अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

बैदाम, पोखरा : पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएर विगत चार दिनदेखि लेकसाइड, बैदाममा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदैछ । बन्द सत्र जारी छ । सम्मेलनमा सहभागी प्रतिनिधिले राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकाल र महासचिव प्रकाश शाहीले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र विधानका साथै भूगोल र आआफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।

शुक्रबार सेती–महाकाली, भेरी–कर्णाली, राप्ती, लुम्बिनी, गण्डक, धौलागिरि, नारायणी, उपत्यका, ताम्सालिङ, जकपुर, सगरमाथा, मेची–कोसी ब्युरो भूगोलका ७७ जिल्लाका प्रतिनिधिहरूले चयन गरेका संयोजकले साङ्गठनिक प्रतिवेदन र विधानमाथिको रिपोर्ट प्रस्तुत गरे ।

गैरभौगोलिक जिल्लाका रूपमा रहेका आईटी विभाग, कृषि विभाग, इन्जिनियरिङ विभाग, मेडिकल विभाग, सीटीईभीटी, केन्द्रीय कार्यालय, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत जिल्ला र विभागका प्रतिनिधिले पनि आआफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बन्द सत्रमा नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सदस्यहरू शिलु, मिलन, अटल, एटमलगायत नेताहरू उपस्थित छन् ।

बन्द सत्रमा सम्मेलन सफलताको शुभकामना दिँदै अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव एवम् स्वास्थ्य क्षेत्रका शैक्षिक माफियाविरोधी आन्दोलनका अभियन्ता डा. प्रकाश चन्दले युवा विद्यार्थीहरूलाई प्रतिफल निकाल्ने किसिमको अध्ययन, अनुसन्धान र सङ्घर्षको तयारी गर्न जोड दिए । उनले विद्रोही तालिबानहरूले कसरी सत्ता कब्जा गर्न सके भन्ने उदाहरण प्रस्तुत गर्दै बौद्धिक युवाहरूले नयाँ विषयवस्तु, नयाँ शैली, विकसित विश्व–परिस्थिति र सामाजिक–राजनीतिक–शैक्षिक अन्तरविरोधहरूको गहन अध्ययन र संश्लेषण गर्दै त्यसलाई क्रान्तिमा अभिव्यक्त गर्नुपर्ने बताए । क्रान्तिकारी पार्टीको सशक्त बौद्धिक दस्ता विद्यार्थी सङ्गठनले वैज्ञानिक नीति र सक्षम नेतृत्व चयन गरी निरन्तर सिर्जनात्मक शैलीको आन्दोलन अघि बढाए क्रान्ति छिट्टै विजयमा पुग्ने सन्देश पनि दिए ।

कार्यक्रममा सामना परिवारका कलाकारका साथै सम्मेलनमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरूले पनि उत्साहित भएर गायन, नृत्य, सिर्जना वाचनलगायत जनवादी सांस्कृतिक/साङ्गीतिक अभियानमा भाग लिएका छन् ।

नयाँ नीति र नेतृत्व चयन गर्दै सम्मेलन भोलि आज शनिबार समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :