जनपत्रकार सङ्गठन बागलुङमा विष्णु विश्वकर्मा

जनपत्रकार सङ्गठन बागलुङमा विष्णु विश्वकर्मा

बागलुङ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन बागलुङ जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । विष्णु विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति चयन गर्दै प्रथम जिल्ला भेला सदरमुकाम बागलुङमा सम्पन्न भएको हो ।

प्रथम सम्मेलन समारोहका प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज विप्लवले सम्बोधन गर्दै जनपत्रकार सङ्गठनको बारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा जोड दिने बताए । आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसङ्गतिको विरुद्धमा दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरूको मूल धर्म रहेको उनको भनाई थियो । आगामी दिनहरूमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने विषय वस्तुलाई जोड दिए ।

कार्यक्रमका अतिथि तथा नेकपाका बागलुङका सचिव आकाशले दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताएका छन् । त्यसैगरी विशेष कमिटीका सदस्य दलसिंह खत्रीले सङ्गठित तरिकाले दलाल राज्य व्यवस्थाको अन्त्यका लागि र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकारहरूलाई अपिल पनि गरेका छन् ।

विष्णु विश्वकर्माको अध्यक्षता र सुधन विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालय सचिव क्रान्ति र सुरेन्द्र कुमार बुढामगरले शुभकामना मन्तव्य राखेका थिए भने प्यानल प्रस्तुत कार्यक्रमका अतिथि आकाशले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्