एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत चौथो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको हो ।

नेकपाका जिल्ला इन्चार्ज कृतिको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका सेक्रेटरी विश्वाससहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

पुष्पलालपार्कबाट नाराबाजी सहित सुरु भएको जुलुस अमरपथ, राममन्दिर हुँदै बिपीचोकमा पुगेर कोणसभा भएको थियो । कोणसभामा नेकपाका जिल्ला सेक्रेटरी विश्वासले एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै यसले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताए । उनले यो सम्झौता षड्यन्त्रपूर्वक संसदबाट पास गरेर कार्यान्वयन गर्न खोजिएको भन्दै देशभक्त नेपालीहरूले निरन्तर खबरदारी गर्न आवश्यक रहेको बताए । उनले भने, “एमसीसी सम्झौताविरुद्ध सम्पूर्ण नेपालीहरू पार्टीगत स्वार्थभन्दा माथि उठेर देश जोगाउन उठ्नुपर्छ ।” उनले कुनैपनि हालतमा सम्झौता खारेजीका विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने बताए ।

कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य आत्मा पौडेलले गरेका थिए भने कोणसभाको सुरुमा संग्रामी सांस्कृतिक परिवारले नाँचसमेत प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :