एमसीसी खारेज गर

कविता

एमसीसी खारेज गर
लेखक : पृथ्वीबहादुर सिंह

साम्राज्यवादी अङ्ग्रेजको सल्लाहले
दरबार हत्याकाण्ड गरेर
मेरो देशको सत्ताको हुकुमी
श्री ३ जङ्गबहादुर बनायो ।
त्यही गुण तिर्न जङ्गबहादुरले
कुहिरेका साम्राज्य बचाउन
मेरो देशका बहादुर युवालाई
गोर्खा रेजिमेन्टमा पठाई
भाडामा बन्दुक समाउन
वीर गोर्खा बहादुर बनायो ।
जङ्गबहादुरले मेरो देशको
अमूल्य प्राकृतिक स्रोतमा
श्रम नपोखी लाहुरे बनायो ।
श्रम प्रदेशीलाई लुटायो
लाहुरे संस्कृति बसायो
अहिले पनि मेरा युवा
बन्दुके सिपाही, अदक्ष मजदुर भई
संसारभर श्रम पोखिरहेछन् ।
जङ्गबहादुरले हालेको निरङ्कुश
गढ पर्खाल भत्काउन
हजारौँहजार सहिदहरूको
सहादतले
मेरो देशमा प्रजातन्त्र
लोकतान्त्रिक गणतन्त्र आयो ।
अझै साम्राज्यवादी लुटेराहरू
मेरो देशका प्राकृतिक स्रोत
युवाको भाडाको श्रम लुट्न
अनेकौँ षड्यन्त्रका
घुमचक्कर चलाइरहेछन् ।
‘जननिर्वाचित’ संसद्
जन–संविधान भत्काउन
अप्राकृतिक गठबन्धन
न्यायालय होइन, अन्यायालयले
पीए. बनाएका
जुलिया चाङ ब्लकले
जोइल पठाएका
कुहिरे बहादुरको
भाडाको जङ्गबहादुर भएर
एमसीसीलाई देश बेच्न
संसद्मा कोकोहोलो
मच्चाएर पास गराउन
जन्मैदेखिको बल लगाएर
सांसद खरिद–बिक्री गर्न
एमसीसीको पोको
घुमाइरहेका छन् ।
यी साम्राज्यवादका भाडाका
खलनायक हुन् ।
जङ्गबहादुरका दोस्रो रूप हुन्
मेरो देशका राष्ट्रभक्तहरू
सबै एकजुट भएर जाग
देश बचाउन, एमसीसी भगाउन
वैज्ञानिक समाजवाद ल्याउन
कलम हुनेहरू कलम लिएर उठ
आवाज हुनेहरू आवाज लिएर उठ
बल हुनेहरू बल लिएर उठ ।
एमसीसी मुर्दावाद
मेरो देश जिन्दावाद

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :