अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रूपन्देहीमा उषा पाठक

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रूपन्देहीमा उषा पाठक

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रुपन्देहीको दोस्रो जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले उषा पाठकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलाले उपाध्यक्षमा देवी भट्टराई, सचिव लक्ष्मी घिमिरे, सहसचिव लक्ष्मी थापा, कोषाध्यक्ष पुजा खरेल, सदस्यहरू मिना पाण्डे, जायरा बानु, इन्दिरा सुवेदी, इन्दिरा जीसी, कमला थापा, विद्या कुर्मी, राधा कुँवर, प्रेमकुमारी थारु, निर्जला, बसन्ती भट्टराई, रेखा चौधरी, दिलकुमारी विक रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले राजनीतिक सत्तामा महिलाको समान अधिकार प्राप्त नहुँदासम्म महिला मुक्ति सम्भव नभएको बताउँदै त्यसका लागि पुँजीवादी राज्यसत्ताको अन्त्य हुनुपर्ने बताए ।

अध्यक्ष चन्दले अहिलेको परिस्थितिमा इतिहासको विवेचना गरेर मात्रै महिला मुक्ति सम्भव नहुने भन्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामार्फत प्राप्त हुने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र महिलाहरूको समस्या समाधान गर्ने बताए । उनले लैंगिक उत्पीडन र विभेदको अन्त्यको सुरुवात अक्टोबर क्रान्तिले गरेको भन्दै यसलाई हामीलाई अनुसरण गर्नुपर्ने बताए । चन्दले दलाल पुँजीवादी सत्ता रहँदासम्म महिलाहरूको अवस्था उस्तै रहने भएकोले जनमतसङ्ग्रहमार्फत् वैज्ञानिक समाजवाद प्राप्तिका लागि सम्पूर्ण महिलाहरू एकीकृत जनक्रान्तिमा गोलबन्द हुनु आवश्यक भएको बताए ।

भेलामा नेकपा रुपन्देही सेक्रेटरी विश्वासले पुँजीवादी व्यवस्था की समाजवादी व्यवस्था ? जनताले छान्नु पाउनुपर्ने बताउँदै महिलामाथिको उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाबाट सम्भव रहेको बताए । उनले महिलामाथि सयौँ बर्षदेखि उत्पीडन थोपरिँदै आएको भन्दै अन्यायविरुद्ध नलड्नेहरू कायर भएको बताए । यस्तै भेलामा नेकपाका नेता एवम् कञ्चन सियारी गाउँपालिका सेक्रेटरी नवीन थारु, अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले महिला मुक्तिको सङ्घर्षलाई वर्गसङ्घर्षसित जोड्दै अगाडि बढ्नुपर्ने बताए ।

रूपन्देही जिल्लाका विभिन्न स्थानहरूबाट सहभागिता रहेको भेलाको अध्यक्षता रेखा खनाल, स्वागत देवी भट्टराई, प्रमुख आतिथ्यता बन्धु चन्द र सञ्चालन उषा पाठकले गरेका थिए ।

भेलामा संग्रामी सांस्कृतिक परिवारको अन्तर्राष्ट्रिय गीतसहित सांस्कृतिक प्रस्तुति रहेको थियो भने कवि प्रकाशसिंह राना र बिमला विकले सिर्जना प्रस्तुत गरेका थिए । नवनिर्वाचित कमिटीलाई धन्यवाद ज्ञापन युवा सङ्गठन नेपाल लुम्बिनी व्युरो इन्चार्ज विश्लेषणले गरेका थिए भने प्यानल प्रस्ताव सङ्गठनकी केन्द्रीय सदस्य तथा लुम्बिनी व्युरो संयोजक ममताले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :