फलाउँदै ताजा बालीनाली
गइन्न डिस्को क्यासिनो
खाइन्न डिनर, दारु नि
सिउरेर हजारी फूल
नाचिन्छ सेलो मारुनी…

सत्ताका बकबासलाई एकै प्रहारमा स्वाहा पारिदिने गीतकार विप्लवका हृदयसंवेद्य यी शब्दहरू र सङ्गीतमा प्रिय जनकलाकार रमण थामीले स्वर दिएर ठूलो न्याय गरेका छन् भने सत्ताका बर्बरताको समयमा पनि जननेताहरू, जनकलाकारहरू क्रान्ति र विजयको आशा बोकेर जनताको खेतखलिहानमै रमाइरहका छन् भन्ने सन्देश पनि प्रवाह गर्यो ।

अभिभावक बन्नुपर्ने राज्यसत्ता आततायी बनेपछि जनताका प्रिय कमरेडहरू सत्ताको आक्रमण र तीरबाट जोगिन भूमिगत बनेर जनताकै बीच जनताजस्तै श्रमिक बनेर बस्नुपर्ने हुन्छ । झापामा वर्गदुस्मनको टाउको गिँड्ने निर्णय गरेर निर्णय कार्यान्वयन गर्ने बेलामा भारततिर भागेका केपी वली र कमरेडहरूलाई भारतीय साम्राज्यवादका विरुद्ध सुरुङयुद्ध गर्ने भन्दै सुरुङ खन्न लगाएर आत्मरक्षाका लागि दिल्लीतिर दौडने पुष्पकमल दाहालहरूले जनताको न्यानो काख बिर्सिए पनि श्रमिक जनताका प्रिय नेताहरू जनताकै बीच नरमाउने कुरै भएन । जनताका बीच श्रम गरेर बस्दा जनताका दुःखसुख साथी बन्छन्, दैनिकी बन्छन् । देशको पीडाले मुटु घोच्छ । देशका सिमानामाथि साम्राज्यवादी अतिक्रमणका दृश्यले हृदय छियाछिया हुन्छ । जनताका छोराछोरी निमेक गर्न, साहूको ऋण तिर्न, लालाबाला र घरपरिवारको आधारभूत आवश्यकता पूरा गर्न अर्काको देशमा दास बन्न अम्मर गरेर पलायन भएका र बाकसमा प्याक भएर पर्केका दृश्यहरूले जनताका नेताहरूको हृदय छियाछिया हुन्छ । अनि जनताका बीचमा श्रम गरिरहेका विप्लवहरू गीत कोर्न थाल्छन् :

जवानी हाम्रो बाहिर बिते
देशको रक्षा कसले गर्ला ?
ज्ञान र सीप बिदेसिए
जनताको सेवा कसले गर्ला ?
त्यागेर विदेशी रमझम
जगाउँदै आफ्नै गाउँबस्तीलाई
सुनाउँदै वीरता–कथाहरू
ब्युँझाउँदै आफ्नै सन्ततिलाई
स्वदेश छाडी गइन्न…

देशमाथि विपत् आइलाग्दा देशभक्तिको एउटा सानो आवाज र कदम पनि आशाको त्यान्द्रो र सहारा बन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि समर्पित पार्टी र नेतामाथि प्रतिबन्ध लगाएर लेन्डुपका सन्तान शासकहरूले पराईसँग सत्ताका लागि देशका सिमानाहरू साट्ने सम्झौता गरिरहँदा देशभक्त स्रष्टाहरू आँखा चिम्लेर र कान थुनेर कहाँ बस्न सक्थे र ! त्यसैले तिनले देश र जनताको भाका कोरे :

गुन्जाउँदा मुक्तिका गीत
रमाउलान् हाम्रा शाखाहरू
फुलाउँदा रङ्गीन फूलहरू
रङ्गेलान् सारा पाखाहरू
आइपुग्लान् यहीँ अवसर
प्रीतिमा झुम्दै–झुम्दै
गाउलान् जीवनको गीत
मुटुलाई चुम्दै–चुम्दै
स्वदेश छाडी गइन्न…

जनताको चेतनामाथि प्रतिबन्ध लगाएर र घन प्रहार गरेर शासकहरूले राष्ट्रमाथि घात गरिरहेको समयमा, जनताको प्रिय पार्टीमाथि प्रतिबन्ध लगाएर दलाल संसद्वादका मतियारहरूले भ्रष्टाचार, कमसिन र जनघातको ताण्डव नृत्य देखाइरहेको समयमा प्रतिबन्ध चिर्दै स्रष्टाहरू विप्लवी बनेर निस्किए, आशावादी, क्रान्तिकारी गीत, सङ्गीत र सिर्जना लिएर निस्किए र शासकहरूलाई निस्तेज पारे, परास्त गरे । फलस्वरूप दुई महिनामै खरानी बनाउने षड्यन्त्र बुनिएको जनक्रान्ति र क्रान्तिका कमान्डरहरू झन् स्पात बनेर निस्किए । आमाको रक्षाका लागि सन्ततिहरू ऊभन्दा ऊ अब्बल भएर निस्किए । त्यसैले त देशभक्तिको भावना चुलियो । क्रान्तिकारी भावना उच्च बन्यो । श्रीमान् अन्यायपूर्वक जेल पर्दा श्रीमतीले आन्दोलनको मोर्चा समाले । छोराछोरी हिरासतमा कोचिएको समयमा बाबुआमाले विद्रोहको मोर्चा अघि बढाउनुका साथै कानुनी उपचारका लागि उपायहरू सुझाए । दलाल सत्ताका जेलहरू छिट्टै भत्काइन्छ र बन्धनहरू अविलम्ब चुँडालिन्छ भन्ने भावनाका गीत–कविता, संस्मरणहरू लेखे सुदर्शन र माइला लामाहरूले जेलभित्रैबाट । सुदर्शन, माइला र सविनका जीवनसँगिनीहरू अर्थात् अम्बिका, मनु र सीताहरू अआततायी सत्ताका कुदृष्टिबाट बच्दै बालबच्चा च्यापेरै आन्दोलनका मोर्चासँगै हिरासत, जेलका चिसा छिँडी र अदालतका कठघराहरूसम्म दगुरे न्यायका लागि । फलस्वरूप सुदर्शन, माइला, आदर्श र सविनहरूका हुँकार साकार भए । श्रमिक जनताका खास स्रष्टा रसुवाली कवि र बीपी विद्रोहीहरूले भोगेका हिरासतका चिसा छिँडीका अनुभवहरूले सार्थकता पाए । क्रान्ति सफल हुन्छ भन्ने दृढ भावना र आशावादको विस्तार भयो । देशमाराहरूलाई जनताले गरेको कारबाहीको जिम्मा लिएको विषयलाई बहाना बनाएर षड्यन्त्रपूर्वक अनन्तकालसम्मका लागि जेलमा बन्दी बनाइएका प्रिय नेता सुदर्शनहरू अँध्यारा छिँडीभित्रबाटै कुरूप सत्तालाई दुई दशकअघिझैँ ललकारिरहेका थिए :

उपियाँ र उडुसले चुसेर लखतरान भएका जिन्दगीहरूमा
हेमोग्लोबिन र ग्लुकोज चढाउँदै
निद्राको चक्की ख्वाएर बेहोस बनाएका मानिसहरूलाई
सपनाबाट विपनामा ल्याउँदै
युगको धाराप्रवाहप्रति जागरुक बनाउन
अघि बढिरहेको एउटा चेतनावाहक दस्तालाई
कुरूप डोगडीले बन्दुक तेस्र्यायो र सिङ्गो यात्रा रोकेको ठान्यो ।
विस्फोटक पदार्थ राखेर
झूट्टा मुद्दा त चलाइस् ए कुरूप डोगडी !
तर त्यो विस्फोटक तेरै टाउकोमाथि पड्कने कुरा थाहा पाइनस्
मुद्दा त चलाइस् ए हराम डोगडी !
तर परिभ्रमित गरिरहेको पृथ्वीमाथि पनि चलाइस्
तेरो झूट्टा मुद्दाले पृथ्वी एक सेकेन्ड पनि रोकिँदैन
मुद्दा त चलाइस् ए नरपिचास डोगडी
तर बूढीगङ्गा बग्न पाइन्न भनेर चलाइस्
जतिसुकै बाँध बाँधे पनि
बूढीगङ्गा कर्णालीमा मिसिएर सागरमा पुगिछाड्नेछ ।

ए कुरूप डोगडी
तँ र उनीहरू त वादी–प्रतिवादी भइहाल्यौ
एक दिन सुन्दर डोगडीले
पर्दा च्यातेर गवाही दिनेछ
र अपराधी को हो ?
इतिहासले फैसला सुनाउनेछ ।

हो, इतिहासले केही न केही त फैसला सुनाएकै छ । एनसेललगायत देशमारा कम्पनीहरूबाट अकूत रकम हसुरेर देशको ढुकुटी मार्ने शासकहरू गले र जनकारबाही सही ठह¥याउँदै जनताले आस्थाका बन्दीहरूलाई बिनासर्त मुक्त, नगरिए जेल तोड्ने चेतावनीसमेत दिए । फलस्वरूप आततायी, फासिवादी सत्ता पतनको दिशामा गयो र आफ्ना अपराधहरू कबुल गर्दै सुदर्शन, कञ्चन, माइला, रणवीर र निर्माणहरूलाई जेलमुक्त गर्न बाध्य बन्यो । हो, कयौँ क्रान्तिकारीहरू अझै फासिवादी सत्ताको लोकतन्त्रको उपहार भोग्न बाध्य छन् जेलभित्र । जाली सत्ता आफ्नै हस्ताक्षरबाट डराइरहेको छ र सहमति कार्यान्वयन गर्न हिचकिचाइरहेको छ । यही अवस्था अलि लामो समयसम्म जारी रहेमा ती जेलहरू पनि तोडिनेछन् । तालिबानीहरू माक्र्सवादी, क्रान्तिकारी होइनन् तर पनि साम्राज्यवादी सत्ताका विद्रोही हुन् । तालिबानीहरूले एक महिनाअघि मात्र साम्राज्यवादलाई भगाउँदै तिनका कठपुतलीहरूलाई देश छोड्न बाध्य बनाएर अफगानिस्तानमा विद्रोहको एउटा राम्रो उदाहरण प्रस्तुत गरिसकेका छन् । अझ नेपालका मालेमावादीहरूसँग त समाज रूपान्तरणको दर्शन छ । कार्यक्रम छ । सपनाहरू ज्यूँदै छन् सहिद, बेपत्ता योद्धा र घाइते–अपाङ्गहरूका ।

हतियार बोकेका योद्धाहरूको हृदयमा मात्र क्रान्तिचेत भएर क्रान्ति सफल हुँदैन, क्रान्ति त भारी बोकिरहेका साइँला भरिया र घाँस काटिरहेकी घँसिनी कान्छी दिदीको मस्तिष्कमा पनि सवार हुनुपर्छ । जेलमा अन्यायपूर्वक कैदी बनाइएका आस्थाका बन्दीहरूको हृदयमा पनि क्रान्तिका सुमधुर सङ्गीत र देशको माटोको मधुर सुवास लहराइरहेको हुनुपर्छ । नख्खु जेलको अँध्यारो कोठाभित्र बन्दी जीवन बिताइरहेको समयमा पनि राजनीतिक–सांस्कृतिक योद्धा माइला लामा देशभक्तिको, क्रान्तिको यस्तै सुन्दर सपना देखिरहेका थिए :

कहिले खुल्छ खुसीको आकाश
यो बन्द पर्खालमा
कहिले फुल्छ पूर्णेको जून
यो बन्दी जीवनमा ।
काँडेतारभरि करेन्ट कुद्छ
पर्खाल त्यसै अग्लो
पर्खालमाथि बर्दी र बन्दुक
सङ्गीन झनै अग्लो ।
वल्लो छेउ गयो, पल्लो छेउ गयो
साँघुरो आँगन
जेडजोडले चल्छ आँधी र हुरी
बन्दीको मनमा ।
बिहान उही, साँझमा उही
उही छ जीवन
साथी–सँगिनी, प्यारीको यादमा
सपना रङ्गीन ।
बेइमानको हातमा देशको चाबी
इमानदार जेलमा
जनताका वैरी टिकौला कति
जाल र झेलमा ?
चल्नेछ जब क्रान्तिको तुफान
काँ छेक्छ पर्खालले
विद्रोहीजनको हुँकार छुट्दा
काँ थेग्छ सरकारले ?
फुल्नेछ जून, खेल्नेछ आकाश
यो बन्द पर्खालमा
हुनेछ सफल क्रान्तिको कर्म
जब यो धर्तीमा ।

क्रान्ति पूरा भएर जनसत्ता स्थापना नभएसम्म क्रान्तिकारीहरूले खबरदारी गरिरहनुपर्छ किनकि देशभक्तहरूमाथि आक्रमण गर्न राष्ट्रघाती लेन्डुपहरू मौका ताकेर बसिरहेका हुन्छन् । पेरिस कम्युनबाट हामीले निरन्तर पाठ सिक्नुपर्छ । यस्तै सङ्कटको समय पारेर लेन्डुपहरू आमालाई बिक्रीको माल बनाइरहेका छन् र सीता विकहरू आमाको लिलाम गर्ने देशघातीहरूप्रति खबरदारी गरिरहेका छन् :

ऊ अचेल सडक पेटीमा
आमा बोकेर हिँड्छ
आमालाई उसले फुटपाथमा राखेको छ
भन्छ आफूलाई ऊ महान् सन्तान
आमा बेचेर पैसा कमाउँछु
यही त हो मेरो ज्ञान
हो, ऊ अचेल
आमा बोकेर हिँडेको छ
फुटपाथमा लिलामीमा राखेको छ
के आमा फुटपाथमा
बेचिने माल हो ?
के आमा सडक पेटीमा
डुलाउने सामान हो ?
आमा त इज्जत हो
आमा त स्वाभिमान हो
आमा त सन्तानको शिर हो
म सक्दिनँ मेरी आमा
लिलाममा बेचिएको हेर्न
म सक्दिनँ मेरी आमा
पैसासँग साट्न र फेर्न
म कसरी सक्छु र मेरि आमा
हो, मेरी आमा
मेरो नसामा रगत बग्दासम्म
मेरो मुटुको धड्कन चल्दासम्म
तिम्रो रक्षाका लागि
खुँडा खोजिरहन्छु
तरबार रोजिरहन्छु
उसको कुकार्यका विरुद्ध
म लडिरहन्छु…

आफ्नो जन्मभूमिलाई सत्ता र पैसामा साट्न एमसीसीको टेन्डर खोलेकाहरू यो देशमा हजारौँ र लाखौँको सङ्ख्यामा, घरघरमा सीता विक ‘सम्झना’ हरू भएसम्म चैनको निद्रा सुत्न पाउनेछैनन् किनकि देशभक्तहरूसँग वैचारिक र भौतिक खुँडा र तरबारहरू छन् । क्रान्तिकारीहरूसँग मुक्तिको सपनाबाहेक कुनै निहित स्वार्थ हुँदैन । त्यसैले त खुलामञ्चमा विप्लव निर्धक्क उद्घोष गर्ने हिम्मत गरिरहेका छन्– हामीसँग आमाहरू छन् । हामीलाई आमाहरू भए हुन्छ… । मुटुमा देशभक्ति भएका सन्तति भएसम्म अब लेन्डुप र महेन्द्र चौधरीहरूका दिनहरू आउने छैनन् । महाकालीमा राष्ट्रघात गरेको जनताले बिर्सिए भन्ठानेर फेरि एमसीसी लाद्न खोज्ने शेरबहादुर र केपी वलीहरूका दुःस्वप्न पूरा हुने छैनन् ।

अहिले देश स्वाभाविक रूपमा पुँजीवाद कि समाजवाद भन्ने बहसमा तानिएको छ । दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादका पक्षमा मन, मुटु र भित्ताहरू रङ्गिएका छन् । मानिसका मनहरू दलाल पुँजीवाद र वैज्ञानिक समाजवाद दुई पक्षमा कित्ताकाट भएका छन् । यही विषयलाई कवि बीपी विद्रोही सरल शब्दमा विश्वलाई यही मुद्दाले दुई भागमा बाँडिदिएको दृष्टिकोण पस्किन्छन् :

न हिन्दु, न मुस्लिम, न क्रिस्चियन
न गोरो, न कालो, न होचो, न पुड्को
यतिबेला त विश्व दुई जात र दुई वर्णको छ :
एउटा जात पुँजीवादी
अर्को समाजवादी
पाँचतारे, छतारे, छिर्केमिर्के र झालेमाले
ती झन्डाहरू फन्डा मात्रै हुन्
विश्वमा अहिले जम्मा दुई झन्डा छन् :
एउटा पुँजीवादी र अर्को समाजवादी ।
निला, पहेँला, हरिया रङहरू भ्रम मात्र हुन्
विश्वमा अहिले मात्र दुई रङ छन् :
गाढा रातो समाजवादी रङ र
फिक्का कालो पुँजीवादी रङ ।
देशहरू र सिमानाहरू देखावटी हुन्
संसारमा एउटै मात्र सीमारेखा छ ः
पुँजीवाद र समाजवाद छुट्ट्याउने
अङ्ग्रेजी, हिन्दी, युरोपेली
लिपिहरू ढिपी मात्र हुन्
संसारमा दुई भाषा छन् :
एउटा पुँजीवादी भाषा र अर्को समाजवादी भाषा…
देशमा छन् त दुई पार्टी
एउटा समाजवादी
अर्को पुँजीवादी…
छ त संसारमा दुई वर्ग
एउटा समाजवादी, अर्को पुँजीवादी
अबको लडाइँ
तराई र पहाडको होइन
सीमा र भाषाको होइन
अबको लडाइँ व्यवस्थाको हो
पुँजीवाद कि वैज्ञानिक समाजवाद ?
कुन भाका गाउने
कुन सुरमा नाच्ने
कुन झन्डा बोक्ने
कुन वर्ग रोज्ने
कुन व्यवस्था रोज्ने
पुँजीवाद कि समाजवाद
जिम्मा तपाईंकै !!!

जनतालाई एउटा व्यवस्था रोज्ने जिम्मा छाडेर मात्र विद्रोही कविहृदय सन्तोष मान्दैन । कविहृदय त्यो वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुर्याउने कुशल कमान्डर वा सही नेतृत्व नेकपाका महासचिव विप्लवलाई देख्छ । कवि उनलाई लालसलाम भन्दै अब नेतृत्व विप्लव र क्रान्ति विप्लव जनताको स्पन्दन बनिसकेको कुरा सगौरव ऐलान गर्छन् कविताबाटै :

के तपाईंले कसैको आँखामा आगो र
मुटुमा देश देख्नुभयो ?
तपाईंले विप्लवलाई विप्लव मात्र देख्नुभयो कि
समाजवादको एउटा चित्र पनि ?
के तपाईंले विप्लवलाई देख्नुभयो ?
विप्लवसँग विप्लव छाम्नुभयो ?
तपाईं देशलाई स्वाधीन चाहनुहुन्छ ?
देशलाई समाजवाद चाहनुहुन्छ ?
देशलाई देश चाहनुहुन्छ भने
तपाईं विप्लवलाई हेर्नुस्
विप्लवलाई छुनुस्
विप्लव रोज्नुस्
सीधा हेर्नुस् वा बाङ्गो हेर्नुस्
लुकेर हेर्नुस् वा चियाएर हेर्नुस्
सत्र कोणबाट अठार चस्मा लगाएर हेर्नुस्
जहाँबाट जसरी हेरे पनि
विप्लव विप्लव देखिन्छन्
विप्लव विप्लव हुन्…
के तपाईंले विप्लवलाई विप्लव देख्नुभएन ?
विप्लवभित्र एउटा सुन्दर भविष्य देख्नुभएन ?
विप्लव कुनै आकस्मिकता होइन
कसैको प्रायोजन पनि होइन
कतै टाँगिएको बहुराष्ट्रिय कम्पनीको विज्ञापन पनि होइन
विप्लव विप्लव हुन्
विप्लव एउटा युग हुन्
विप्लव समाजवादका एउटा लालकिरण हुन्
पुँजीवादजस्तो झालेमाले
नौ रङहरू छैनन्
छ त एउटा गाढा गुलाबी सपना
वैज्ञानिक समाजवादको !
क्रान्तिलाई एउटा बगैँचा सम्झनुहुन्छ भने
उही सेतो कमिज लगाएका विप्लव
एउटा रूख हुन्
म भन्दिनँ रूखमा ऐँजेरुहरू छैनन्
रूखका पातहरू हल्लिँदैनन्, झर्दैनन्
रूखहरू ऐँजेरु होइनन्
ऐँजेरुहरू देश होइनन्…
खासखास बेला खासखास ठाउँमा पुग्छन् विप्लव
भ्रष्टाचारलाई भाटा चाहिँदा
माफियालाई कालोमोसो चाहिँदा
भूकम्पपीडितलाई बास चाहिँदा
कोसी थुनिँदा होस् वा महाकाली बेचिँदा
आइपुग्छन् विप्लव
देशघात हुने बेला
क्रान्तिको एउटा हुँकार बोकेर
हामी पुनः क्रान्तिलाई जीवन दिन्छौँ
देशलाई समाजवाद दिन्छौँ
तपाईं हामीलाई धोका नदिनू है
लालसलाम विप्लव !!!

केही थान शेरबहादुर र केपी वलीहरू, केही थान पुष्पकमल, माधव नेपाल र बाबुरामहरू आफूहरू जनताका प्रतिनिधि भन्दै देशका ठेकेदार भएको घोषणा गरिरहेका छन् र एमसीसीजस्तो देशघाती सम्झौता पारित गराउँछौँ भन्दै दस अर्ब पचाइसकेका छन् । अब जनता महाकाली वा सुगौली सन्धिको समयको जस्तो कमजोर छैन । चेतनामा कमजोर त हिजो पनि थिएन । दुस्मनको ठूलो सैन्य शक्तिलाई बहाना बनाएर केही थान लेन्डुपहरू, केही थान चन्द्रशेखर, देउवा र वलीहरू बिक्थे र सुगौली, महाकालीहरू गर्थे । आज जनता अझ धेरै सचेत छ । ऊ विस्फोटित हुन तयार छ राष्ट्रका लागि । त्यसैले त जनता एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने कथित जनप्रतिनिधिका हातलाई डुँडा बनाइदिने चेतावनी दिइरहेछ । यसै चेतावनीका बीचमा कवि निभा शाह लेख्छिन् :

देश खोजिरहेको युवा
देश नभेटेर परदेश जान्छ
देश नभेटेर परदेश गएको युवा
दिनदिनै देश खोज्दै
रातो बाकस भएर आउँछ ।
ए ! बरै
आमा देश खोज्दै आएको
रातो बाकस देख्यो कि
डाँको छोडी रुन्छे
सरकार देश खोज्दै आएको
रातो बाकस देख्यो कि
रातो रेमिटेन्स आयो भन्दै
खित्का छोडेर हाँस्छ ।
नपुंसक सरकार !?
घानीप्रसाद
रातो बाकसले नअघाएको
नपुंसक सरकार
एमसीसी साम्राज्यवाद ल्याएर
देश अफगानिस्तान बनाउँछु भन्छ ।
थाहा छ नि
महाभारतमा एउटा सभा थियो
कौरवसभा
जो नपुंसक सभा थियो
त्यस्तै
नेपालमा एउटा सभा छ
घानीसभा
जो नपुंसक सभा हो ।
नपुंसक घानीसभा
मालिकको जुत्ताको तलुवा चाटेर
जनतालाई दिनदिनै धम्कीपत्र लेख्छ ।
ए ! आमा
यो देशमा अब रातो बाकस देखेर आर्तनाद नगर
शङ्खनाद गर
युवा जाग्छ ।
त्यस्तै उनी अर्को कवितामा भन्छिन् :
एक हातले
हँसिया–हथौड़ा बोक्यो
साम्राज्यवाद मुर्दावाद भन्यो
अर्को हातले
एमसीसी बोक्यो
साम्राज्यवाद जिन्दावाद भन्यो ।
उठा, शस्त्र उठा युवा
यिनका जिब्रा थुतेर
म्युजियमका भित्ताहरूमा टाँस् ।
कहिले अध्यादेश मुर्दावाद भन्यो
सडकतिर नाच्यो
कहिले अध्यादेश जिन्दावाद भन्यो
सदनतिर नाच्यो
उठा, शस्त्र उठा युवा
यिनका खुट्टा काट्
म्युजियमका सिलिङहरूमा झुन्ड्या ।
कहिले पश्चिमतिर मुन्टो फर्कायो
अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्यो
कहिले सदनतिर मुन्टो ठड्यायो
एमसीसी जिन्दावाद भन्यो
उठा, शस्त्र उठा युवा
यिनका मुन्टा काट्
टुँडिखेलका रूखहरूमा झुन्ड्या ।
उठा द्रौपदी, शस्त्र उठा
देशको चिरहरण हुँदैछ
दुर्योधनको टाउको काट्
दुःशासनको हात काट
चुपचाप बस्ने
भीष्मपितामहको जिब्रो काट् ।
उठा, द्रौपदी शस्त्र उठा
तेरा बचेरा एमसीसी बाजले खाँदैछ ।
उठा द्रौपदी, शस्त्र उठा
एमसीसी बाजका पखेटा काट्
टाउका काट्
रक्तबीज छर् ।
(सामाजिक सञ्जाल फेसबुकबाट उद्धृत)
कवि महेन्द्र थुलुङ राई ‘प्रेषित नभएको लाहुरेनीको पत्र’ फेलापारिरहेछन् र पस्किरहेछन् लाहुरेहरूको पीडा, देशको पीडा :
जीवनको चिलाउनेमा सुनाखरी फुल्नै लाग्दा
नखनिएको अक्करे भिरमा अक्कडो बनेर
कसरी पछ्यायौ गल्लावालको छाया ?
हेलिएर सप्तकोसीको भेलमा
किन पुगेको कुइमाको रेल चढ्न ?
खुवालुङलाई छोएर मात्र समुद्र जाने
चोमोलुङ्माको पानीको सन्तान तिमी
कस्तो इतिहास बनाउन घोक्दैछौ
‘हजुरले जे भन्नुहुन्छ मान्छु’
‘हुकुम भयो भने बाउआमा बाँध्छु’
सेती नदीको साथी पो त तिमी
रातो रगते समुद्रमा के गरी नुहाउँदैछौ ?
साकेलाको शिली टिप्न भूमेथान हिँडेको तिमी
टिप्न पुग्यौ रे ग्रिनेटको बगरमा
सात र दस गोर्खाको मृत टाउको ।
ओइ ! लाहुरे
सिङ्गपटानीको सिङ्गारपटारमा
कसरी मर्ने र मार्ने सिकिरहँदा
यहाँ तिम्रो बाबुलाई बोकाइरहेछ
अजङ्गको गाडी
भीमफेदीको उकालो ।
सर्वाकको अनकन्टार जङ्गलमा शत्रु खोजी हिँड्दा
रानीबनमा घाँस काट्न जाँदा म असुरक्षित छु ।
चिन्डोजत्रो तुम्लेटको पानी सकियो भने
अन्जुलीमा उठाउनु समुद्र
मेरो आँसु बोकेर दौडिएको छ गण्डकी उतै…

हिजो जुगुप्सा शान्त पार्न फोकल्यान्डको लडाइँमा जाने युवाहरूको पीडा होस् वा आज त्यही उदरपूर्तिको समस्याले अगेनाको रापजस्तो खाडीमा गएर ऊँट चराउने लाखौँ युवाहरूको अवस्था, पीडा, आक्रोश र उद्देश्य एउटै हो । आफ्नो सुन्दर जन्मथलो, आफ्ना प्रिय साथीसँगी, आफ्ना प्रियजनको आत्मीयता चटक्कै भुलेजस्तो गरी परदेसिनुपर्ने र रातो बाकसमा प्याक भएर फर्किनुपर्ने नेपाली दीनहीन युवाहरूको पीडा यो दलाल व्यवस्थाले शमन गर्न सक्नेछैन । किनकि दलाल पुँजीवाद समाधान होइन, समस्या हो । शान्ति होइन, युद्ध हो । मलमपट्टी होइन, पीडा हो । यहाँ युवा, देश, किसान, विद्यार्थी, महिला, मजदुर, दलित, कर्णाली सबैको एउटै र उस्तैउस्तै पीडा छ किनकि यहाँ दलाल पुँजीवाद देश र जनताको घोडा चढिरहेको छ । यो दलाल पुँजीवादी, संसद्वादी व्यवस्था अन्त्य भएर जनताको प्रिय व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नभएसम्म यो रुग्ण र दीनहीन अवस्थाबाट नेपाल र नेपालीले उन्मुक्ति पाउने छैनन् । दलाल पुँजीवादले जनतालाई कसरी परजीवी र विषाणु बनाइरहेको छ भन्ने विषय युवा माक्र्सवादी कवि रसुवाली कविले सरल भाषामा सुन्दर शैलीमा पस्किएका छन् :

ठीक उल्टो
आँसुका कुरा गर
संवेदनालाई बिक्री गर
बलिदानीका कुरा गर
बियर पिऊ, तास खेल
व्यवस्था फेर्ने कुरा गर
जग्गा दलालीमा रमाऊ
वर्गसङ्घर्षका कुरा गर
गुन्डागर्दी समाल
प्रेमलाई बिक्री गर
शारीरिक सुख किन
कविताहरूलाई अलपत्र पार
भजनहरूमा रमाऊ
धर्मनिरपेक्षता भन
मन्दिर बनाऊ
महिलावादी लोगो भिर
लोग्नेको खुट्टाको पानी खाऊ
यो पुँजीवाद हो
भनेजस्तो नगर
ठीक उल्टो गर
प्रेम गर
धोका देऊ
सपना खरिद गर
बदलामा विरक्ति देऊ
आलु भन
बदाम बेच
सस्तो भन्दै
आफ्नै जिन्दगी बेच
यो पुँजीवाद हो
भनेजस्तो नगर
ठीक उल्टो गर

यही खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना अर्थात् दलाल संसदीय व्यवस्था त बनेको छ संसारकै श्रमजीवी, उत्पीडित जनताको शत्रु । यता यही व्यवस्था फाल्न लागिरहेका छन् लालपथिकहरू र उता यही व्यवस्थालाई सिँगारपटार पारेर बुख्याँचा लोकतन्त्रको जामा भिराइरहेका छन् हिजोका क्रान्तिनायकहरूसमेत । मुक्तान थेबा प्राकृतिक झरी र व्यवस्था झरीलाई विपन्न वर्गमाथि बज्रिने पहिरोको कारकका रूपमा पनि व्याख्या गर्छन् :

जब एकनास झरिरहन्छ छानो चुहिएर झुपडीभित्र
र, भरिन्छन् झरीले
बर्सौं भोका भाँडाकुँडाहरू
जब पस्छ
गरिबका बस्तीभित्र
र बनाएर जान्छ बस्तीलाई बगर
जब घोप्टिन्छ
गरिबका बस्तीमाथि
र बनाएर जान्छ बस्तीलाई घाट ।
नानीहरूका लेख्दालेख्दै छुटेका अधुरा अक्षरहरू
मैलिएका जामा र फित्ता चुँडिएका चप्पल
आमाका छातीमाथि घोप्टिएका नानीहरू
बाबुको ढाडमाथि उत्तानो पल्टिएको पुरानो बाकस
जब तैरिँदै जान्छ भेलमाथि
कम्तीमा एक चरण, मात्र एक चरण
सुखको गीत गाउने रहर
जब निलिदिन्छ झरीले
कसैलाई झरी मन पर्दैन…
हरेक वर्ष झरी
किन पस्छ गरिबकै बस्तीभित्र ?
किन खस्छ गरिबकै बस्तीमाथि ?
किन बगाउँछ गरिबकै झुपडी ?
किन निभाउँछ गरिबकै उज्यालो ?
हत्यारा, सत्ता हो या झरी ??

वास्तविक हत्यारा सत्ता हो, यो दलाल पुँजीवादी सत्ता । जनताको रक्षा गर्न नसक्ने सत्ताकै कारण विपन्न मानिसको जीवन लुट्ने गरेको छ झरीले । झरी अर्थात् विपत्ति शमन गर्न नसक्ने सत्ताले मार्गप्रशस्त गरिदिनुपर्छ अग्रगामी चेतनालाई । त्यो चेतना वैज्ञानिक समाजवादी चेतना हो र यो नेकपासँग छ, क्रान्तिकारीहरूसँग छ ।

अन्त्यमा कवि आरोह नेपालीको यो कवितांशबाट बिट मार्छु :

ओइ सरकार !
दिलबहादुर रम्तेल मारिस्
इच्छुक, च्याङ्बा र चुनुहरू मारिस्
मारिस् कैयौँ निहत्था योद्धाहरू
गीत लेख्दालेख्दै मारिस्
कविता कोर्दाकोर्दै मारिस्
जनभाका गाउँदागाउँदै मारिस्
अझै फेरि मार्दैछस् तीर्थहरू
अझै फेरि मार्दैछस कुमारहरू
ए मूर्ख शासक
के सोच्दैछस्
तेरो बन्दुकले हाम्रो
विचार मार्न सक्छ ?
तेरो सङ्गीनले हाम्रो
आस्था ढाल्न सक्छ ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :