भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन तयारी पूरा

भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

पोखरा : अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखराका चोक, गल्ली र होटेलहरू अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका झन्डा, तुल र ब्यानरहरूले सजिएका छन् ।

क्रान्तिकारीले आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आफ्नो सङ्गठनको सम्मेलनको तयारीबारे जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालले बुधबार ११ बजे पृथ्वीचोकबाट सुरु हुने दस हजार क्रान्तिकारी लालदस्तासहित निस्किने र्यालीको नेतृत्व पार्टी महासचिव विप्लवले गर्ने जानकारी दिए । उक्त र्याली सुन्दर पर्यटकीय नगरी पोखराको परिक्रमा गरी १२ बजे चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत हुने र पार्टी महासचिवले सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथिका रूपमा नेपालका बिग्रिँदो राजनीतिक अवस्था, वैज्ञानिक समाजवादले दिने यसको निकास र दलाल संसदीय व्यवस्थामा रहेको शैक्षिक विकृतिको अन्त्यका बारेमा महत्वपूर्ण सम्बोधन गर्ने जानकारी पनि उनले दिए ।

तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा असोज ७ र ८ गते बन्दसत्र हुने र वैज्ञानिक समाजवादी शिक्षा नीति तय गर्दै नयाँ नेतृत्व चयन गर्ने जानकारी पनि ढकालले दिए ।

नेकपाका नेताहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, विभिन्न राजनीतिक पार्टी सम्बन्धित विद्यार्थी सङ्गठनका नेताहरू, शिक्षाविद्हरू, पूर्वगभर्नरहरू, समाजवादी शिक्षाका अध्येताहरूले सम्मेलन सफलताको शुभकामना दिनेछन् ।

विद्यार्थी सङ्गठनका विभिन्न ९० भन्दा बढी जिल्लाबाट एक हजार एक सयभन्दा बढी प्रतिनिधि चयन भए पनि कोरोना भाइरस सङ्क्रमण निर्मूल नभइसकेकाले त्यसबाट पनि छानेर प्रतिनिधिमूलक रूपमा जम्मा पाँच सय ५५ जना प्रतिनिधि र पर्यवेक्षकलाई मात्र सम्मेलनमा उपस्थित गराउने तयारी रहेको जानकारी पनि आयोजक सङ्गठनले दिएको छ ।

अखिल क्रान्तिकारी सम्मेलन आयोजक समितिले दिएको जानकारीअनुसार आज मङ्गलबार बेलुका समाज रूपान्तरणका क्रममा बलिदान भएका, कोरोनाले निधन भएका र प्राकृतिक प्रकोपहरूमा परी मृत्यु भएकाहरूको स्मृतिमा मङ्गलबार साँझ स्थानीय हलन्चोकमा हजारौँ मैनबत्ती प्रज्वलन गरिनेछ ।

सङ्गठनले सम्मेलनअघि बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी देशभरबाट सहभागी प्रतिनिधि पर्यवेक्षक र पार्टी नेताहरूको उपस्थितिमा प्लेकार्डसहित भूमाफियाले कब्जा गरेको फेवाताल क्षेत्र बचाउका पक्षमा प्रदर्शन गरिनेछ ।

पत्रकार सम्मेलन सञ्चालन गर्दै सम्मेलन आयोजक समितिका महासचिव प्रकाश शाहीले सङ्गठनले पोखराबाट शैक्षिक आन्दोलनको एउटा नयाँ सन्देश प्रवाह गर्ने उद्देश्य लिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले देशभरबाट उपस्थित नेकपा र अखिल क्रान्तिकारीको नेतृत्वलाई स्वागत गर्दै सम्मेलन सफलताका लागि शुभकामना दिइन् । कार्यक्रममा नेकपा कास्कीका सेक्रेटरी गोकुल, रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदी, सम्मेलन आयोजक समितिका पदाधिकारी, केन्द्रीय सदस्य, जनपत्रकार संगठनका केन्द्रीय सदस्यहरुका साथै पोखरामा क्रियाशील विभिन्न राजनीतिक पार्टी र सञ्चार क्षेत्रका क्रियाशील सञ्चारकर्मीको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :